सन् १९८२ मा स्थापना भएको मनाङ मर्स्याङ्दी क्लब नेपाली फुटबलको सबैभन्दा सफल क्लब मानिन्छ । मनाङले हालसम्म आठपटक शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितिसकेको छ ।
यस वर्ष पनि उपाधिको दाबेदार मानिएको मनाङले राष्ट्रिय टोलीदेखि लिगमा राम्रो प्रभाव पारेका खेलाडीलाई अनुबन्ध गरेको छ । मनाङको टोलीलाई यसवर्ष फुजा टोपेले प्रशिक्षण दिनेछन् ।
उनी अहिलेसम्म नेपाल आइपुगेका भने छैनन् । नाइजेरियन नागरिक उनी नेपाल आई नपुगे पनि टोलीले भने प्रशिक्षण सुरु गरिसकेको छ । उनी भिसाका कारणले आउन ढिलाइ भएको हो ।
मुख्य प्रशिक्षक नआए पनि सहायक प्रशिक्षक राजेन्द्र तामाङले टोलीलाई प्रशिक्षण दिइरहेका छन् । मनाङले सेन्ट जेभियर्स स्कुलको मैदानमा प्रशिक्षण गरिरहेको छ ।
स्टार खेलाडी तथा विदेशी प्रशिक्षक भित्र्याउन लागेको मनाङले आर्थिक व्यवस्थापन भने कसरी गर्छ त ?
अध्यक्ष मुखिया गुरुङ भन्छन्, ‘आर्थिक व्यवस्थापनको कुरामा हामी क्लबको समिति तथा एन्फाबाट आउने बजेट अनि स्पोन्सरबाट आउने आम्दानीबाट नै चलाइरहेका छौं ।’
म्यानेजरको रुपमा मिलन गुरुङले जिम्मेवारी सम्हालिरहेका छन् । टोलीको हरेक क्रियाकलाप हेरिरहेका गुरुङ भन्छन्, ‘हाम्रोमा लगानीकर्ता हुनुहुन्छ जसले गर्दा आर्थिक क्रियाकलापहरुमा समस्या भएको छैन । त्यस लगायत एन्फाद्वारा प्रदान गरिने २० लाख रुपैंया जसको हामी किस्ताबन्दीमा प्राप्त गर्छौं । यसैबाट हामीले खेलाडीलाई तलब तथा प्रशिक्षणको खर्च उठाइरहेका छौं ।’
नेपाल आयल निगम, टोयटा मोटर्स, केटीएम सिटी र ए वान विल्डर्स लगायतका कम्पनीले मनाङ मर्स्याङ्दी क्लबलाई स्पोन्सर गरेका छन् । यस वर्ष पनि क्लबले राम्रो प्रदर्शन गर्नेमा म्यानेजर गुरुङ विश्वस्त छन् । उनी भन्छन् ‘नवौं पटक उपाधि जितेर ए डिभिजन लिगमा एक इतिहास रच्न चाहन्छौं ।’
खेलाडीको तलब
मनाङले यस सिजनका लागि २ जना विदेशीसहित १७ जना खेलाडी अनुबन्ध गरेको छ । म्यानेजर गुरुङले खेलाडीहरुलाई कम्तिमा ५० हजार देखि १ लाख २० हजारसम्म तलब दिइरहेको बताए । उनका अनुसार खेलाडीको क्षमता र दक्षताका आधारमा तलब व्यवस्थापन गरिएको छ ।
उनले भने, ‘खेलाडीको ग्रेडका आधारमा तलब दिइन्छ । हरेक खेलाडीको ग्रेड फरक हुन्छ । उसको क्षमता र दक्षताका आधारमा हामी खेलाडीलाई तलबको व्यवस्था गर्छाैं ।’
उनका अनुसार विदेशी खेलाडीलाई पनि नेपाली रुपैंया अनुसार नै अनुबन्ध गरिन्छ ।
मनाङको ए डिभिजन यात्रा
मनाङ मस्र्याङ्दी क्लबले सन् २००० बाट ए डिभिजन लिग खेल्न थालेको हो । लिग प्रवेशको पहिलो खेलमा नै उपाधि जितेर उत्कृष्ट सुरुवात गरेको हो । पहिलो सिजनबाट नै आफ्नो राम्रो छवि देखाउन सफल मनाङले लगातार लिगमा आफ्नो पकड बनाइ राखेको छ ।
सन् २००१ र २००२ मा भने ए डिभिजन लिग हुन सकेन । दुई वर्षको प्रतीक्षापछि मनाङ मर्स्याङ्दी फेरि २००३ मा पनि च्याम्पियन बन्यो । २००४ मा भने सोचेजस्तो प्रदर्शन गर्न सकेन । २००४ मा मनाङ लिगमा चौथो भयो । २००५/०६ मा मनाङले फेरि ए डिभिजन लिगको उपाधि उचाल्यो ।
मनाङले सन् २०१० मा पाँचौं स्थानमा रहेर चित्त बुझायो । २०१०/११ मा दोश्रो स्थान हात पार्यो । २०११ मा मनाङ नेपाल पुलिस क्लबसँग पछि परेको थियो । त्यस्तै २०११/१२ मा तेश्रो स्थानमा रह्यो । २०१२/१३ मा दोश्रो स्थानमा रहँदै उपाधिबाट बञ्चित भयो । २०१३/१४ मा भएको ए डिभिजन लिगमा भने मनाङले उपाधि आफ्नो नाममा लेखायो । २०१५ मा तेश्रो स्थानमा रह्यो भने त्यसपछि सन् २०१६ देखि २०१८ सम्ममा ए डिभिजन लिग नै भएन ।
२०१८/१९ को सिजनमा १४ टोलीलाई पछि पार्दै फेरि मनाङ च्याम्पियन बन्यो । २०१९/२० मा मनाङ तेस्रो भयो । गत वर्ष सन् २०२० मा कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेलकुदका गतिविधि भएनन् ।
पछिल्लो समयमा भने मनाङबाट धेरै खेलाडी अन्य क्लबमा आबद्ध भएका छन् । म्यानेजर गुरुङ भन्छन्, ‘क्लबसँग आपत्ति भएर भन्दा पनि राम्रो पारिश्रमिक पाएका कारण खेलाडीहरु अन्य टोलीमा अनुबन्ध हुन पुगेका हुन् ।’
गत वर्ष कोभिडका कारण खेलकुदका गतिविधि ठप्प रहे । एक वर्षको अन्तरालपछि ए डिभिजन लिगमा सर्वाधिक सफल टोली मनाङ पुनः खेलमा फर्किन सक्ला या नसक्ला त्यो हेर्न केही समय कुर्नुपर्ने छ ।
मनाङ मर्स्याङ्दीका स्टार खेलाडी
अञ्जन विष्ट
नेपाली टोलीका फरवार्ड अञ्जन विष्ट मनाङ मर्स्याङ्दीमा आबद्ध छन् । उनले २०१८ बाट मनाङबाट खेल्न थालेका हुन् । २०१५ बाट ए डिभिजन लिग खेल्न थालेका उनले त्यसअघि एपीएफ क्लबबाट ए डिभिजनको यात्रा सुरु गरेका थिए । २०११ बाट एन्फा एकेडेमीमा आबद्ध भएका उनी अहिले राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी हुन् ।
पुजन उपरकोटी
पुजन उपरकोटी नेपाली टोलीमा मिडफिल्डरका रुपमा खेल्ने गर्छन् । २०२० मा पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्न थालेका पुजन अहिले राष्ट्रिय टोलीका भरपर्दा खेलाडी हुन् । उनले २०१९ बाट मनाङ मर्स्याङ्दी क्लबबाट खेल्न थालेका हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।