इतिहासको एउटा कथाः योगमाया

इतिहासमा ठूलो हलचल ल्याएकी ‘योगमाया’का बारेमा धेरैलाई थाहा थिएन । उनीसँगै धेरै महिलाले समाजका लागि गरेको देहत्यागको बारेमा धेरैले बुझेका थिएनन् । राणाकालीन शासन र त्यो समयको सत्ताको चक्रव्यूहमा उनले हिँडेको बाटोको बारेमा धरैले सुनेका मात्र थिए । वास्तविकता धेरै कमलाई थाहा थियो । 

तिनै ऐतिहासिक पात्रको जीवन र संघर्षको कथालाई लिएर नीलम कार्की ‘निहारीका’ले पुस्तक लेखिन् । पुस्तकले मदन पुरस्कार प्राप्त गर्यो । तर, पुस्तक लेखिनुका पछाडिका कथा पुस्तकमा लेखिएनन् । उनले ‘योगमाया’माथि नै किन पुस्तक लेख्ने सोचिन्, त्यो धेरैको चासोको विषय हुन सक्छ ।

२०७३ सालमा पद्मश्री पुरस्कार उनको कृति ‘चीरहरण’ले पायो । पुरस्कार वितरण समारोहमा यज्ञनिधि दहालले उनलाई ‘योगमाया’का विषयमा लेख्न सुझाए । तर, उनलाई योगमायाबारे धेरै जानकारी थिए । उनी भन्छिन्, ‘उपन्यासका लागि ठूलो क्षेत्र ओगट्नुपथ्र्यो । मसँग पर्याप्त जानकारी थिएन ।’

कुनै व्यक्तिमा आधारित गएर उपन्यास लेख्न कल्पनाशीलता मात्र भएर सम्भव थिएन । आफ्ना गुरुले लेख्नु भनेका वेला सक्छु भन्ने लागेको थिएन, उनलाई । पद्मश्री पुरस्कार लिएर कार्यथलो अमेरिका फर्किएपछि ‘योगमाया’का विषयमा उनी सोच्न थालिन् । हरसमय उनको मस्तिष्कमा यही विषय नाच्न थाल्यो । 

उनी भन्छिन्, ‘अमेरिका फर्किएपछि मैले खोजी गर्न थालेँ । तर, योगमायामाथि लेखिएका केही पुस्तक मात्र उपलब्ध थिए ।’

छरिएर रहेका थोरै–थोरै तथ्यांकलाई समेटेपछि उनलाई लाग्यो, योगमायाका बारे लेखिनैपर्छ । इतिहासमा महिला र समाजका लागि ठूलो संघर्षको दौड गरेकी पात्रबारे उनले लेख्ने सोच बनाइन् । आफूले चाहिनेजति सामग्री भेला पारेपछि नलेखी बस्न सकिनन् । योगमायामाथि उनका शब्दहरू जन्मिन सुरु गरे ।



एकप्रकारले किम्वदन्तीका रूपमा रहेको योगमायाको इतिहासलाई खोज्नु चानचुने कुरा थिएन । नीलमले भन्दा अगाडि गोविन्दमान सिंहले यस विषयमा केही तथ्यांक खोजेर लेखेका थिए । उनले लेखेको पुस्तकले नीलमलाई धेरै सहयोग गर्यो । गोविन्दले पनि आफूले सक्ने सहयोग गर्दै गए ।

‘डायस्पोरामा रहेर यस्तो विषयमा कलम चलाउन सजिलो थिएन । मैले लेख्न सम्भव भएको अरूको सहयोगले नै हो ।’ नीलम भन्छिन्, ‘सहयोग हुन्थेन त लेख्न सम्भव थिएन ।’



फाट्टफुट्ट मात्र रहेका ‘योगमाया’बरेका अवशेष मात्रै थिए । तिनलाई भेला पार्दै उनको लेखन सुरु भएको उनी बताउँछिन् । किम्वदन्ती बनेर रहेको पात्रका बारेमा खोज्दै जाँदा उनले थाहा पाइन्, यसअघि पनि एउटा अनुसन्धान भएको रहेछ । बारबरा निम्री अजिजका बारेमा नीलमले थाहा पाइन् । बारबराले ‘योगमाया’को बारेमा सुनाउँदा पारिजातलाई किम्वदन्तीजस्तो लागेको कुरा पनि उनले थाहा पाइन् ।

अमेरिकामा बसोवास गरेर लेखनमा लागिरहेकी उनले खोज अनुसन्धान गर्न नेपाल आउनुपथ्र्यो । तर, नेपाल आएर पनि कसैलाई थाहा होला भन्दै भेट्न जाँदा धेरैपटक हातमा लाग्यो ‘शून्य’ मात्र हुन्थ्यो । कसैले केही भनिहालेमा पनि उनीसँग भएको तथ्यांकसँग त्यसलाई मेल गराउन कठिन थियो । आफूसँग भएको तथ्यांक र अरूले भनेका कुरा बीचमा लामो अन्तर हुन्थ्यो । सानो तथ्यांकलाई नै सत्य साबित गर्न धेरैपटक खोज्नु/बुझ्नु पर्थ्याे । ‘प्राथमिक तथ्यांक खोज्न निकै कठिन थियो ।’ नीलम भन्छिन्, ‘लेख्ने संकल्प गरेपछि नलेखी बस्न सकिनँ ।’

नेपालबाहिर भएकाले त्यहाँ उनको कुनै साहित्यिक समारोहमा समय गएन । पेसागत रूपमा पनि उनी खाली थिइन् । जागिर छाडेर बसेकाले उनले सबै समय लेखनमा दिन सकिन् । उनी भन्छिन्, ‘कहिलेकाहीँ ११–१२ घन्टासम्म लेखेर बसेँ ।’

‘योगमाया’को लेखनयात्रा पद्मश्री पुरस्कार वितरणपछि उनलाई यज्ञनिधि दहालले भनेपछि सुरु भयो । योगमायालाई लेख्न राणाकालीन समय जान्नु थियो । योगमायालाई लेख्न उनले पूर्वेली भाषा पनि जान्नु थियो । धेरै अध्ययन आवश्यक थियो । पुरस्कार वितरण सकिएपछि उनले रत्न पुस्तक भण्डारमा गएर केही इतिहास र योगमायासँग सम्बन्धित पुस्तक लिइन् ।

अमेरिका फर्किएपछि अध्ययन गर्दै अन्यसँग पनि योगमाया बारेमा नै बुझ्न थालिन् । एक वर्षपछि असारमा नेपाल आएर योगमायाको बारेमा स्थलगत अध्ययन सुरु गरिन् । तीन महिनासम्म आफ्नो सम्पूर्ण समय ‘योगमाया’लाई बुझ्नमा नै खर्च गरिन् ।

तर, स्थलगत अध्ययन जानलाई पनि कम कठिन थिएन । ‘योगमाया’ले बाँचेको÷टेकेको ठाउँ पुग्न, तथ्यांक संकलन गर्न सजिलो थिएन । स्थलगत अध्ययनकै क्रममा निकै सास्ती पनि भएको थियो । तथ्यांक संकलनका लागि भोजपुर जाँदा बाटैमा बाइक बिग्रिएपछि मोबाइलको बत्तीको सहारामा बाइक घिसार्दै जानुपरेको थियो, नीलमले । उनी भन्छिन्, ‘सिमसिम पानीमा भिज्दै मोबाइल बालेर बाइक डोर्याएर दिङ्लासम्म पुग्यौँ ।’ यस्ता अनेक संघर्ष गर्नुपर्यो उनले ‘योगमाया’लाई शब्दमा उतार्न । 

तथ्यांक संकलन गरेपछि फेरि अर्को अप्ठ्यारो बाटो तय हुँदै थियो । ‘योगमाया’ले बाँचेको समयका घटनालाई समयबद्ध गरेर उतार्नु थियो । केही द्विविधाका कारण पनि ठूलो त्रुटि हुने अवस्था थियो ।

अनुसन्धानका लागि उनले भोजपुर, मझुवाबेसी, मनकामना, राधाकृष्ण मन्दिरलगायत योगमायासँग सम्बन्धित धेरै ठाउँ पुगिन् । तर, दुःखको कुरा, त्यहाँ योगमायालाई देख्ने धेरै कम मान्छे मात्र जीवित थिए । भएका धेरैले ती दिन बिर्सिसकेका छन् । जलसमाधिमा देह त्याग्नेका छोराछोरी केही मात्र छन् । योगमायासँग लामो समय संगत गरेर हिँड्ने कोही पनि जीवित थिएनन् ।

पुस्तकमा भएका पात्र योगमायासँग सम्बन्धित असली पात्रलाई राखिन् । गर्नुपर्ने पनि त्यही नै थियो । तर, पात्रलाई लेख्नुअघि पात्रको योगमायासँगको नाता खोज्नु थियो । उनले खोज गर्नुअघि कतै कुनै पनि खोजअनुसन्धानमा ती नाता स्पष्ट थिएनन् । उनी भन्छिन्, ‘उपन्यास लेख्नुअघि उनीहरूको वंशाबली अध्ययन गरेँ । त्यहाँका बस्नेत परिवारको सहयोग पाएर मात्र सम्भव भयो ।’

साहित्यमा लागेका दिनमा साहित्य रहरले मात्र लेखेको जस्तो लाग्ने उनी बताउँछिन् । साहित्य सिर्जना नितान्त रहर मात्र थियो । तर, लामो अन्तरालसम्म साहित्य लेखनमा लागेपछि अहिले लेखन रहर मात्र नभएर जिम्मेवारी भएको छ, उनका लागि । लेखन उनको सामाजिक जिम्मेवारी बन्दै गएको छ । यसकारण पनि, उनले योगमाया लेख्दा निकै ध्यानपूर्वक लेखिन् ।

उपन्यासलाई कुन धारबाट बगाउने भन्ने अर्को द्विविधा थियो, नीलमलाई । योगमायाकै शब्दमा लेख्दा अहम् बोलिन्छ भन्ने डर थियो । प्रेमनारायाणको पक्षबाट लेखेमा भाषासँग खेल्न त मिल्थ्यो । तर, योगमायालाई प्रेमनारायणले सुरुवातमै भेटेका थिएनन् । हरेक कुरा प्रेम नारायणको बोलीमा लेख्न मिल्ने थिएन । गंगा, जो योगमायाकी भाइबुहारी थिइन्, उनले योगमायाको जीवनलाई सुरुवातबाटै नियाल्न पाएकी थिइन् । नीलमलाई योगमायाको कथा बताउन गंगाभन्दा उपयुक्त पात्र अर्को नहोलाजस्तो लाग्यो । उनी बताउँछिन्, ‘गंगाको तर्फबाट लेख्दा भाषासँग खेल्न त पाउँदिनँ भन्ने थाहा थियो । तर, मलाई उपन्यास मात्र नभएर इतिहासको कथा लेख्नु थियो ।’

अनेक जालाहरूमा जेलिँदै–जेलिँदै योगमाया पुस्तक तयार गरिन् । पुस्तक लेख्दै गर्दा पनि सन्तुष्टि भएको थियो । नीलम भन्छिन्, ‘सुरुवातमा लेख्न सक्छु कि सक्दिन भन्ने थियो । लेख्दै जाँदा सन्तुष्ट भएँ ।’

पुस्तक लेखककै क्रममा हुँदा अन्यका दिनमा शरीरले एक प्रकारको परिवर्तन फिल गरेको बताउँछिन्, उनी । एकाएक रक्तचाप बढ्दै–बढ्दै गएका कारण औषधिको सेवन पनि गर्न थालिन् । तर, पछि पुस्तक विमोचन भएलगत्तैको एक हप्तामा रक्तचाप आफ्नो स्थितिमा आइदियो । उनी भन्छिन्, ‘मैले आफूलाई कम पुस्तकलाई बढी ध्यान दिएँजस्तो लाग्छ, अहिले । रक्तचाप बढ्दा पनि सामान्य परिवर्तन सोचेँ । लेखनका कारण भन्ने लागेको थिएन ।’

एउटा लेखकले उपन्यास लेख्दा कति संघर्ष गर्नुपर्छ भन्ने कसैले सोच्न सक्दैन । सोचे पनि सोचेको भन्दा धेरै बढी लेखकको संघर्ष हुन्छ । योगमाया लेख्दा यस्तै भएको थियो । नीलमको पुस्तक हरेकको हातमा पुग्यो । तर, पुस्तकमा उनले ‘योगमाया’ लेख्दाका भागेका अनुभूति पुगेन । उनले गरेको मिहिनेतको परिणाम त पुग्यो । तर, त्यो परिणाम कसरी आयो भन्ने विषय पुगेन । 

इतिहासलाई फेरि एकपटक लेखेर ‘योगमाया’लाई पुनर्जीवित गराइन्, नीलमले । लेखकले कस्तो लेख्यो भन्ने त पाठकले बताउने कुरा हो । नीलमको ‘योगमाया’ पढेपछि योगमायासँग अनेक तवरबाट प्रत्यक्ष÷अप्रत्यक्ष सम्बन्ध राख्नेले भने उनले आफैँ त्यो समयमा बाँचेको जस्तो कथा लेखेको बताए । नीलम भन्छिन्, ‘मलाई तपाईं आफँैले भोगेर लेख्नुभएको जस्तो लाग्यो भनेर प्रतिक्रिया पाएँ । त्योभन्दा बढी के पाउँछ होला र लेखकले ?’
 

  • प्रकाशित मिति : कात्तिक २४, २०७५ शनिबार ७:२०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया