संविधान फेर्ने चर्चाको कुनै तुक छैन : सुवासचन्द्र नेम्वाङ

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेको संविधान हटाउने कल्पनासमेत गर्न नसकिने बताएका छन् । गृह जिल्ला इलाममा बिहीबार आयोजित कार्यक्रममा नेम्वाङले संविधान फेर्ने चर्चाको कुनै तुक नरहेको टिप्पणी गरे ।

‘यो संविधान लरतरो रूपमा हटाउने कल्पना समेत हुँदैन,’ नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले भने, ‘संविधान फेर्ने चासचुस चर्चा हुन थालेको छ, त्यस्तो चर्चाको कुनै तुक छैन ।’ 

नेम्वाङले नेपालको अहिलेको संविधानले व्यवस्था गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पनि तलमाथि नहुने दाबी गरे । ‘कसैलाई केही भइहाल्छ भन्ने चिन्ता लागेको छ भने चिन्तामुक्त हुन आग्रह गर्छु,’ नेम्वाङले भने ।

संविधानसभामा उपस्थित ३१ दलबाट संविधान बनाउन अनेक अप्ठयारो झेलेको भए पनि संविधान संशोधनमार्फत यसलाई सबै दलले स्वीकार गरेको नेम्वाङको भनाइ छ । 

‘हामीले निकै चुनौतीपूर्ण अवस्थामा संविधान बनायौँ, संविधानमा चुच्चे नक्सा राख्न दलहरू एक ढिक्का भए,’ नेम्वाङले थपे, ‘अब नेपालको सबै दलले संविधानलाई स्वीकारेका छन् ।’ 

संविधानमा नै भएको व्यवस्थालाई टेकेर आवश्यक परिवर्तन गर्न सकिने उनको भनाइ छ । ‘तपाई जनताको मन जितेर आउनुहोस् चाहे अनुसारको परिवर्तन गर्न सक्नुहुन्छ,’ नेम्वाङले भने,‘अब परिवर्तनको लागि कुनै लडाइँ, आन्दोलन गरिराख्नु पर्दैन ।’ उनले जनतालाई समेत मन नपर्ने पार्टी र व्यक्ति परिवर्तन गर्न सुझाए । 



‘व्यक्ति मन पर्दैन, व्यक्ति फेर्नुस्, पार्टी मन पर्दैन पार्टी फेर्नुस्’, उनले थपे,‘दलहरू बहीखाता बोकेर चाडै तपाइकोमा आउँदैछन् ।’ 

नेम्वाङले जनताले दिने फैसलाले मुलुकलाई दिशा दिने बताए । उनले भने, ‘अहिले केही अप्ठयारो भएको जस्तो लागेको होला, तपाइको फैसलाले देशलाई निकास दिन्छ ।’ 



  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार १४:३७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया