Sun, 21 Jul, 2019


#farakक्षमता
रनिङ रमा
फरकधार / कात्तिक २८, २०७५

रमा ढकालको खुट्टा सामान्य मानिसको भन्दा छोटो छ, तर उनलाई आफ्नो जीवन खोटो लाग्दैन । उनी आफैँले अनुभव गरेको यथार्थ हो यो । 



सानैमा पोलियो भयो । रोग मात्रै लागेन, खुट्टामा पनि असर पुर्यायो । उनी सानैमा अपांग बनिन् । स्कुल जान थालिन्, उनलाई आफ्ना साथीसँग मिलेर बस्न पनि समस्या थियो । साथीहरूसँग कदम मिलाएर हिँड्नमा पनि समस्या थियो । शौचालय प्रयोग गर्न, भर्याङ चढ्न, झर्न, सार्वजनिक सवारी चढ्न सबैमा समस्या थियो । उनका हरेक पल समस्याले घेरिएका थिए ।

स्कुले जीवन जे–जस्तो भए पनि उनले सहज बनाइरहेकी थिइन् । रमाको दैनिकी अझै सहज हुन्थ्यो होला, स्कुलमा खेल खेल्ने वेलामा शिक्षकले ‘रमा तिमी पनि आऊ है’ भनिदिएको भए । साथीहरूले त सक्दो सहयोग गरेका थिए । आफूसँगै सबै खेलमा सहभागी गराउन चाहन्थे, खेलाउँथे पनि । तर, सबैलाई सिकाउने शिक्षकले नै भेदभावपूर्ण व्यवहार गरेको भने उनलाई पटक्कै मन परेको थिएन । त्यसैले त ती कुरा आजसम्म पनि रमाको मानसपटलमा घुमिरहन्छन् । मनमा खेलिरहन्छन् । 

रमालाई याद छैन, कुन दिनबाट आफ्नो शारीरिक बनावट अरूको भन्दा भिन्न हुँदै गयो । कुन दिन थियो, त्यो जसले सारा जीवनलाई अप्ठ्यारो पारिदियो । अहँ ! उनी याद गर्न सक्दिनन् । किनकि त्यो सबै एकै दिन र एकै छिनमा भएको थिएन ।  

०००
मकवानपुर जिल्लाको सामान्य परिवारमा रमाको जन्म भयो । असारे दिनमा जन्मिएकी उनी ६ महिनामा एकाएक बिरामी परिन् । उनलाई ज्वरो आएको थियो । गाउँले जीवन, छोरीको अवस्था सामान्य रहँदासम्म आमालाई खासै वास्ता भएन । वास्ता भएन वा कामका कारण फुर्सद भएन, त्यो उनैलाइ थाहा होला । 

ज्वरोका कारण रमा बिस्तारै सिथिल हुँदै गइन्, उनको अवस्था नाजुक बन्यो । रमाका बुबा सरकारी जगिरे थिए । उनी काठमाडौंमा बस्थे । रमाको अवस्था कमजोर हुँदै गएपछि आमाले काठमाडाैै लगेर रमाको उपचार गर्ने निधो गरिन् । 

रमाको अवस्था यति जटिल भएको थियो कि काठमाडाैै जाने बसले पनि ‘बच्चा मरिसक्यो’ भनेर रमा र उनकी आमालाई बस्न दिन आनाकानी गर्यो । तर, आमाले जबर्जस्ती बस चढेर गइन् । 

त्यतिवेलाको घटना रमालाई थाहा हुने कुरै थिएन । पछि आमाले भनेपछि थाहा भयो । त्यतिवेला उनलाई कान्ति बाल अस्पतालमा भर्ना गरिएको रहेछ । आमाले भनेअनुसार सुरुमा अस्पतालले रमालाई टाइफाइड भएको जानकारी दियो । 

उपचार हुँदै थियो । गम्भीर बिरामी भएका कारण रमाको स्याहार अस्पतालका नर्सहरूले नै गरेका थिए । आमा–बुबाले पनि रमासँग पर्याप्त समय बिताउन पाएनन् । तर, ओच्छ्यानमा लगातार एउटै अवस्थामा राख्दा रमाको पिठ्युँमा ओच्छ्याने घाउ ‘बेडसोल’  भयो । घाउले ठूलो रूप लियो । कुहिएर मासु झर्नेसम्म अवस्था आयो । त्यही घाउकै कारण डाक्टरहरूले अप्रेसन गर्नुपर्छ भने । 

रमाका बुबा–आमाले भनेअनुसार हो भने घाउले हड्डीलाई असर नगर्नु पर्ने थियो । तर, त्यसो भएन । डाक्टरले नै भनेपछि परिवारले माने । डा. जयराज पाण्डेले रमाको अप्रेसन गरे । 

पिठ्युँको घाउको अप्रेसन गर्नुपर्यो । डाक्टरले कम्मरमा जोडिएको बायाँ खुट्टाको हड्डी छुटाएर केही इन्चमाथि लगेर खप्टाएर जोडिदिए । अप्रेसनका क्रममा लापरबाही भयो । दायाँ खुट्टाभन्दा छोटो पारेर जोडियो । त्यसपछि उनले आफूलाई छोटो खुट्टामा नै अभ्यस्त गराउन थालिन् । सुरुका दिनमा यो अवस्था पनि सजिलो थियो । खुट्टाको अप्रेसन गरेकोजस्तो थिएन ।

रमालाई याद छ, सानोमा आफ्नै खुट्टाले खेलेको, अरूलाई भेटाउने गरी कुदेको । तर, समयसँगै यो सम्भव भएन । अप्रेसन गरेको केही समयसम्म उनको खुट्टा छोटो मात्र थियो । समयसँगै बायाँ खुट्टा उस्तै रह्यो, तर दायाँ केही लम्बियो । ६ महिना अघिदेखि उपचार सुरु भए पनि उनी स्कुल जान थालेकी थिइन् । सँगसँगै उपचार पनि भइरहेको थियो । ताहाचलमा भएको डेरानजिकै रमाको स्कुल थियो । 

तिनताका डेराको तल्लो फ्ल्याटमा एकजना ब्रिटिस नागरिक बस्थिन् । रमाको अवस्थाबारे उनलाई जानकारी थियो । रुथ होप नाम गरेकी ती ब्रिटिस नागरिकले रमालाई उपचार गराउने विश्वास दिलाइन् । रुथले रमालाई जोरपाटीस्थित तत्कालीन तेरी देस होमेस अस्पतालमा लिएर गइन् । 

फेरि उनको उपचार सुरु भयो । त्यहाँ उनी तीन वर्ष बसिन् । त्यस दौरान उनको अप्रेसन भयो । अप्रेसन छोटो खुट्टाको हड्डी तन्काउनका लागि गरिएको थियो । नेपालमा पहिलोपटक भित्रिएको ह्वाकेनर मेसिन रमाकै लागि प्रयोग गरिएको थियो । कम्मर र खुट्टाबीचको जोर्नीमा मेसिन लगाएर घुमाउनुपर्ने हुँदा त्यसले अत्यन्त पीडा दिन्थ्यो । डाक्टरका अनुसार जति धेरै घुमायो त्यति नै छिटो हड्डी बढ्थ्यो । रमाले भनिन्, ‘तर मैले दुखाइ सहन सकिनँ ।’

पीडाले गर्दा उनले धेरै घुमाउन सकिनन् । दिनदिनै अभ्यास गर्नुपथ्र्यो । ती दिनमा १५ पटक खुट्टाको अप्रेसन भयो । अप्रेसनकै कारण खुट्टा केही लामो त भयो, तर जोर्नीहरू पनि अचल भयो । खुम्च्याउन–बंग्याउन नमिल्ने भयो । लामो समय अस्पतालमा बिताउनुपर्दा उनको पढाइमा ब्रेक लाग्यो । जोर्नी खुम्च्याउन नमिल्दा बस्न समस्या भयो । शौचालय प्रयोग गर्न पनि समस्या भयो । 

पढ्नुपर्छ भन्ने धारणा विकास भइसकेको थियो । अस्पतालबाट फर्किएपछि उनी फेरि ४ कक्षामा भर्ना भइन् र एसएलसी पास गरिन् । ती दिनमा उनले अपांग भएकै कारण निकै समस्या भोग्नुपर्यो । स्कुलको शौचालय अपांगमैत्री थिएन । रमाले भनिन्, ‘६ वर्षको अवधिमा म एक दिन पनि शौचालय गइनँ ।’ 

स्कुल पढ्दाको एउटा घटनाले रमालाई अझै पनि नरमाइलो बनाउँछ । सबै साथीहरू बास्केटबल खेल्न जान्थे । रमालाई पनि जानुपर्छ भनेर लैजान्थे । तर, उनी आफैँ ‘म खेल्न सक्दिनँ, किन जानु’ भन्थिन् । त्यसै क्रममा साथीहरूको करकापमा एक दिन रमा पनि साथीहरूसँग मैदानमा जान तयार भइन् । तर, विषय शिक्षकले भने, रमा तिमी यहीँ बसेर हेर है !’ 

साथीहरूको सहयोगले रमाको हौसला बढेको थियो । तर, शिक्षकले अचानक रोक लगाएपछि उनी निरास बनिन् । 

बाहिरी मानिसले जे जस्तो भने पनि रमालाई परिवारले सहयोग गरेका थिए । आमाले रमाको सहजताका लागि आफ्नो काम आफैँ गर्नुपर्छ भनेर सिकाइन् । उनले लुगा धुने, भाडा माझ्ने, खाना पकाउनेलगायत काम सिकाइन् । परिवार नै हौसला र प्रेरणा बनिदिए । यो कुरा रमाले पनि बुझिन्, र आफू अगाडि बढ्ने बाटो खोज्नुपर्छ भन्ने मनसाय बनाइन् । 

एसएलसीपछि उनी नर्सिङ पढ्न चाहन्थिन् । सानै उमेरमा डाक्टर–नर्ससँग नजिक भएका कारण रमाको मनमा सेवा भाव अंकुराएको थियो । तर, उनको यो चाहना पूरा नहुने भयो । किनकि, नर्स भइसकेपछि बिरामीको सेवामा रात–दिन नभनी खटिनुपथ्र्यो । रमा आफैँ शारीरिक अशक्त थिइन् । नेपाल सरकारको कानुनमा नै अशक्त भएका मानिसले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित शिक्षा पढ्न नपाउने नियम थियो । 

उनले ल्याब पढिन् । एक वर्ष ल्याब पढिसकेपछि रमा मेरी स्टोप्समा जागिरे भइन् । रमाका लागि काम सजिलो त थियो, तर आउजाउ नै समस्या भयो । 

बाध्य भएर रमाले जागिर छोडिन् । त्यतिवेलासम्म उनले राष्ट्रिय अपांग महासंघको सदस्यता लिइसकेकी थिइन् । 

म अपांग हुँ भनेर उनले कहिल्यै हीनताबोध गरिनन् । दुःख लाग्थ्यो होला, परिवारले हेला गरेको भए । आमाले र दाजुले सधैँ लामा फ्रक ल्याइदिन्थे । सानो–तिनो चिन्ता ती फ्रकले छोपिएझैँ लाग्थ्यो, रमालाई । अरूजस्तै छु भन्ने आभास दिलाउँथ्यो, सायद । 

०००

राष्ट्रिय अपांग महासंघको सदस्यबाट सचिव भइन्, रमा । उनलाई आफ्नो कार्यकाल याद छैन । २० वर्षपहिलेको कुरा थियो यो । महासंघमा काम गर्दा उनले महिलाका विभिन्न समस्या महसुस गरिन् । 

महिला र पुरुष एकै ठाउँमा भएर महिलाको समस्या समाधान भइरहेको थिएन, रमाले भनिन्, ‘उनीहरू खुल्न सकिरहेका थिएनन् ।’ 

यही सोचले केही समयपछि सातजना सदस्य मिलेर नेपाल अपांग महिला संघ दर्ता गरे । रमा संस्थापक अध्यक्ष भइन् । उनको आफ्नो कार्यकालमा अपांगता भएका व्यक्तिलाई भत्ताको व्यवस्था हुनुपर्ने मागको सम्बोधन भयो । रमाको कार्यकालपछि पनि संस्थाले अपांग महिलाका लागि होस्टेलको व्यवस्था गर्यो । देशमा प्रजातन्त्र ल्याउन पनि अपांग महिला संघले ठूलै संघर्ष गर्यो ।

यसरी रमाले आफ्नो जीवन सहज बनाउँदै गइन् । किरण शिल्पकार सहयात्री बनेर आएपछि रमाको दैनिकी अझै सहज बन्यो । किरण पनि शारीरिक अपांगता भएका व्यक्ति थिए । उनीहरूको प्रेम विवाह भयो । 

हिजोआज रमाको समय वैदेशिक कार्यक्रममा धेरै बित्छ । तालिम परामर्श लिएर र दिएर बित्छ । युरोपका धेरै देशबाट अपांगलाई गरिने व्यवहारको अनुभव गरेकी छिन् । जहाँबाट जानेर र सिकेर आएका सीप उनी यहाँका महिलालाई बाँड्छिन् । 

कुनै वेला नर्स बनेर सेवा गर्ने लक्ष्य बनाएकी रमाको अहिले एउटै उद्देश्य छ– अपांग महिलालाई सशक्त बनाउने । आत्मनिर्भर बनाउने ।  


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्