कांग्रेस महाधिवेशनः किन महामन्त्रीमा उम्मेदवारी दिँदै छन् प्रदीप पौडेल ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि आसन्न १४ औं महाधिवेशनमा आफू महामन्त्रीमा उठ्ने घोषणा गरेका छन् । उनले गृहजिल्ला तनहुँमा भएको एक कार्यक्रममा आफूले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

यसअघि नेपाली कांग्रेसकै तीन युवा नेता विश्वप्रकाश शर्मा, गुरु घिमिरे र गगन थापाले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

कांग्रेसको विद्यार्थी राजनीतिमा मात्र होइन, पार्टी राजनीतिमा पनि यी चार युवा नेतालाई विशेष प्राथमिकताका साथ हेरिँदै आएको छ । राजनीतिक कालखण्डको विभिन्न समयमा यी चार जना एउटै मुद्दामा तटस्थ भएर सँगसँगै पनि उभिएका छन् । अझ, पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गगन थापालाई एउटै कित्तामा राखेर हेरिने गरेको छ ।

एकातिर यी तीनलाई नेपाली युवाहरुले राजनीतिमा परिवर्तन ल्याउन सक्ने पुस्ताका हस्तक्षेपकारी भूमिकामा रहेको भन्दै हेरेका छन् भने पार्टीको महाधिवेशनमा यी तीनले एउटै पदमा उम्मेदवारी दिएपछि यसबारे प्रश्न उठाउनेहरु पनि बढेका छन् । यसबारे आलोचना गर्ने, टिप्पणी गर्ने वा प्रश्न उठाउनेहरुको एउटै चाहना छ– यी तीनले एकअर्कालाई सहयोग गरुन् र एउटै पदमा उम्मेदवारी नदिउन् ।

तर, अब तीन जनाले नै महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेपछि यी तीनमा एकले अर्कालाई सहयोग गर्लान् भन्ने प्रश्न उठ्दैन । 

फेरि तीनै जनाले कांग्रेसका तीन विभिन्न समूहबाट आफूलाई महामन्त्रीको उम्मेदवारका रुपमा अगाडि ल्याएका छन् । थापाले १३ औं महाधिवेशनदेखि आफूलाई कृष्णप्रसाद सिटौला क्याम्पमा राखे पनि १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा सिटौलालाई छाडेका छन् । उनले कांग्रेस सभापतिका आकांक्षी शेखर कोइरालाको क्याम्पबाट आफूलाई महामन्त्री उम्मेदवार बनाउने तयारी सुरु गरेका छन् ।



‘त्यसो त गगन थापाले चाहेको चाहिँ देउवाइतर पक्ष सबै एक हुन् भन्ने हो र उनी आफूलाई महामन्त्रीमा सुनिश्चितता गर्न पनि संस्थापन इतर पक्षलाई एक ठाउँमा ल्याउन चाहन्छन्,’ उनीनिकट एक नेता भन्छन्, ‘यसअघि १३ औं महाधिवेशनमा एकपटक महामन्त्रीमा पराजित भइसकेकाले पनि उनी यसपटक पदाधिकारीमा बलियो टिमको साथमा लागेका हुन् ।’ तर, सिटौला क्याम्प छाडेका थापालाई अवसरवादी भएको आरोप पनि कांग्रेस नेताहरुले लगाउन थालेका छन् । सिटौलाले नै स्वास्थ्यमन्त्री बनाएकाले पनि थापाले अहिले सिटौलालाई छोड्नुलाई अवसरको संज्ञा भएको उनीहरुको आरोप छ । 

अर्कोतिर, कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई साथ नदिने बुझेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि विमलेन्द्र निधिको क्याम्पमा आफूलाई समावेश गरिसकेका छन् ।
देउवा समूहबाट विद्रोह गरेर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका विमलेन्द्रको क्याम्पमा शर्मा हुनुलाई उनका लागि यो महाधिवेशन थप चुनौतिपूर्ण हुने निक्र्योल कांग्रेसका नेताहरुले निकालेका छन् ।



‘थापाले महामन्त्रीको उम्मेदवारी घोषणा गरेकाले शर्माले पनि गर्नु पर्ने दबाब देखियो,’ कांग्रेसका एक केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीले फरकधारसँग भने, ‘तर, यो उनका लागि सहज अवस्था होइन, निधिले देउवालाई सहयोग नगर्दा र आफ्नै क्याम्प बनाउँदा उनको पक्षबाट लड्ने पदाधिकारीहरुको उम्मेदवारी पनि स्वतः कमजोर देखिन्छ ।’

शर्मा र थापाले केहीअघि नै महामन्त्रीमा उम्मेदवारी घोषणा गरे पनि पौडेलले चाहिँ दुई दिनअघि मात्र गृहजिल्ला तनहुँबाट आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । पछिल्लो समय कांग्रेसमा सिटौलाका विश्वास पात्र मानिएका पौडेलको महामन्त्रीमा उम्मेदवारी पनि उनकै क्याम्पबाट भएको हो । तर, सिटौला स्वयंले आफ्नै टिम बनाएर सभापतिमा उम्मेदवारी दिने सम्भावना कम देखिएको छ । 

यस्तो अवस्थामा उनले सभापति देउवालाई समर्थन गर्न सक्छन् । पछिल्लो समय कांग्रेसमा निकै राम्रो पकड बनाएका सिटौलाले सभापतिमा जसलाई सहयोग गर्छन्, त्यो टिम स्वतः बलियो हुन्छ ।

‘उहाँको अहिले संगठनमा पनि बलियो पकड देखिएको छ, स्वभाविक रुपमा उहाँले जसलाई सभापतिमा समर्थन गर्नुहुन्छ, उसको पल्ला भारी भइहाल्छ,’ कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले भने, ’सभापतिमा उहाँले देउवालाई समर्थन गर्दा देउवा बलियो हुन्छ, पौडेल वा अरुलाई गर्दा उनीहरु नै बलियो हुन्छन् ।’ ढुंगाना यही कारण पनि सिटौला क्याम्पबाट जसले पदाधिकारीमा उम्मेदवारी दिए पनि ऊ स्वतः बलियो हुने मान्छन् ।

के यसको अर्थ महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी सिटौलाको यही बार्गेनिङ टुल बलियो भएर आएको हो त ?

‘यसलाई यो अर्थमा बुझ्नु ठिक हुँदैन,’ प्रदीप पौडेलले फरकधारसँग भने, ‘हो, म सिटौला क्याम्पमा छु तर मेरो महामन्त्रीको उम्मेदवारी भनेको मैले पार्टीमा केही परिवर्तन ल्याउनु पर्छ भन्ने सोचका साथ दिएको उम्मेदवारी हो, पार्टीका लागि पछिल्ला वर्षमा मैले जे जति दिन सकेको छु, त्यो अनुभवबाट सिर्जित एउटा आत्मविश्वास पनि हो ।’

पछिल्लो समय कांग्रेस क्रियाशिल सदस्यता विवाद छानबिन समितिमा रहेर काम गरेका पौडेलले आफूले पार्टीको दिएको जिम्मेवारी पूर्ण र कुशलतापूर्वक निर्वाह गरेको पनि बताए । 

‘पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेपछि मैले महाधिवेशनमा आफ्नो उम्मेदवारी घोषणा गरेको हुँ,’ पौडेलले भने, ‘संसदीय निर्वाचनमा सबैभन्दा बलियो पार्टी संगठन चाहिन्छ, त्यही संगठनलाई बलियो बनाउन, पार्टीलाई थप बलियो बनाउन र पार्टीलाई सुदृढ गर्दै अगाडि बढ्ने मेरो योजना छ । यी काम गर्नका लागि पनि मैले महामन्त्रीमा उम्मेदवारी दिएको हुँ ।’

  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार १६:१८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया