अधिवेशनमा हस्तक्षेप गर्न खोजेपछि भौतिक पूर्वाधारमन्त्री यादव घेराउमा

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर–६ को वडाअधिवेशनमा हस्तक्षेप गर्न खोजेपछि नेपाली कांग्रेसका कार्यकर्ताले प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवलाई घेरेका छन् । मन्त्री यादवलाई उनकै वडामा कार्यकर्ताले घेराउ गरेका हुन् । 

मन्त्री यादवले जर्बजस्ती वडा अधिवेशन गराउन खोज्दा स्थानीय कांग्रेसी कार्यकर्ताले उनलाई घेराउ गरेका हुन् । मन्त्री यादवले लुकाएर गोप्य स्थानमा आफ्ना गुटका कार्यकर्तालाई मात्रै बोलाएर मतदान गराइरहेको थाहा पाएपछि स्थानीय कार्यकर्ताले घेराउ गरेको नेपाली कांग्रेसका स्थानीय नेता विनोदकुमार यादवले जानकारी दिए । 

मुखियापट्टी मुसहरनिया वडा नम्बर–५ र ६ मा प्रहरीको सहयोगमा एकलौटी रुपमा माइन्युट गरेर मन्त्री यादवले वडाधिवेशन गर्न खोजेपछि विवाद उत्पन्न भएको हो । 

मन्त्री यादवले पावरको आडमा अलोकतान्त्रिक र तानाशाही विधिबाट अधिवेशन गराउन खोजेपछि आफूहरुले अधिवेशन रोक्न खोजेको स्थानीय कांग्रेसका कार्यकर्ता जयप्रकाश यादवले बताए । उनले मन्त्री यादवलाई आफूहरुले घेरेर राखेको बताए । 

उनले भने, ‘उहाँ भुइँतहमा खटिने कार्यकर्तालाई तह लगाउने हिसाबले अगाडि बढिरहनुभएको छ । भाइ–भतिजाप्रति उहाँको सद्भाव देखियो । वास्तविक कार्यकर्तालाई पछाडि पार्न खोजिरहनुभएको छ । त्यसैले हामीले घेराउ गरेका हौँ ।’

सो क्रममा कांग्रेसका कार्यकर्ता र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो । 



मन्त्री यादवकै हस्तक्षेपका कारण साविकको बहेडाबेला र हाल मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर–५ र ६ मा वडा अधिवेशन हुन सकेको छैन । मन्त्री यादवले त्यहाँका कांग्रेसका पुराना नेता–कार्यकर्तालाई तह लगाउने व्यवहार प्रदर्शन गरेको आरोप लगाइएको छ ।



  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १९:५९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया