आन्दोलनरत पक्षलाई बेवास्ता गर्दै देउवाको गृहजिल्लामा अघि बढ्यो अधिवेशन

नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्लामा क्रियाशील सदस्यतामा असन्तुष्टि जनाउँदै एक पक्ष निरन्तर आन्दोलनमा छ । सभापति देउवाले भने आन्दोलन पक्षलाई बेवास्ता गरेका छन् ।

असन्तुष्ट पक्षले ११ दिनसम्म डडेल्धुरा पार्टी कार्यालयमा अनशनमा बसेका थिए । जिल्लाको आन्दोलनमा कुनै सुनुवाइ नभएपछि सानेपा पुगेका हुन् ।

डडेल्धुराका दुईवटै प्रदेशसभा क्षेत्रका सभापतिहरू करुणाकर भट्ट र मानबहादुर बुढा पार्टीको केन्द्रीय कार्यालय सानेपामा रिले अनशनमा छन् ।

कांग्रेसको विधानको धारा १० (६) अनुसार प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनको अध्यक्षता सभापतिले गर्ने प्रावधान छ । तर डडेल्धुरामा यो प्रावधानविपरीत प्रदेश क्षेत्रीय अधिवेशन गरिएको छ ।

शुक्रबार कांग्रेसका क्षेत्रीय सभापतिको अनुपस्थितिमा पार्टीको प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरेको हो ।

प्रदेशसभा क्षेत्रका सभापति करुणाकर भट्टका अनुसार १७ सदस्यीय प्रदेशसभा (२) निर्वाचन क्षेत्रीय समितिका बहुमत (१२) पदाधिकारी र प्रदेशसभा (१) को ५ सदस्यीय कार्यसमितिका ३ जना सानेपामा रिले अनशनमा छन् ।



विधानको खिल्ली उडाउँदै भएको अधिवेशनलाई मान्यता नदिन निर्वाचन समितिलाई भट्टले आग्रह गरेका छन् । असन्तुष्ट पक्षधरको आवाज नसुनेरै उनीहरूलाई किनारा लगाउँदै देउवा पक्षले प्रदेशसभा क्षेत्रीय अधिवेशन गरेको हो । 

अनशनरत डडेल्धुराका सभापति कर्ण मल्ल, क्षेत्रीय सभापतिद्वय भट्ट र बुढासहितका नेता–कार्यकर्ताहरुले अनशनको सुनुवाइ नगरेर एकलौटी रुपमा महाधिवेशन प्रक्रिया सुरु गरिएको प्रति आपत्ति जनाउँदै आएका छन् ।



दुईवटै प्रदेशसभा क्षेत्रका सभापतिको अनुपस्थितिमा भएको अधिवेशन अवैध भएको अनशनरत जिल्ला कार्य समिति सदस्य गोकुल शाहीले बताए ।

‘पार्टीको विधान अनुसार प्रदेश अधिवेशनका लागि क्षेत्रीय सभापति उपस्थित हुनुपर्छ । उहाँहरु दुवै जना यहाँ अनशनमा बस्नु भएको छ अनि जिल्लामा भएको अधिवेशन वैध हुन्छ र ?’ उनले प्रश्न गर्दै भने, ‘हामीले त्यस विषयमा निर्वाचन समितिलाई उजुरी दिइरहेका छौं ।’

उनका अनुसार यसअघि एकलौटी रुपमा सम्पन्न वडा र पालिका अधिवेशन खारेजीको माग गर्दै निर्वाचन समितिमा दिइएका उजुरीउपर छानबिन भइरहेको छ । ‘निर्वाचन आयुक्तहरुले त्यसलाई अवैधानिक भनेका छन् । विवादित प्रतिनिधि महाधिवेशनमा समावेश हुँदैनन् भनेका छन् ’ शाहीले भने ।

कांग्रेस डडेल्धुराको संस्थापन पक्षले आफ्नो असहमति हुँदाहुँदै अर्को पक्षले एकलौटी वडा र पालिका अधिवेशन गरेको आरोप लगाउँदै आएको छ ।

डडेल्धुरामा शुक्रबार सम्पन्न भएको प्रदेश २ को सभापतिमा जिल्ला समन्वय समिति प्रमुख गणेश राजभट्टको प्यानल सर्वसम्मत चयन भएका छन् । यस्तै प्रदेशसभा क्षेत्र १ को सभापतिमा कैलाश कुमार पाण्डेय निर्वाचित भएका छन् ।

परशुराम नगरपालिकाको–१२ स्थित परशुराम रंगशालामा सभापति पदका लागि भएको निर्वाचनमा जीतबहादुर विष्टलाई हराउँदै पाण्डेय विजयी भएका हुन् ।

एउटा संघीय निर्वाचन क्षेत्र मात्रै रहेको डडेल्धुरामा मंसिर ६ गते जिल्ला अधिवेशन गर्ने देउवा पक्षको कार्यतालिका छ ।  क्रियाशील सदस्यता विवाद कायम रहेकै बेला भदौ २५ मा डडेल्धुरामा अधिवेशन प्रक्रिया अघि बढेको थियो । पार्टी सभापति कर्ण मल्लसहित बहुमत कार्यसमिति सदस्यले क्रियाशील सदस्यता विवाद समाधान नगरेसम्म अधिवेशन नगर्न माग गर्दै आएको थियो ।

  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार १४:४६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया