विद्युतीय ऊर्जाले देशलाई आत्मनिर्भर बनाउन सकिन्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताएकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको राजधानी काठमाडौंलाई नमूना योग्य बनाउन विद्युतीय सवारी साधन संचालन गर्नुपर्नेमा जोड दिएकी हुन् । उनले पेट्रोलियम पदार्थले मुलुकमा थोपरेको भारलाई कम गर्न, वायु प्रदूषण कम गरी स्वच्छ र सफा काठमाडौं बनाउन पनि विद्युतीय सवारी साधनको प्रयोग अति आवश्यक भएको स्पष्ट पारिन् ।

शनिबार काठमाडौंको स्वयम्भू परिसरमा पुनर्निर्माण गरिएको ज्ञानमाला भजन खलः भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको आत्मनिर्भरको निम्ति, काठमाडौं उपत्यकालाई नमूना योग्य बनाउनका लागि स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग अति उपयोगी हुने स्मरण गराइन् ।

राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकामा बढिरहेको प्रदूषणलाई कम गर्न इँटाभट्टामा पनि विद्युतीय ऊर्जाको उपयोग गर्न ढिलाइ गर्न नहुनेमा जोड दिइन् । उनले सिमेन्ट उद्योगमा विद्युतीय ऊर्जाको प्रयोग गरेर पनि नेपाललाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ अघि बढाउन सकिने बताइन् । उनले त्यसका लागि नेपालमा स्रोतको कुनै कमी नभएको पनि उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले भनिन् 'काठमाडौं उपत्यकामा विद्युतीय सवारी साधनहरु संचालनमा ल्याउने हो भने यहाँको वातावरण स्वच्छ हुन्छ । र हामीले पेट्रोलियम पदार्थमा जुन बोझ बोकिराखेका छौं, त्यसबाट हामी मुक्त हुन सक्दछौँ । हामीले हाम्रो आर्थिक सन्तुलन पनि कायम गर्न सक्दछौँ ।'

उनले बुद्ध दर्शनलाई गीत, संगीतको माध्यमबाट विश्वभर फैल्याउने काम गरिरहेको ज्ञानमाला भजन खलःले आफ्नो भवन पुनर्निर्माणमा पनि आफ्नै स्रोत र साधन प्रयोग गरेको उल्लेख गर्दै त्यसबाट सबैले सिकेर अघि बढन सके मुलुकलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजाने अभियानमा ढिलाई नहुने बताइन् ।



कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गीत, संगीतको माध्यामबाट बुद्धको सन्देश विश्वभर पुर्‍याउन योगदान गरिरहेको ज्ञानमाला भजन खलःलाई आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मेयर शाक्यले काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षणको कामलाई महानगरपालिकाले पहिलो प्राथमिकतामा राखेर अघि बढाएको पनि बताए ।



  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार १६:१३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया