नदीमा डाइभर्सन बनाए एक महिनापछि खुलाइयो जयपृथ्वी राजमार्ग

अवरुद्ध भएको एक महिनापछि जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । बझाङ जिल्लालाई अन्य जिल्लासँग जोड्ने मुख्य राजमार्गको रूपमा रहेको उक्त सडकखण्ड शनिबारबाट सञ्चालनमा आएको हो ।

गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी अविरल वर्षाका कारण उक्त सडकखण्ड अवरुद्ध बनेको थियो ।

सेती नदीमा आएको बाढीले नारुगौंडा र जाल्या बगरको सडकखण्ड बगाएपछि सदरमुकाम चैनपुरसम्म चलने साना तथा ठूला सवारी साधनहरू पूर्णरूपले अवरुद्ध भएका थिए ।

नारुगौंडामा यसअघि नै बम विस्फोट गरेर सडक सञ्चालनमा ल्याइएको छ । करिब ३०० मिटर सडक नै नदीले बगाएकाले एक महिनापछि जाल्या बगरमा नदीको धार परिवर्तन गरी यातायात सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

सडक खुलेसँगै यात्रुहरूलाई सदरमुकाम चैनपुर जान तथा चैनपुरवाट बाहिरी जिल्लाको यात्रामा सहज हुने जयपृथ्वी नगरपालिका-१० का वडा अध्यक्ष दल बहादुर विष्टले बताए ।

महँगी घट्ने आस



सडक अवरुद्ध भएको एक महिनापछि सडक सञ्चालनमा आएकाले अब जिल्लामा बढेको महँगी पनि घट्ने स्थानीयले आस गरेका छन् ।

यातायातका साधन अवरुध भएको र जिल्ला बाहिरबाट खाद्य सामग्री नआएको भन्दै कृतिम अभाव देखाएर उपभोक्ता ठग्ने क्रम पछिल्लो समय बढ्दै गएको थियो ।



जिल्ला सदरमुकाम चैनपुरमा मात्रै खाने तेल, चामल, पिठो तथा तरकारीको मूल्यमा अत्यधिक वृद्धि गरिएको स्थानीय गणेश जोशीले बताए । दैनिक रूपमा प्रयोगमा आउने खाद्यान्नमा सबैभन्दा बढी मूल्यवृद्धि भएको अर्का स्थानीय रमेश विष्टले बताए ।

पहिले ४५ रुपैयाँमा किन्न पाइने मोटो चामलको मूल्यमा वृद्धि गरी ८० रुपैयाँ पुर्‍याइएको थियो भने १३० पर्ने खाने तेलको मूल्य १८० सम्म पुगेको थियो । खाना पकाउन एलपी ग्यासको मूल्य २३ सयसम्म पुगेको होटल व्यवसायी रामजन चौहानले बताए ।

यातायात पुनः सञ्चालन भएपछि अब जिल्लाबासीलाई राहत हुने अपेक्षा गरिएको छ । महँगीले उपभोक्ता ठगिएको गुनासो दिनप्रतिदिन बढ्दै जान थालेको भए पनि अब त्यस्तो नहुने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

कृतिम संकट देखाएर ठगी गरेको भए पनि अब यातायात सञ्चालनपछि जिल्लामा आवश्यक सामानको परिपूर्ति हुने भएकाले उपभोक्ताले चर्को मूल्य तिर्न नपर्ने प्रजिअ अधिकारीले बताए ।

  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार २०:३६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया