एमाले महाधिवेशनः पदाधिकारीमा आकांक्षी तीन गुणा, सर्वसम्मत कठिन

पाँच दिनपछि चितवनमा सुरु हुने नेकपा एमालेको दशौं महाधिवेशनले पार्टीका पदाधिकारी कसरी चयन गर्नेछ भन्ने अन्योल थप बढ्न थालेको छ । यसअघि विधान महाधिवेशन सकिएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यसपटक महाधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने इच्छा प्रकट गरेका थिए । 

ओलीले सर्वसम्मत पदाधिकारी चयन गर्ने बताएकाले नै अहिलेसम्म पदाधिकारीमा दाबी गरिरहेका नेताहरुले औपचारिक रुपमा आफू कुन पदमा उठ्ने हो भन्ने घोषणा गरिसकेका छैनन् । तर, उनीहरुले आफूनिकटलाई प्रचारप्रसार गर्न आग्रह गरिसकेका छन् ।

दशौं महाधिवेशनले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र ७ सचिवको १५ सदस्यीय पदाधिकारी चयन गर्नेछ । त्यस्तै, यो महाधिवेशनबाट २२५ जना केन्द्रीय सदस्य पनि चयन हुनेछन् ।

ओलीले यसअघि पार्टीमा यसपटक सबै तालमेल मिलाउनु पर्ने भएकाले पदाधिकारीमा सर्वसम्मत गर्दा राम्रो हुने आफूनिकट नेताहरुलाई बताउन थालेका थिए । एमालेमा माओवादी केन्द्रबाट आएका र माधवकुमार नेपालको साथ छाडेर एमालेमा नै रहेका नेताहरुलाई पनि सम्बोधन गर्नु पर्ने चुनौति यो महाधिवेशनको रहेको छ । ओली समूह, पूर्वमाओवादी समूह र एमालेमा तेस्रो धार भनेर चिनिएका नेताहरुको आकांक्षा पदाधिकारी नै भएकाले यसमा समस्या देखिएको हो । 

अर्कोतिर पदाधिकारीमा आकांक्षीको संख्या तीन गुणाभन्दा बढी छ । एमालेको १० औं महाधिवेशनमा महासचिवमा उम्मेदवारी दिने पक्षमा छन्, शंकर पोखरेल र विष्णु पौडेल । दुवै ओलीनिकट यी नेताहरुसँगै यसअघि महासचिवमा ईश्वर पोखरेलसँग पराजित सुरेन्द्र पाण्डेले पनि महासचिवका लागि तयारी सुरु गरेका छन् । एक महासचिवका लागि यी तीनसँगै घनश्याम भुसालको पनि चर्चा छ । 

अर्कोतिर, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, रामबहादुर थापा बादल, सुवास नेम्वाङ, भीम रावललगायतको दाबी छ । 



त्यस्तै, उपाध्यक्षका आकांक्षी पनि आधा दर्जनभन्दा बढी छन् । अष्टलक्ष्मी शाक्य, राधा ज्ञवाली, युवराज ज्ञवाली, महासचिवका आकांक्षी तीन जनामध्ये दुई जनालगायतका नेताहरु छन् । 

यो महाधिवेशनमा अर्को सबैभन्दा बढी आकांक्षी भएको पदाधिकारीमा सचिव पदका छन् । ७ सचिव चुन्ने महाधिवेशनमा कम्तिमा पनि ३ दर्जनले सचिवमा दाबी गरेका छन् । अहिलेका सचिव गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, प्रदीप ज्ञवालीलगायत दोहोरिन चाहेका छन् ।



अन्य नेतामा पृथ्वीसुब्बा गुरुङ, लालबाबु पण्डित, भानुभक्त ढकाल, हिक्मत कार्की, शेरधन राई, गुरु बराल, राजेन्द्र गौतम, डा। शिवमाया तुम्बाहाङ्फे, रघुवीर महासेठ, विष्णु रिमाल, कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ, बिन्दा पाण्डे, आनन्दप्रसाद पोखरेल, डा। राजन भट्टराई, अरुण नेपाल, शेरबहादुर तामाङ, गोमा देवकोटा, गोकुल बाँस्कोटा, किरण गुरुङ, खगराज अधिकारी, पद्मा अर्याल, यामलाल कँडेल, टोपबहादुर रायमाझी, राधा ज्ञवाली, ठाकुर गैरे, खिमलाल भट्टराई, लेखराज भट्ट, कर्ण थापालगायतले पनि सचिवमा दाबी गरिरहेका छन् । 

यस्तो अवस्थामा अब दशौं महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व आउने सम्भावना कठिन भएको र चुनावी प्रतिस्पर्धामा नै जानु पर्ने धेरै नेताले सुझाव दिन थालेका छन् । 
केही दिन यता अहिलेका पदाधिकारीसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटिरहेका छन् । उनीहरुसँगको भेटमा ओलीले पदाधिकारी र यही विषयमा चर्चा गर्न थालेका छन् । एकथरि नेताहरुले ओलीलाई विधान संशोधन गरेर पदाधिकारी संख्या बढाउने सल्लाह दिएका छन् ।

‘अहिले एमालेमा तीन समूह भएको जस्तो देखिएको छ, यो समय पार्टी ठूलो संकटमा पनि छ,’ ओलीनिकट एक नेताले फरकधारलाई भने, ‘त्यसैले सबैलाई समेट्नका लागि पदाधिकारी संख्या बढाएर अगाडि जान सकिने सल्लाह पनि नआएका होइनन् । यसबारे नेतृत्वले विचार गर्दैछ ।’

अर्कोतिर ओलीनिकट केही नेताहरुले नै विधान महाधिवेशनले पदाधिकारी संख्या टुंगो लगाइसकेकाले यसलाई फेरि चलाउन नहुने बताउन पनि थालेका छन् ।

तर, विधान महाधिवेशनले परिभाषित पदाधिकारी संख्याभन्दा तेब्बर आकांक्षी भएकाले सर्वसम्मत भन्दा चुनावी प्रक्रियाबाट नै नेतृत्व चयन गर्नु पर्ने सुझाव अध्यक्ष ओलीलाई दिनेहरु पनि छन् ।

‘एमाले लोकतान्त्रिक पार्टी हो, त्यसैले नेतृत्व चयनका लागि चुनाव हुनु पर्छ,’ दशौं महाधिवेशनमा महासचिवका आकांक्षी विष्णु पौडेलले फरकधारसँग भने, ‘त्यसैले अहिले सर्वसम्मतभन्दा पनि बढी निर्वाचन हुने सम्भावना बढेको हो, यसलाई स्वभाविक रुपमा लिनुपर्छ ।’

तर, अहिलेसम्म पौडेल स्वयंले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छैनन् । दशौं महाधिवेशनमा उनका प्रतिस्पर्धी देखिएका शंकर पोखरेलले सामाजिक सन्जालमा आफूनिकटहरुलाई महासचिव पदका लागि सामाजिक सन्जालमा प्रचार गर्न भनेपछि पौडेलनिकटहरुले पनि प्रचार सुरु गरेका छन् ।

त्यस्तै, यो महाधिवेशनबाट सचिवमा आउने तयारी गरेका एमालेका अर्का एक नेताले फरकधारसँग भने, ‘आन्तरिक प्रतिस्पर्धामा निर्वाचन हुनु नै सबैभन्दा राम्रो हुन्छ । सर्वसम्मतको नाममा आफूनिकटहरुलाई मात्र नेतृत्वले प्रश्रय दियो भने भोलि फेरि पार्टी गन्जागोल हुन्छ, फेरि पार्टीमा प्रश्नहरु जन्मिन्छन् अनि विग्रहको अवस्था आउन सक्छ ।’

  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार ७:५४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया