छाङ्गरु नपुगी फर्किए गणक

दार्चुला व्यास गाउँपालिका-१ स्थित तिंकर र छाङ्गरुमा जनगणना गर्न गएका गणक फिर्ता भएका छन् । अप्ठ्यारो बाटोका कारण हिँड्न नसकेर गणक दुम्लिङबाट सदरमुकाम खलंगा फर्किएका हुन् ।

दुम्लिङ अगाडि बाटो छैन । दार्चुला जनगणना कार्यालयका प्रमुख पदमराज पाण्डेकाअनुसार दुम्लिङबाट छाङ्गरु पुग्दासम्म बीचमा बाटो पसल केही पनि छैन । बाटो चलन चल्तीमा नहुँदा एकदमै कठिन छ ।

दार्चलाकाे सदरमुकाम खलंगाबाट तिंकर र छाङ्गरु जान स्थानीयहरू भारतीय बाटो प्रयोग गर्दै आएका छन् । भारतले जनगणनाको टोलीलाई भने जान अनुमति नदिँदा आफ्नो देशको अप्ठ्यारो बाटो प्रयोग गर्न बाध्य भएका हुन् ।

खलंगाबाट शुक्रबार बिहान ३ सदस्यीय गणकको टोली नेपाली बाटो भएर छाङ्गरु र तिंकरतर्फ गएको थियो । टोलीमा रहेका गणक राजेन्द्र कार्की हिँड्न नसकेपछि फर्किएको जनगणना कार्यालय दार्चुलाका पाण्डेले बताए ।

टोलीमा जनगणना कार्यालय दार्चुलाका सहायक जनगणना अधिकृत खगेन्द्र कार्की, गणक राजेन्द्र कार्की र एक जना कार्यालय सहयोगी छाङरु र तिंकरका लागि गएका थिए । 

गणक हिँड्न नसकेर फर्किएपछि सहायक जनगणना अधिकृत, कार्यालय सहयोगीमात्रै त्यसतर्फ लागेका छन् ।



खलंगाबाट करिब ३ दिन जोखिमपूर्ण पैदल यात्रा गरेपछि छाङरु र तिंकर पुगिन्छ । भारतको बाटोमा एक दिनमै पुगिन्छ । तिंकर र छाङ्गरुमा ११३ परिवारको बसोबास छ । तिंकर र छाङ्गरुमा पहिलो चरणको सुपरिवेक्षण मात्रै हुन सकेको छ ।



  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार ९:३४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया