अध्यक्षमा उम्मेदवारी दिने घोषणामा भीम रावलका दुई स्वार्थ, दुई सन्देश

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आगामि अधिवेशनमा आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा दोहोरिने इच्छा देखाएपछि उनको विकल्पमा कोही पनि उम्मेदवार नहोलान् भन्ने अनुमान गरिएको थियो । 

कतिसम्म भने यसअघि भीम रावलकै समूह अर्थात् एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका नेताहरुले एमालेमा नै रहने निर्णय गरेपछि विभिन्न सन्चारमाध्यममा अब अध्यक्षमा ओलीको विकल्प नभएको बताएका थिए । अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराईहरुले पनि सर्वसम्मत रुपमा ओलीलाई ४ दिनपछि चितवनमा सुरु हुने महाधिवेशनबाट दोस्रो पटक एमाले अध्यक्षमा ल्याउन चाहन्थे । पहिले ओलीका कटु आलोचक यी नेताहरुले समेत यस्तो बताएपछि ओलीको विकल्प यो पार्टीमा अरु देखिएको पनि थिएन ।

अर्कोतिर, ओलीले अध्यक्षमा सहजै दोहोरिन सर्वसम्मत नेतृत्व चयन गर्ने तुरुप पनि फालेका थिए । उनले फ्लरमा यो तर्क राख्दा उनको विरोधमा आवाज सुनिएन । तर, के चाहिँ निश्चित थियो भने यसपटक एमाले नेतृत्व वा पदाधिकारीमा आउन चाहने जो कोहीले पनि ओलीको ग्रिन सिग्नलको चाहेका थिए । 

पहिलो पटक विधान महाधिवेशन गरेर एमालेले यसपटक महाधिवेशनलाई बढी नेतृत्वको होडबाजीमा लगेर टुंग्याएको छ । अब एमालेमा नीति र विधिको होइन, पदको विषयमा चर्चा बढेको छ । एमालेले चयन गर्ने १५ सदस्यीय पदाधिकारीका लागि ६० जनाभन्दा बढी आकांक्षी छन् ।

एमालेमा माओवादी छाडेर आएका नेताहरु छन्, माधवकुमार नेपालको साथ छाडेर एमालेमै रहेका नेताहरु छन् र छन्, ओलीसँग जोडिएका नेताहरु । पार्टीको यो त्रिपक्षीय व्यवस्थापनका लागि एमाले नेतृत्वलाई सहज छैन । केही समयअघि मात्र नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएर बनेको नेकपा एमाले पनि योबीचमा दुई चिरा भइसकेको छ । नेकपा एकीकृत समाजवादी गठन गरेर माधवकुमार नेपालले ओलीलाई चुनौति दिइसकेका छन् ।

यो सब चलिरहँदा भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएका छन् । यसअघि महाधिवेशन प्रतिनिधि छनोटमा नै आफ्नो क्षेत्रमा असन्तुष्टि जनाएका रावलले आफू पराजित हुन पनि तयार रहेको अभिव्यक्ति केहीअघि गृहजिल्ला पुगेर दिएका थिए । उनले नेकपा एमालेकै नेताहरुको हारको फेहरिस्त सुनाएका थिए र आफू पराजित हुने थाहा हुँदाहुँदै पनि अध्यक्षको उम्मेदवारीका लागि आँट गर्ने भाव व्यक्त गरेका थिए । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर पनि उनले यस्तै भाव देखाएका छन् । तर, थप एउटा कुरा भनेका छन्– ओलीले अब अभिभावकत्व निर्वाह गर्नुपर्छ । प्रश्न उठेको छ, के यो रावलले कुनै बार्गेनिङका लागिमात्र त यसो भनेका होइनन् ?



रावलको यो घोषणामा दुई स्वार्थ देख्नेहरु छन् । आउनुहोस्, पहिले रावलको यो घोषणामा के स्वार्थ लुकेको छ भन्नेबारे चर्चा गरौँ ।

पहिलो हो, उनी पदाधिकारीमा बार्गेनिङ गर्न चाहन्छन् । एमालेमा लामो समयदेखि नोट अफ डिसेन्ट लेखिरहेका नेता हुन्, भीम रावल । हिजो नेकपा हुँदा होस् या एमालेमा केपी शर्मा ओली र माधवकुमार नेपालबीचको द्वन्द्व उत्कर्षमा पुग्दा नै किन नहोस्, ओलीका कदमविरुद्ध एक्लै भए पनि अडिग रहेर रावल अगाडि बढिरहेका थिए ।



त्यही उनको अडान र नोट अफ डिसेन्टका कारण अहिले उनी नेकपा एमालेमा किनारा लगाइएका छन् । दसौँ महाधिवेशनको सन्दर्भमा पनि उनी किनारीकृत नै छन्, उनलाई ओलीले पदाधिकारीमा स्थान दिन खोजिरहेका छैनन् । माधवकुमार नेपाललाई छाडेर एमालेमा नै रहने विकल्प छानेपछि नै रावलले यसको आशा गर्न थालेका थिए । तर, अहिले उनी त्यो सम्भावना कम देखिरहेका छन् । 

त्यसैले आज उनले गरेको अध्यक्षको उम्मेदवारी घोषणा फगत् बार्गेनिङका लागि पनि हुनसक्छ । उनले आफूले अध्यक्षमा उम्मेदवारी दिन्छु भनेर घोषणा गर्नु ओलीलाई गलाएर महत्त्वपूर्ण पदमा आफू आउन चाहनु पनि हुनसक्छ ।

रावलको यो घोषणामा अर्को पनि स्वार्थ लुकेको छ । उनले लामो समयदेखि माधवकुमार नेपाललाई साथ दिए पनि अन्ततः नेपालले नेकपा एकीकृत समाजवादी पार्टी खोल्दा रावलले उनलाई साथ दिएनन् । यो पार्टी खुल्नुअघि सुदूरपश्चिममा राम्रो प्रभाव बनाएका रावलले एमाले नै छानेपछि उनको सुदूरपश्चिममा पकड कमजोर मात्र भएको छैन, माओवादी केन्द्रबाट एमालेमा आएका लेखराज भट्टलगायत नयाँ प्रतिस्पर्धी पनि उनले पाएका छन् । सुदूरमा गुमेको त्यो पडक फिर्ता आओस् भन्ने चाहनाका लागि पनि रावलले यो तरिका अपनाएको हुनसक्ने अनुमान गरिएको छ । 

पद प्राप्तिका लागि मात्र रावलले यो घोषणा गरेका हुन् कि उनी साँच्चिकै महाधिवेशनमा पराजित भए पनि उम्मेदवारी दिएर अगाडि बढ्नेछन् भन्ने निक्र्योल आउन अब केही दिन कुरे पुग्छ ।

अब लागौँ, यही घोषणबाट रावलले दिन खोजेका दुई सन्देश तर्फ । 

‘सबैभन्दा पहिले त उहाँले लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा हुनुपर्छ, एमालेमा पनि सर्वसम्मत नेतृत्व चयन ठिक होइन भन्ने स्पष्ट सन्देश दिनु भएको छ,’ रावलको आजको घोषणालगत्तै एमालेमा उनीनिकट एक नेताले भने । यसले पार्टीको आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउने बुझाइ हुनसक्छ । यही नै रावलले दिन खोजेको एउटा सन्देश हो ।

अर्को पक्ष के भने आज अध्यक्षमा उम्मेदवारी घोषणा गर्दा रावलले ओलीलाई अभिभावक भएर बस्न अनुरोध गरेका छन् । यसले प्रष्ट पार्छ अब नेपालको नेतृत्वका लागि पुस्तान्तरणको आवश्यकता पर्छ । यसै पनि ओलीले केही महिनाअघि नै आफूले अब पार्टी अध्यक्ष बन्ने चाहना नराख्ने बताएका थिए । भलै उनको पार्टी फेरियो होला, उनले आफूले गरेका वाचालाई पूरा गर्नु पर्ने हो । तर, उनले परिस्थिति फेरिएको भन्दै आफ्ना यी वाचाहरु भुलेका छन् । एमाले महाधिवेशन सकिएको केहीपछि नेपाली कांग्रेसको पनि महाधिवेशन हुँदैछ । कांग्रेसमा पनि सभापति शेरबहादुर देउवा फेरि सभापतिमा दाहोरिन चाहेका छन् । तर, उनलाई पनि उनीभन्दा पछिल्लो पुस्ताका विमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंहलगायतले चुनौति दिएका छन् ।

यी दुई पार्टीको महाधिवेशनको पूर्वसन्ध्यामा रावलको आजको उम्मेदवारी घोषणाले दिने सन्देश हो– अब राजनीतिमा नयाँ पुस्ताको हस्तक्षेपकारी भूमिकाको आवश्यकता भइसकेको छ ।

  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार २१:२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया