विवादका कारण कपिलवस्तुमा कांग्रेस क्षेत्रीय अधिवेशन स्थगित

विवादका कारण नेपाली कांग्रेस कपिलवस्तुको संघीय निर्वाचन क्षेत्रको अधिवेशन स्थगित भएको छ । जिल्ला सभापति सुरेन्द्रराज आचार्य (पौडेल पक्ष) समूहले विवाद झिकेकाले अधिवेशन स्थगित भएको संस्थापन पक्षले आरोप लगाएको छ ।

जिल्ला सभापति आचार्य र जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले सूचना जारी गर्दै तयारी नपुगेकाले अर्को सूचना जारी नहुँदासम्म अधिवेशन स्थगित भएको जानकारी गराएका छन् । 

जिल्ला निर्वाचन अधिकृत पन्तले क्षेत्र नम्बर ३ मा उम्मेदवारमाथि दाबी विरोध र क्षेत्र नम्बर १ मा मतदान स्थलको विषयमा विवाद भएका अधिवेशन स्थगित गरिएको स्पष्ट पारे । 

क्षेत्र नम्बर १ मा आचार्य पक्षले मतदान हुने स्थल पायक नपर्ने भन्दै विवाद निकालेको छ । मतदान केन्द्र मायादेवी गाउँपालिकाको पकडीमा सार्नुपर्ने भन्दै विवाद उत्पन्न भएको थियो । क्षेत्र नम्बर १ मा देउवा पक्षबाट अब्दुल मन्नान र पौडेल पक्षबाट टेकबहादुर शाहीले सभापति पदमा उम्मेदवारी दिएका थिए । 

यो क्षेत्र दीपकुमार उपाध्याय र संघीय सांसद अतहर कमाल मुसलमानको प्रभाव रहेको क्षेत्रसमेत मानिन्छ । दुवै नेता संस्थापन पक्षमा खुल्दै आएका छन् ।

क्षेत्र नम्बर २ को अधिवेशन के रोकिनुको कारण थाहा नभएको क्षेत्रीय सभापतिका उम्मेदवार तथा जिल्ला प्रवक्ता वीरेन्द्र मिश्रले बताए । मिश्रलाई सभापति पदका दुई आकांक्षी गंगा विष्ट र माधव पराजुलीले समर्थन गरेपछि निर्वाचनमा कडा प्रतिस्पर्धा हुने आकलन गरिएको थियो । 



मिश्रले संस्थापन पक्षको तर्फबाट उम्मेदवारी दिएका छन् । पौडेल पक्षबाट बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । यो निर्वाचन क्षेत्र जिल्ला सभापति आचार्यको पकड क्षेत्र मानिन्छ ।

क्षेत्र नम्बर ३ मा दुवै सभापतिका उम्मेदवार विवादमा परेका छन् । संस्थापन पक्षका उम्मेदवार ब्रह्मानन्द उपाध्यायलाई पौडेल पक्षका हरि पोख्रेल पक्षले लेबी नतिरेको भन्दै उजुरी गरेपछि विवाद सुरु भएको थियो । 



अघिल्लो स्थानीय निर्वाचनमा शिवराज नगरपालिकाको उपमेयर पदमा बागी उम्मेदवारी दिएका पोखरेललाई अनुशासन समितिले कारबाही गरेकाले मतदाता नामावली सूचीबाट नाम हटाउन उजुरी परेको थियो । भदौमा उजुरी परे पनि पोखरेलले जिल्ला अध्यक्षको तर्फबाट उम्मेदवारी दिएका थिए । 

  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १२:५६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया