वर्तमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव छैन : खेलकुदमन्त्री

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले हाल विद्यमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव नभएको बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र राष्ट्रिय टिमका खेलाडीबीच भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गहतराजले बजेटमा खेल क्षेत्रलाई उपेक्षा गरीएको बताएका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा मन्त्रालयकै सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मन्त्रालयको स्तर उकास्न अपरिहार्य रहेको बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाललाई पहिचान गराउने खेलाडी र समग्र खेल क्षेत्रका लागि राज्यले  न्यून मात्रामा बजेटको व्यवस्था गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले बजेटको दायरालाई फराकिलो बनाउनुपर्ने बताएका हुन् ।

खेल क्षेत्रमै आफ्नो उर्जावान समय बिताएका खेलाडीहरूलाई राज्यले उचित व्यवस्थापन गर्न नसकेको उल्लेख गर्दै मन्त्री गहतराजले भने, 'राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक जित्न सफल हालसम्मका सबै खेलाडीहरूको उचित व्यवस्थापनका लागि गहन छलफल गरिरहेका छौँ ।'

खेलाडीहरूले खेल क्षेत्रमै जीवन देख्ने वातावरण तयार गर्न मनोबल, खेल पूर्वाधारको विकास तथा खेलाडीहरूको व्यवस्थापनमा राज्य गम्भीर हुनुपर्नेमा मन्त्री गहतराजले जोड दिए । आफूले मन्त्रालय सम्हालेलगत्तै खेलाडीको व्यवस्थापनका लागि विभिन्न चरणमा छलफल चलाएको उल्लेख गर्दै खेल क्षेत्रको विकासका लागि निजी क्षेत्रको लगानी बढाउन राज्यले विश्वासको वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।

विभागीय टिमले नेपालमा खेलाडी उत्पादन तथा संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै मन्त्री गहतराजले प्रशंसासमेत गरे ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मन्त्रालयले सक्षम नेतृत्व पाएकाले खेल क्षेत्रको उल्लेखनीय विकास हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे । नयाँ खेलाडी उत्पादन तथा पुराना खेलाडीहरूको व्यवस्थापनमा विभागीय टिमको भूमिका प्रशंसायोग्य रहेको उल्लेख गर्दै डा. रेग्मीले आगामी दिनमा समेत त्यस प्रकारका गतिविधिलाई निरन्तरता दिन आग्रह गरे ।



५० बढी खेलाडीको सहभागिता रहेको कार्यक्रममा विभागीय टिम (नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी) तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले हालसम्म गरेका खेलकुद गतिविधि र उपलब्धिका बारेमा रिपोर्टिङ गरेका थिए ।



  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १९:१०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया