झापामा ‘सुपारी जोन’ कार्यक्रम

झापा- कृषिलाई व्यवसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले झापामा धान र रबरसँगै ‘सुपारी जोन’ कार्यक्रम अघि बढाइएको छ । सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला भएकाले सरकारले झापामा सुपारी जोन कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । 

मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकालाई समेटेर ‘सुपारी जोन’ कार्यक्रम लागू गरिएको जोनका प्रमुख राजेन्द्र खरेलले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्थापना भएको ‘सुपारी जोन’मा किसानलाई सुपारी खेतीतर्फ आकर्षित गर्नका लागि अनुदान तथा प्रोत्साहन दिन चालु आवमा ३० लाख विनियोजन गरिएको छ । 

जिल्लामा सुपारीको व्यावसायिक खेतीबाट २० हजार कृषक लाभान्वित भएको खरेलले बताए । हाल दुई हजार ६ सय ३१ हेक्टर जग्गामा गरिएको सुपारी खेतीबाट वार्षिक नौ हजार सात सय १० मेट्रिक टन सुपारी उत्पादन भइरहेको छ । ‘सुपारी जोन कार्यक्रम सञ्चालनपछि उत्पादन बढ्ने, यसमा आश्रित किसानले नयाँ प्रविधि, सिँचाइ, मल र ऋण पाउनेछन्,’ खरेलले भने । बढी सुपारी उत्पादन हुने मेचीनगरका चार वडा, बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकाको दुई हजार हेक्टर क्षेत्रफलमा सुपारी खेती भइरहेको छ ।

हालसम्म किसानले परम्परागत तरिकाले सुपारी खेती गर्दै आएकामा अब सुपारी जोनमार्फत प्राविधिक सेवा, प्रशोधन उद्योग, बजार र अनुदान बढी मात्रामा पाइने अपेक्षा गरिएको सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले बताए । परियोजनामार्फत सुपारीखेती गर्ने किसानलाई सरकारले प्रयोगशाला सेवामा ८५ प्रतिशत, कृषि औजार तथा उपकरणमा ५० प्रतिशत, साना सिँचाइ पूर्वाधारमा ८५ प्रतिशत तथा कृषि व्यवस्थापन सेवा पूर्वाधारमा ८५ प्रतिशत अनुदान प्रदान गर्नेछ । ‘सुपारी जोन कार्यक्रमले बजारीकरणको समस्या हल हुनेछ,’ खतिवडाले भने । 

सुपारी किसान विश्वनाथ ढकाल तीन वर्षदेखि दुई सय ५० क्विन्टल सुपारी निर्यात हुन नसक्दा गोदाममै थन्किएको बताउँछन् । ‘सरकारले किसानलाई बजारीकरणका लागि सघाउनुपर्छ,’ उनले भने । जिल्लामा धान जोन कार्यक्रम २०७२ सालदेखि तथा रबर र सुपारी जोन कार्यक्रम चालु आवदेखि लागू भएको हो । 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७५ शुक्रबार १३:५२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया