हिटलरको याे रूप, जसलाई देखेर दुनियाँ दंग छ

झट्ट हेर्दा एक बालिकालाई अँगालो हालेका अधबैँसे पुरुषको यो फोटो सुन्दर र सामान्य देखिन्छ । तर, यो फोटोपछाडिको कहानी भने सामान्य छैन । 

सन् १९३३ मा हेनरिक हाेफम्यानले खिचेको यो फोटो यसै साता अमेरिकामा ११ हजार ५ सय २० डलरमा लिलाम भयो । 

यो फोटो हो, जर्मन तानासाह एडोल्फ हिटलर र यहुदी मूलकी बालिका रोजा बनाइल निनाओको । 

हिटलर तिनै हुन्, जसले ६० लाख यहुदीको हत्या गरे । बालक, वृद्ध केही नभनी यहुदीको ‘जिनोसाइड’मा उत्रेका हिटलरको कुनै यहुदी मित्र पनि थिइन् भन्ने सुन्दा आश्चर्य लाग्छ । 

यी बालिकासँग हिटलरले वर्षौंसम्म मित्रता राखे । वरिष्ठ नाजी अधिकारीहरूको हस्तक्षेपपछि भने उनीहरूको सम्बन्धमा पूर्णविराम लाग्यो । 

लिलामीकर्ता बिल प्यानागोपुलस हिटलरको हस्ताक्षरसहितको यो फोटो यसअघि कसैले नदेखेको दाबी गर्छन् । 



फोटोमा हिटलर र बालिकाबीचको सम्बन्ध वास्तविक देखिनु यसको विशेषता हो । अन्यथा, हिटलर प्रायः प्रचारका निम्ति बालबालिकासँग फोटो खिचाउँथे । 

हिटलरको प्रेम



२० अप्रिल १९३३ । आफ्नो जन्मदिन मनाएर आमा क्यारोलिनसँग घुम्न निस्केकी रोजा आल्प्सस्थित हिटलर निवास ‘बर्गोफ’बाहिर जमेको भिडमा सामेल हुन्छिन् ।

भित्र हिटलर जन्मदिन मनाइरहेका हुन्छन् । जब हिटलरले सोही दिन रोजाको पनि जन्मदिन हो भन्ने थाहा पाउँछन्, रोजा र उनकी आमालाई आफ्नो निवासमा बोलाउँछन् ।

जन्मदिनका अवसरमा भर्खरै चिनजान गरेका दुई मित्रले संयुक्त फोटो खिचाउँछन्, जुन ८५ वर्षपछि १३ लाख रुपैयाँभन्दा बढीमा लिलाम हुन्छ । 

केही समयपछि थाहा हुन्छ, रोजाकी आमा यहुदी हुन् । तर, यसले हिटलर र रोजाको मित्रतामा केही फरक पार्दैन । हिटलर स्वयं यो तस्बिर आफ्नो हस्ताक्षरसहित रोजालाई उपहार दिन्छन् । तस्बिरमा लेख्छन्, ‘प्रिय रोजा निनाओ, एडल्फ हिटलर, म्युनिख, १६ जुन, १९३३ ।’

फोटो हेर्दा लाग्छ, रोजाले यसमा आफ्नो स्ट्याम्प लगाइन्, कालो र सेतो रङको फूल बनाइन् । 

१९३५ देखि १९३८ सम्म रोजाले हिटलर र उनी निकट विलहेम ब्रक्नरलाई १७ भन्दा बढी चिठी लेखिन् । पछि, हिटलरका निजी सचिव मार्टिन बार्मनले रोजा र उनकी आमालाई हिटलरसँग सम्पर्क नराख्न आदेश दिए । 

फोटोग्राफर हाेफम्यान मान्छन् कि, यो आदेशबाट हिटलर खुसी थिएनन् । 

आफ्नो पुस्तक ‘हिटलर माई फ्रेन्ड’मा हाेफम्यानले लेखेका छन् कि हिटलरले उनीसँग भनेका थिए, ‘केही यस्ता मानिस पनि छन्, जसको वास्तविक कौशल मेरा सारा खुसी बर्बाद गर्नु हो ।’ 

दुःखद् अन्त्य 

हाफम्यानले १९५५ मा प्रकाशित उक्त पुस्तकमा हिटलर र रोजाको अर्को फोटो पनि राखेका छन्, जसको क्याप्सन छ – ‘हिटलरको प्रेम : उनी उसलाई बार्गोफ (हिटलर निवास) मा देख्न चाहन्थे, तर कसैलाई पता चल्यो कि ऊ आर्यवंशकी होइन ।’

मार्टिन बार्मनले रोजा र हिटलरको सम्पर्क बन्द गराएको पछिल्लो साल द्वितीय विश्वयुद्ध सुरु भयो ।

६ वर्षपछि युद्ध रोकिँदासम्म ६० लाख यहुदीको ज्यान गइसकेको थियो । 

युद्धकै बीच रोजाको पनि मृत्यु भयो । हिटलरसँग भेट भएको एक दशकपछि १९४३ मा म्युनिखको एक अस्पतालमा पोलियोले रोजाको ज्यान लियो । त्यतिखेर उनी १७ वर्षकी थिइन् । 
 

  • प्रकाशित मिति : मंसिर १, २०७५ शनिबार १८:५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया