रुम नम्बर ३०१ : जसले दियो ओलीलाई सर्वसम्मतिको अधिकार, रावलको असन्तुष्टि कायमै

शुक्रबार चितवनको नारायणी किनारामा भव्य उद्घाटन गरिएको एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सौराहामा आजबाट सुरु भएको छ । 

विधान महाधिवेशन सकिसकेको एमालेले यो महाधिवेशनलाई नेतृत्व छनोटमा मात्र केन्द्रित बनाएको छ । तर, आकांक्षीहरुको उचित व्यवस्थापन हुन नसक्दा पदाधिकारी चयनको विषय पेचिलो बन्दै गएको छ । 

केपी शर्मा ओली आफ्ना विपक्षीलाई आफू शक्तिशाली भएको देखाउन चाहन्छन् । तर, उनको चाहनामा उपाध्यक्ष भीम रावलले ब्रेक लगाइदिन खोजेका छन् । एमालेमा सर्वशक्तिमान बनेर अझै एक कार्यकाल पार्टी चलाउने भोक ओलीमा देखिन्छ । यो महाधिवेशनबाट पुनः आफ्नो नेतृत्व दोहोर्याउने तयारीमा उनी व्यग्रताका साथ लागेका छन् ।

महाधिवेशनको अघिल्लो दिन नै चितवन आइपुगेका अध्यक्ष ओली चितवन आइपुगेदेखि नै नेतृत्वको आकांक्षीको व्यवस्थापनमा लागेका छन् । यद्यपि उनको प्रयासले मूर्त रुप भने पाइसकेको छैन । 

बिहानैदेखि ओलीको सकस

महाधिवेशनको बन्दसत्र सौराहस्थित होटल सेभेन स्टारमा आयोजना भएको थियो । जहाँ अध्यक्ष ओली दिउँसो झण्डै साढे १२ बजेतिर पुगेका थिए । उनी सौराहकै होटल पार्क सफारीमा बसेका थिए । 



बिहान १० बजे बन्द सत्र आयोजना हुने बताउँदै गएराति नै एमाले प्रचार विभाग योगेश भट्टराईले पत्रकारलाई समयसमै आउन बताएका थिए । 

तर, ओली ढिलो पुगे । किनभने सहमतिको वातावरण तयार गरेर मात्र ओली बन्दसत्रस्थल आउन चाहन्थे । जसका लागि उनले विभिन्न नेतालाई आफू बसेकै होटलमा बोलाएर छलफल थाले । शुक्रबार बिहान नारायणी किनार जानुअघि पनि ओलीले नेताहरुलाई बोलाएर सहमतिको प्रयास गरेका थिए । 



सहमति जुटाउन नसकेपछि नारायणी किनारामा पुगेका ओलीले बेलुकी सौराहा फर्किएर केन्द्रीय कमिटी बैठकको तयारीमा थाले । ८ बजेका लागि बोलाइएको बैठक डेढ घन्टा ढिला सुरु भयो र मध्यरातमा सकियो । 

केन्द्रीय कमिटी बैठकपछि राति नै सबै पदाधिकारी सर्वसम्मत चयन हुने जानकारी भट्टराईले गराए । त्यतिबेलै एमालेका एकजना सांसदले पत्रकारसँग हाँस्दै भनेका थिए, सर्वसम्मति हो कि होइन त भोलि मात्र थाहा होला ।

उनको त्यो भनाइको आशय केन्द्रीय कमिटी बैठकमा सहमतिको वातावरण नबनेको भन्ने हुन्थ्यो ।  

अनि सेभेन स्टारको रुम नम्बर ‘३०१’

बन्दसत्र आयोजना गरिएको होटलमा ओली तोकिएको समयभन्दा झण्डै ३ घन्टा ढिला पुगे । त्यसअघि उनी पार्क सफारीमै बसेर शीर्ष नेताहरुसँग छलफल गरिरहेका थिए । 

बन्दसत्र आयोजना भएको होटल पुग्ने बित्तिकै ओली रुम नम्बर ३०१ मा पुगे । 

ओली त्यहाँ पुग्दा धमाधम प्रतिनिधिहरु हलमा प्रवेश गरिरहेका थिए । ओली त्यहाँ पुग्नेबित्तिकै उनले आफू बसेको कोठामा धमाधम नेताहरु बोलाउन थाले । 

विशेषगरी ओलीले अध्यक्षमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका रावललाई भेटेर सहमति गराउन खाजेका थिए । 

तर, ओली सेभेन स्टार पुगेपछि रावल भने महाधिवेशनस्थल वरिपरि घुमेर सञ्चारकर्मीसँग भिडिरहेका थिए । उनले गएराति भएको विधान संशोधनको प्रस्तावदेखि केन्द्रीय कमिटीले गरेको निर्णयसम्म आफूलाई थाहा नभएको बताएका थिए, सञ्चारकर्मीसँग । 

झण्डै २ घन्टाभन्दा बढी सोही कोठामा बसेका ओली ४ बज्न लागेपछि मात्र महाधिवेशनको बन्दसत्र आयोजना भएको हलतर्फ निस्किए । 

उनी निस्कँदै गर्दा सञ्चारकर्मीले प्रश्न तेस्र्याए– सहमति भयो ? 

जवाफमा ओलीले यति मात्रै भने–सहमतिमै हुन्छ । 

त्यसपछि बन्दसत्रको हलका औपचारिक कार्यक्रम सकेर ओलीले लामो भाषण गरे । 

केहीबेर अघिदेखि बन्दसत्रको उद्घाटन समारोह सकेर प्रतिनिधि मात्र हलमा रहेका छन् । पार्टीमा लामो समयदेखि असन्तुष्टि दर्ज गर्दै आएका रावलले सम्पूर्ण अधिकार ओलीलाई दिने हलको निर्णयमा असन्तुष्टि राखेका छन् ।

  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार २१:४५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया