फिजीमा बेनिमारामाको दललाई झिनो बहुमत

एजेन्सी- फिजीका प्रधानमन्त्री फ्रान्क बेनिमारामाको फिजीफर्स्ट पार्टीलाई संसदमा झिनो बहुमत प्राप्त भएको छ । फिजीको निर्वाचन आयोगका अनुसार फिजीफर्स्ट पार्टीले संसदमा तीन सिट बढी स्थान जितेको छ । फिजीमा चार दिनअघि संसद्को निर्वाचन भएको थियो । 

बेनिमारामा सन् २००६ देखि फिजीको प्रधानमन्त्री छन् । हाल न्युजिल्यान्डमा रहेका बेनिमारामाले एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै पुनः बहुमत प्राप्त गरी जनताको सेवा गर्ने मौका पाएकाेमा मतदाताप्रति आभार व्यक्त गरेका छन् ।

फिजीफर्स्ट पार्टीले चुनावमा ५०.०२ प्रतिशत मत प्राप्त गरेको छ । उक्त मतका आधारमा फिजीफर्स्ट पार्टीले २७ स्थान जितेको छ । पूर्वप्रधानमन्त्री सिटीवेनी राबुकाको नेतृत्वमा रहेको मुख्य विपक्षी दल सोडेल्पा पार्टीले ३९.८ प्रतिशत मत प्राप्त गरेको छ । साथै, नेसनल फेडेरेसन पार्टीले ७.३८ प्रतिशत मत पाएको छ । ५१ कुल स्थान रहेको फिजीको संसदमा विपक्षी दलले २४ स्थान पाएका छन् । 

यसअघि सन् २०१४ मा भएको संसदीय चुनावमा फिजीफर्स्ट पार्टीले ५९.१७ प्रतिशत मत प्राप्त गरेको थियो । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले यसपटकको चुनाव विगतको तुलनामा बढी स्वच्छ र पारदर्शी भएको बताएका छन् ।

सन् २००६ मा रक्तपातविहीन विद्रोह गरी सत्तासीन भएका बेनिमारामाले पहिलोपटक सन् २०१४ मा चुनाव गराएका थिए । विगतमा सैनिक सेवाबाट राजनीतिमा प्रवेश गरे पनि उनले पछिल्ला वर्षहरूमा फिजीको राजनीतिलाई प्रजातान्त्रिकीकरण गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर २, २०७५ आइतबार १४:३१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया