चीन–अमेरिका विवादले जारी हुन सकेन एपेक बैठकको घोषणापत्र

पपुआ न्युगिनी– पपुआ न्युगिनीमा भएको एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक)को शिखर बैठक अन्ततः संयुक्त घोषणापत्र जारी नगरी समाप्त भएको छ । विश्वका नेताहरुको कटुतापूर्ण सम्बन्धका कारण घोषणपत्र जारी हुन नसकेको हो । सो बैठकपछि सम्मेलनमा सहभागी विश्वका दुई महाशक्ति राष्ट्र चीन र अमेरिकाबीचको मतभेद फेरि सतहमा आएको छ । 

गिनीको पोर्ट मोर्सबीमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को दुईदिने शिखर बैठक भएको थियो । बैठकमा एपेकका २१ सदस्य राष्ट्रका सरकार प्रमुख र प्रतिनिधिको सहभागिता थियो । अधिकारीका अनुसार चीन र अमेरिकाबीच मुख्यगरी विश्व व्यापार संगठनको भूमिकाका बारेमा उत्पन्न विवादले उग्र रूप लिएको थियो । 

सदस्य राष्ट्रको सहमतिमा सम्मेलनको अध्यक्षता गरेका पपुआ न्युगिनीका प्रधानमन्त्री पिटर ओ–निलले अध्यक्षको वक्तव्य मात्र जारी गरेका थिए । ठूलो संख्यामा उपस्थित पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिँदै ओ–निलले भने, चीन र अमेरिकाबीचको तनावका कारण विश्व नै चिन्तित छ । प्रधानमन्त्री ओ–निलले नेताहरुको विवादले संयुक्त घोषणापत्र सार्वजनिक हुन नसकेको र त्यसबाट आफूलाई व्यक्तिगत रूपमा दुःख लागेको बताए । 

एपेक स्थापनाको २९ वर्षमा पहिलोपटक नेताहरुले संयुक्त घोषणापत्र सार्वजनिक गर्न नसकेको बताइएको छ । विश्व अर्थतन्त्रको करिब ६० प्रतिशत हिस्सा यही समूहको नियन्त्रणमा छ । मस्यौदा घोषणापत्रमा चीनको अनुचित व्यापारिक अभ्यासका विरुद्धमा कडा शब्द राख्नुपर्ने अमेरिकी माग थियो । तर, चीनले भने अमेरिकी संरक्षणवादको विरोध गर्न चाहेको थियो । 

यसै वर्ष मात्र संयुक्तराज्य अमेरिकाले २ सय ५० अर्ब अमेरिकी डलरबराबरका चिनियाँ सामानमा करवृद्धि गरेको छ । प्रतिशोधस्वरुप चीनले पनि अमेरिकी वस्तु तथा सेवामा करवृद्धि गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सम्मेलनका क्रममा व्यापारका बारेमा भिन्न धारणा आउने कुरामा आफूलाई आश्चर्य नलागेको बताए । अमेरिकी उपराष्ट्रपति माइक पेन्स र चिनियाँ राष्ट्रपति सी जिनपिङले शनिबारको उद्घाटन समारोहमा सम्बोधन गर्दा एक–अर्काप्रति आक्षेप लगाएका थिए । 

उपराष्ट्रपति पेन्सले सी र चीनप्रति सहानुभूति राखे पनि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमाथि बौद्धिक सम्पत्ति चोरी गरेको, जबर्जस्ती प्रविधि हस्तान्तरण गरेको तथा अनुचित व्यापारिक शैली अपनाएको आरोप लगाए । उनले विकासशील मुलुकलाई पूर्वाधार निर्माणका नाममा ऋण दिएर चीनले अरू देशलाई ऋणको जालोमा पारेको आक्षेपसमेत लगाए । 



राष्ट्रपति सीले अमेरिकी संरक्षणवादले पारस्परिक सहयोगलाई रोकेको बताए । उनले दोस्रो विश्वयुद्धपछि स्थापित विश्व व्यापार संगठनलाई आफ्ना निहित स्वार्थी एजेन्डा पूरा गर्ने संस्थाका रूपमा हेर्न नहुने बताए । 



  • प्रकाशित मिति : मंसिर २, २०७५ आइतबार १६:४७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया