अरुको पार्टीको चिन्ता छाडौँ, आफ्नो पार्टी एकताबद्ध गरौँ : प्रधानमन्त्री देउवा
नेतृत्व गर्न नहतारिन विश्वप्रकाश र प्रकाशशरणलाई आग्रह

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । मंगलबार सुवर्णशमशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले अरुको पार्टीको चिन्ता नगर्न आग्रह गरेका हुन् । 

विगतका दिनमा पार्टी भित्रै अन्तरघात भएको स्मरण गर्दै देउवाले अब एकताबद्ध भएर पार्टीलाई अघि बढाउनुपर्ने बताए ।  प्रधानमन्त्री देउवाले अरुको पार्टीमा आँखा लाउन छोडेर आफ्नो पार्टीलाई अरुको भन्दा ठूलो पार्टी बनाउन जोड दिनुपर्ने बताए । 

प्रधानमन्त्री देउवाले भने, हाम्रो पार्टी बनाउनेतिर लागौँ, अरुको पार्टी कस्तो छ ? आँखा धेरै लगाउनु पर्दैन, आफ्नो पार्टी बनाउनेतिर लागौँ । अरुको पार्टीको चिन्ता उनीहरुलाई गर्न दिनुस् न किन हामी गर्ने ? आफ्नो पार्टीको चिन्ता गरौँ, आफ्नो पार्टी बनाऊँ । उहाँहरुको भन्दा ठूलो पार्टी बनाऊँ ।’

प्रधानमन्त्री देउवाले चाँडो गरिएको निर्णयले पछुताउनुपर्ने भन्दै कुनै पनि निर्णय गर्दा सोच विचार गर्नुपर्ने बताए । नेतृत्व र निर्णय गर्ने अधिकार सबैको आउने भन्दै विश्वप्रकाश शर्मा र प्रकाशशरण महतलाई नेतृत्व गर्न नहतारिन आग्रह गरे । प्रधानमन्त्री देउवाले बुढापाकालाई अर्ती दिनुभन्दा बुढापाकाबाट अर्ती लिन सुझाए । 

प्रधानमन्त्री देउवाले भने, ‘अहिले हाम्रो विश्वप्रकाशले अति महत्वपूर्ण कुरा उठाउनु भएको छ । उहाँले आफ्नो बेलामा गर्नुभयो भने उहाँलाई धन्यवाद दिनुहोस् तपाईंहरुले । उहाँको समयमा उहाँले कति गर्नुहुन्छ । अरुलाई अर्ती दिन सजिलो छ, आफूले गर्न गाह्रो छ । उहाँलाई आफ्नो बेलामा गरेर देखाउनु होला भनेर शुभकामना दिन चाहन्छु ।’


त्यस्तै प्रकाशशरण महतको सन्दर्भमा बोल्दै उनले भने, ‘महतजीले पनि भन्नुभयो, निर्णय नै गर्न सक्दैन निर्णय ढिलोढिलो गर्छ भनेर । निर्णय भन्दैमा जथाभावी गर्नु, जे पायो त्यही त गर्नु भएन नि ! निर्णय भनेको सोचविचारले गर्नुपर्छ । निर्णय गरेर पछुताउनुभन्दा ढिलो निर्णय गर्नु बेश हुन्छ ।’ 



बुढापाकाको अर्ती सुनेर काम गर्न आग्रह गर्दै उनले भने, ‘हतार नगर्नुस्, गर्नुभयो भने बिग्रिन्छ । बिपीले हतार गर्नुभएन, कृष्णजीले हतार गर्नुभएन, पालो आउँछ । तपाईंको पालो आइहाल्छ हतार नगर्नुस् ।’

प्रधानमन्त्री देउवाले राजनेता सुवर्ण समशेर जबराले पार्टी र प्रजातन्त्रका लागि दिएको योगदानलाई बिर्सन नसकिने बताए । 



  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १८:३५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया