बक्स अफिसका प्रतीक्षित ६ नेपाली चलचित्र

कोरोना महामारीका कारण सुनसान रहेका नेपाली सिनेमा घर तिहारको समयमा भने भरिभराउ देखिए । बलिउड चलचित्र ‘सूर्यवंशी’ ले फिल्म हल र नेपाली दर्शकबीचको दूरी मेटाइदियो । यो चलचित्रको प्रदर्शनले माहोल पर्खिरहेका नेपाली फिल्म निर्मातालाई आँट दियो । ‘सूर्यवंशी’ पछि भने फेरि नेपाली सिनेमा घर सुनसान छन् । हलको माहोल फर्काउन केही चलचित्र प्रतीक्षित मानिएका छन् । 

प्रतीक्षित ​ मानिएका तथा आशा गरिएका फिल्मले पनि प्रदर्शन मिति तय गरेपछि उद्योगसँग सरोकार राख्नेहरू आशावादी देखिएका छन् । फिल्म उद्योगलाई चलायमान बनाउन सक्ने अपेक्षा गरिएको चलचित्रमध्ये एक हो प्रेमगीत–३ । नेपालीसँगै हिन्दी भाषामा पनि डबिङ गरिएको यो चलचित्रले १३ फागुनलाई प्रदर्शन मिति पक्का गरेको छ ।  

सन्तोष सेनले निर्माण तथा निर्देशन गरेको यो चलचित्रमा प्रदीप खड्का, सुनिल थापा, शिव श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । प्रेमगीत–३ मार्फत मनिष राउत र क्रिष्टिना गुरुङले चलचित्र उद्योगमा डेब्यु गर्दै छन् । ‘प्रेमगीत’ का अघिल्ला सिरिजलाई दर्शकले राम्रो रुचाएका थिए । त्यसैले पनि यो चलचित्रलाई लिएर उद्योग आशावादी देखिएको छ । प्रेमगीत–३ मा सन्तोषसँग निर्देशनमा सहकार्य गरेका निर्देशक छेतेन गुरुङको निधन भइसकेको छ । छेतेनका दर्शक उनको काम अन्तिमपटक पर्दामा हेर्न पर्खिरहेका छन । 

अघिल्ला २ सिरिजमा ‘चपली हाइट’ ले राम्रो चर्चाका साथै पैसा कमायो । सो चलचित्रको तेस्रो सिरिजले पनि उद्योगलाई केही चलायमान बनाउने आशा गरिएको छ । अर्जुन कुमारले निर्माण गरेको चलचित्र ‘चपली हाइट’ को पहिलो सिरिजको निकै चर्चा भएको थियो । औसत व्यापार गरेको दोस्रो सिरिजले पनि बक्स अफिसमा मुनाफा नै कमायो । तेस्रो सिरिजले पनि हल र दर्शकको दूरी मेट्ने आशा गरिएको छ । 

यो चलचित्र निकेश खड्काले निर्देशन गरेका हुन् । पुस २ गतेलाई प्रदर्शन मिति तय गरेको ‘चपली हाइट–३’ मा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्टलगायत कलाकारले अभिनय गरेका छन् । झण्डै डेढ करोड लगानीमा बनेको चलचित्रलाई लिएर अर्जुन कुमार पनि आशावादी छन् । यही मितिमा साउथ फिल्म प्रदर्शनमा आउने भएपछि उनी आक्रोशित पनि देखिएका छन् । 

सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ ले पनि दर्शकलाई हलसम्म फर्काउने आशा गरिएको छ । १९ माघलाई प्रदर्शन मिति तय गरेको यो चलचित्रमा छुटेको जोडी सुदर्शन र अभिनेत्री पूजा शर्माको सहकार्य दर्शकले फेरि एकपटक देख्न पाउनेछन । प्रेम गीतको टाइटल गीतबाट नाम सापटी लिएर निर्माण गरिएको यो चलचित्रको पहिलो सिरिजले बक्स अफिसमा राम्रो चर्चा पाएको थियो । 



‘म यस्तो गीत गाउँछु’ को दोस्रो सिरिजले पनि बक्स अफिसमा राम्रो चर्चा पाउने युनिटको अपेक्षा छ । यो चलचित्रमा पल शाह, पूजा शर्मा, दिनेश डीसीलगायतका कलाकारले अभिनय गरेका छन् । 

सुदर्शनकै निर्देशनमा बनेको अर्को चलचित्र ‘सम्हालिन्छ कहिले मन’ पनि प्रतीक्षित ​चलचित्र मध्येको एक हो । यो चलचित्रमार्फत दर्शकले पुनः आकाश श्रेष्ठ र पूजा शर्माको जोडीलाई देख्न पाउने छन । चलचित्रमा काम गर्दागर्दै नजिकिएका यो जोडीको प्रेम टुटेको खबर फिल्म नचल्दै सार्वजनिक भइसकेको छ । यस चलचित्रमा आकाश र पूजाका साथमा सोनम तोप्देन पनि शीर्ष भूमिकामा देखिने छन् । सुदर्शनले यो चलचित्रको भने प्रदर्शन मिति तय गरेका छैनन् । 



अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्र ‘ए मेरो हजुर–४’ पनि दर्शकले पर्खिएको अर्को चलचित्र हो । २५ चैतलाई प्रदर्शन मिति लय गरेको यो चलचित्रमा अनमोलको जोडीका रूपमा झरना थापाकी छोरी सुहाना थापा देखिने छिन् । अनमोल र सुहानाले ‘ए मेरो हजुर–४’ को अघिल्लो सिरिजमा पनि स्क्रिन शेयर गरिसकेका छन् । दर्शकले राम्रै रुचाएको सो सिरिज बक्स अफिसमा सफल चलचित्रको सूचीमा दर्ज भएको थियो । त्यसैले पनि पछिल्लो सिरिजलाई दर्शकसँगै हल सञ्चालकले पनि कुरिरहेका छन् । सुनिल थापाले निर्माण गरेको यो चलचित्रलाई झरनाले निर्देशन गरेकी हुन् । 

एक्सनप्रधान चलचित्र ‘लप्पन छप्पन–२’ पनि प्रतीक्षित फिल्मको सूचीमा पर्छ । १३ फागुनलाई प्रदर्शन मिति तय गरेको यो चलचित्र मुकुन्द भट्टले निर्देशन गरेका हुन् । यहि मितिमा अर्को चलचित्र ‘प्रेम गीत–३’ले पनि प्रदर्शन मिति पक्का गरेकाले ‘लप्पन छप्पन–२’ को प्रदर्शन मिति सर्ने सम्भावना पनि छ । यो चलचित्रमा गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरीलगायत कलाकारले अभिनय गरेका छन् ।

ठूलो ब्यानर र बजेटका चलचित्रले धमाधम प्रदर्शन मिति तय गर्दैगर्दा विश्वमा कोरोनाको नयाँ भेरियन्ट सुरु भइसकेको छ । एकातिर कोरोना महामारीको नयाँ भेरियन्ट सुरु र अर्कोतिर आशा गरिएका फिल्मकै प्रदर्शन मिति जुध्न थालेपछि निर्माता पुनः अन्योलमा पर्न थालेका छन् । स्थिति अहिले जस्तै सहज हुँदै गएको खण्डमा माथि उल्लेख चलचित्रले उद्योगलाई पुरानै लयमा फर्काउने सम्भावना छ । 

  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार ९:५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया