राप्रपाका तीन अध्यक्षको एकै स्वर : पार्टीको बृहत्तर हितका लागि त्याग गर्न तयार छौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीको बृहत्तर हितका लागि आफूहरु त्याग गर्न पनि तयार रहेको बताए​का छन् । बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टी एकताको महाधिवेशनमा बोल्दै उनीहरुले पार्टीमा फुट आउन नदिने प्रतिबद्धता जनाए । 

अध्यक्षत्रय थापा, राणा र लोहनीले अध्यक्ष थापाले महाधिवेशनबाट पार्टीलाई एकताबद्ध बनाउने प्रतिज्ञा गर्न पनि पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे । उनले नेतृत्व चयन सकेसम्म सर्वसम्मत हुने, नभए लोकतान्त्रिक विधि र प्रक्रियालाई मानेर अघि बढने स्पष्ट पारे । अध्यक्ष थापाले भने, ‘यथासम्भव सर्वसम्मतिका आधारमा नेतृत्व चयन गर्ने हामीले प्रयास गर्नुपर्दछ । कथमकदाचित सहमतिबाट हामीले नेतृत्व छनोट गर्न सकेनौ भने पनि प्रजातान्त्रिक अभ्यास र विधिबाट नेतृत्व छानेर पार्टीलाई आगामी दिनमा एकताबद्ध ढंगबाट अघि बढाउने प्रतिज्ञा तपाईं–हामी सबैले गर्नुपर्दछ ।’

अर्का अध्यक्ष राणाले पार्टी एकतामा खतरा उत्पन्न हुन नदिन आफूले अध्यक्षमा दाबी नगर्ने निर्णय लिएको बताए । उनले अध्यक्षमा आफू विजय हुनेभन्दा पनि पार्टीलाई एकताबद्ध बनाउने कुरालाई आफूले प्राथमिकता दिएको बताए । अध्यक्ष राणाले भने, ‘मैले अहिलेको अवस्थामा पार्टीको बृहत्तर हित र एकताका लागि आफ्नो दाबी छोडनुपर्छ भन्ने टुंगोमा पुगेँ । त्यो टुंगोमा पुग्दा धेरै साथीहरुले अत्यन्त चित्त दुखाए । तर, मैले आफू विजयी हुनेभन्दा पनि पार्टीलाई एकताबद्ध राखेर अघि बढ्नुपर्ने अवस्थालाई प्राथमिकता दिएर आफूले अध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हुँ ।’

पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूले नयाँ नेतृत्वको चयन गर्नुपर्ने प्रस्ताव अघि सारेको अध्यक्ष डा. लोहनीले बताए । डा. लोहनीले अध्यक्षमा राजेन्द्र लिङदेनलाई समर्थन गर्ने घोषणा यसअघि नै गरिसकेका छन् । पार्टीमा नयाँ युगको सुरुवात महाधिवेशनले गर्नेभन्दै लोहनीले पार्टी फुट्ला कि भनेर चिन्ता नगर्न पनि पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘तपाईहरुले पार्टी फुट्ला कि भन्ने चिन्ता नगर्नुस्, पार्टीमा फुट हुँदैन । अब पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प छैन । त्यही काममा हामी लाग्नेछौं । नेतालाई सम्मान, कार्यकर्तालाई माया गरेर मात्रै पार्टीले मुलुकलाई निकास दिन सक्नेछ ।’

अध्यक्ष लोहनीले राष्ट्रको हित र नेपालका धर्म, संस्कृतिको संरक्षण र संवद्र्धनका लागि आफ्नो पार्टीको विकल्प नरहेको दाबीसमेत गरे । 





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार २१:२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया