छ वर्ष बित्दा पनि शव आएन

भद्रपुर– झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु भएको छ वर्ष बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन । 

पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात् साना छोराछोरी हुर्काउन आर्थिक कठिनाइ भएपछि भद्रशीला २०६५ सालतिर वैदेशिक रोजगारीका लागि साउदी अरब गएकी उनकाे साउदी अरबमै २०६९ पुस ३० गते मृत्यु भएको खबर आएको जेठा छोरा नीरज श्रेष्ठले बताए । 

त्यसबेला साउदी अरबकै अस्पतालमा काम गर्ने एक नेपालीले भद्रशीलाको शव पहिचान गरेर उनका छोरा नीरजलाई फोनमार्फत खबर दिएका थिए । छ वर्षपछि यही मङ्सिर १ गते आमाको शव आउने भनी साउदी अरबबाटै फोन आएपछि शव बुझ्न काठमाडौँ गएका नीरज निराश भएर घर फर्किएका छन् । 

अन्तिम समयमा शव ल्याउने कार्य रद्द भएको खबर काठमाडौँको त्रिभुवन विमानस्थलस्थित इत्तेहाद एयरलायन्सको कार्यालयले जानकारी दिएको नीरजले बताए। ‘आमाको शव मङ्सिर ३ गते साँझ ८ बजे इत्तेहाद एयरलायन्समार्फत साउदी अरबबाट काठमाडौँ ल्याइने पूर्व निर्धारित कार्यक्रम थियो तर अन्तिम समयमा शव ल्याउने कार्य स्थगित भएको एयरलायन्सको काठमाडौँ कार्यालयले बतायो’, श्रेष्ठले भने । 

एयरलायन्सले शव नआउनुको खास कारण भने थाहा नभएको जनाएको श्रेष्ठ बताउँछन् । भद्रशीलाको छ वर्षसम्म सास न लाशको अवस्थाले श्रेष्ठ परिवार चिन्तित छ । मृत्यु भएको खबर आएलगत्तै छोरा नीरजले विभिन्न सरकारी निकाय गुहारेर शव ल्याउन पहल गरेका थिए तर त्यसबेला कसैगरी शव आउन सकेन । मृतक भद्रशीलाका दुई छोरा नीरज र सरोज छन् भने एक छोरी निशा श्रेष्ठ छन् । 

नीरज गाउँमै सानो पसल चलाएर गुजारा चलाउँछन् भने सरोज वैदेशिक रोजगारीका लागि हालै कतार पुगेका छन् । भद्रशीला कुन मेनपावर कम्पनी वा एजेन्टमार्फत वैदेशिक रोजगारीमा गएकी हुन भन्नेसमेत छोराछोरीलाई जानकारी छैन । 

घरेलु कामदारको रूपमा साउदीमा कार्यरत भद्रशीलाले शुरुमा २४ हजार नगद पठाएकी र त्यसपश्चात् चार वर्षसम्म सम्पर्कविहीन भएकाे छोरा नीरजले बताए । लामो समय सम्पर्कविहीन रहेकै अवस्थामा भद्रशीलाको मृत्यु भई अस्पतालमा शव राखिएको भन्ने खबर आएको हो । 

श्रेष्ठ परिवारले शव ल्याउन पहल गरिदिन नेपाल सरकारसमक्ष आग्रह गरेका छन् । नीरजले परराष्ट्र मन्त्रालयमा समेत शव ल्याउने व्यवस्था मिलाइदिनका लागि निवेदन दिएको बताए । ‘हामी सानै थियौँ, बुबा बित्नु भएपछि नागरिकता र राहदानी सबै लिएर विदेश जानुभएको रहेछ’, शव नआएपछि निराश भएका जेठा छोरा नीरज भन्छन्, ‘शव ल्याउन सरकारले नै पहल गरिदिन अनुरोध गर्दछु ।’





  • प्रकाशित मिति : मंसिर ४, २०७५ मंगलबार १२:५२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया