कामु बन्न नदिन प्रधानन्यायाधीश अस्पतालबाट जबरजस्ती डिस्चार्ज भए : बार अध्यक्ष श्रेष्ठ

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनलाई निरन्तरता दिइरहेको छ ।

शुक्रबार पनि सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै एशोसिएसनले आफ्नो आन्दोलन जारी राखेको हो । त्यस क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरा कोरोना पोजिटिभ भएको अवस्थामा स्वास्थ्य प्रोटोकल पालनासमेत नगरी अरु न्यायाधीशलाई कायममुकायम प्रधानन्यायाधीश बन्न नदिनका लागि जबरजस्ती डिस्चार्ज भएको आरोप लगाए ।

उनले प्रधानन्यायाधीश जबराले संविधानको धारा १२९ को उपधारा ६ बमोजिम कुनै कारणले प्रधानन्यायाधीशले आफ्नो पदको काम गर्न असमर्थ भएमा वा सर्वोच्च अदालतमा उपस्थिति हुन नसकेमा सर्वोच्चका वरिष्ठतम् न्यायाधीशले कायममुकायम भएर काम गर्ने सक्ने व्यवस्था रहेको स्मरण गराउँदै बारले यो विषयमा अगाडि नै ध्यानाकर्षण गराएको प्रष्ट पारे ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भएको पाँच दिनमा नै डिस्चार्ज भएर न्याय सम्पादनको काम गर्नु गलत भएको भन्दै यस्तो गलत कामले आगामी दिनमा सर्वोच्च अदालतमा नराम्रो नजिर बस्ने जिकिर गरे ।

'प्रधानन्यायाधीश जबराले आफूबाहेक अरु न्यायाधीशलाई कायममुकायम बन्न नदिनको लागि अस्पतालबाट जबरजस्ती डिस्चार्ज हुनु भएको हो । उहाँले यस्तो गर्नु गलत हो । यस्तो गलत कामले आगामी दिनमा पनि नराम्रो नजिर बस्नसक्छ' उनले भने ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले कोरोना पोजिटिभ भइ आइसोलेसनमा बसेको व्यक्तिले सर्वोच्च अदालतको प्रशासनिक कामको लागि हस्ताक्षर गर्नु उपयुक्त नहुने बताए । उनले कोरोना प्रोटोकलअनुसार कोरोना पोजिटिभ भएकाले न्यायालयको काम गर्न नहुने बताए ।





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १६:४०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया