कीर्ति पछ्याइरहने राेनाल्डाे

पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डो फुटबल जगतका चम्किला नक्षत्र हुन् । उनी आफ्नो खेल कौशलबाट विश्वका करोडौं समर्थकको मनमा बस्न सफल छन् । याे पनि भन्ने गरिन्छ कि राेनाल्डाेकाे जस्ताे स्टारडम अन्य कुनै खेलाडीकाे छैन । चाहे त्याे फुटबल हाेस् या अन्य खेल ।

रोनाल्डोले फुटबलका कयौं कीर्तिमान आफ्नो नाममा गरेका छन् । ती मध्येकै एक हो- व्यावसायिक करिअरमा ८०० गोल ।

रोनाल्डोले गत बिहीबार इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा आर्सनलविरुद्ध म्यानचेस्टर युनाइटेडका लागि दुई गोल गर्दै ८०० गोलको आंकडा पार गरेका हुन्। आर्सनलविरुद्ध ५२औं मिनेटमा गरेको गोल रोनाल्डोको करिअरको ८००औं गाेल थियो । उनले देश र क्लबबाट लागि यो उपलब्धि हासिल गरेका हुन् । 

आफ्नो व्यावसायिक करिअरको अधिकांश समय स्पेनिस क्लब रियल मड्रिडमा बिताएका रोनाल्डोले ४३८ खेल खेल्दा ४५० गोल गरे । 

करिअरको सुरुवातमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपी लिस्वोनका लागि ३१ खेलमा ५ गोल गरेका रोनाल्डोले इंग्लिस क्लब म्यानचेटर युनाइटेडका लागि २९२ खेलमा ११८ गोल गरे ।

रोनाल्डोले इटालियन क्लब युभेन्टसका लागि १२४ खेलमा १०१ गोल गर्दा जारी सिजनमा युनाइटेडका लागि १६ खेलमा १२ गोल गरिसकेका छन् । यसैगरी रोनाल्डोले पोर्चुगलका लागि ११५ गोल आफ्नाे नाममा लेखाइसकेका छन् । उनले १८४ खेलमा ११५ गाेल गरेका हुन् ।



रोनाल्डोको बाल्यकाल 

रोनाल्डोको जन्म सन् १९८५ फेब्रुअरी ५ मा पोर्चुगलको फुन्चलमा भएको थियाे । उनले आमा मारिया डोलोरेस डस सान्तोस र बुबा भिभिरोस डास एभिरोको चौथो सन्तानका रूपमा जन्म लिएका थिए । रोनाल्डोका वास्तविक नाम क्रिस्टियानो रोनाल्डो डस सान्तोस एभिरो हो । उनका १ दाजु र २ दिदी छन् ।



रोनाल्डोले बच्चा बेलामा सन् १९९२ देखि १९९५ सम्म क्लब एन्ड्रोरिन्हाका लागि खेलेका थिए । १२ वर्षको हुँदा स्पोर्टिङ सिपी लिस्वाेनले तीन दिने ट्रायलका लागि उनलाई बोलाएको थियो । त्यतिबेला स्पोर्टिङले उनलाई १५०० पाण्ड स्टर्लिङमा अनुबन्ध गर्‍याे । 

१५ वर्षको उमेरमा रोनाल्डोलाई मुटुको समस्या देखिएपछि अस्पताल भर्ना गरियो । यस्तो  अवस्थामा डाक्टरले फुटबल नखेल्ने सल्लाह दिएका थिए । लेजको प्रयोगद्वारा रोनाल्डोको मुटुको शल्यक्रिया गरियो । शल्यक्रिया भएको केही घण्टापछि उनी अस्पतालबाट डिस्चार्ज भएर घर फर्किए । घर आएकाे केही दिनमै उनी प्रशिक्षणमा लागिहाले ।

रोनाल्डोको व्यावसायिक करिअर 

स्पोर्टिङको यु-१६, यु-१७ तथा ‘बी’ टोली हुँदै रोनाल्डोले सन् २००२ मा सिनियर टोलीबाट पोर्चुगलको शीर्ष लिगमा डेब्यु गर्ने अवसर प्राप्त गरे । ब्रागाविरुद्ध मैदान उत्रिँदा उनको उमेर १७ वर्षको थियो । मोरिरेन्से फुटबल क्लबविरुद्ध ३-०को जित निकाल्दा २ गोल गरेपछि रोनाल्डोले विश्व फुटबलको ध्यान आफूतिर तान्न सफल भए । 

सन् २००२-०३ को सिजनपछि रोनाल्डोलाई भित्र्याउन चासो देखाएको क्लबमध्ये एक थियाे- आर्सनल । यसै सिलसिलामा रोनाल्डोले आर्सनलका म्यानेजर आर्सेन वेङ्गरलाई भेटेका पनि थिए । 

सन् २००३ मा स्पोर्टिङले एक मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ३-१ ले हराएपछि म्यानचेस्टरका म्यानेजर एलेक्स फर्गुसनले रोनाल्डोलाई क्लबमा भित्र्याउने चाहना राखे । एलेक्सले उतिबेलै राेनाल्डाेकाे भविष्य चिनिसकेका थिए ।

युनाइटेडले रोनाल्डो भित्र्याउने र १ वर्षपछि लोनमा क्लबमै फर्काउने योजनाका साथ स्पोर्टिङसँग १२.२ मिलियन पाउण्ड स्टर्लिङको प्रस्ताव गरेको थियो । 

सन् २००३ अगस्ट १२ मा रोनाल्डो इंग्लिस क्लब म्यानचेस्ट युनाइटेडमा अनुबन्ध भए । उनले सन् २००३-०४को सिजनमा बोल्टन वान्डरर्सविरुद्धको खेलमा डेब्यु गरे । योसँगै उनी म्यानचेस्टरका लागि खेल्ने पहिलो पोर्चुगिच खेलाडी बने ।
 
नोभेम्बर १ मा पोर्ट्समाउथमाथि ३-० को जित हात पार्दा रोनाल्डोले फ्रिकिकमार्फत् गोल गर्दै प्रिमियर लिगमा आफ्नो गोलको खाता खेलेका थिए ।

सन् २००६-०७ को सिजनमा युनाइटेड लिग च्याम्पियन बन्यो । यो उनको पहिलो प्रिमियर लिग उपाधि थियो ।
 
२००७-०८ मा युनाइटेडलाई युइएफए च्याम्पियन्स लिग उपाधि दिलाउन रोनाल्डोले महत्वपूर्ण भूमिका निवार्ह गरे । 

सन् २००९ मा रोनाल्डो स्पेनिस क्लब रियल मड्रिड पुगे । मड्रिडमा सफल करिअर बिताएर उनी सन् २०१८ मा इटालियन क्लब युभेन्टसमा अनुबन्ध भए । युभेन्टसमा २ सिजन बिताएर रोनाल्डो यसै सिजन युनाइटेड फर्किए ।
 
रोनाल्डोले प्राप्त गरेका अवार्ड तथा उपाधि 

रोनाल्डोले व्यक्तिगत रूपमा थुप्रै अवार्ड हात पारेका छन् । पाँच पटकका बलोन डि’ ओर विजेता उनी एक-एक पटक फिफा प्लेयर अफ इयर तथा फिफा मेन्स प्लेयर अफ द इयर घोषित भएका छन् । 

रोनाल्डोले पहिलोपटक सन् २००८ मा बलोन डी’ ओर अवार्ड जितेका थिए । २००८ मै उनी फिफा वर्ल्ड प्लेयर अफ द इयरबाट पनि सम्मानित भएका थिए ।

पाँच पटक बलाेन बलोन डी’ ओर हात पारेका रोनाल्डोले चारपटक युरोपियन गोल्डेन बुट जितेका छन् । उनी गोल्डेन फुट अवार्डबाट पनि सम्मानित भएका छन् । जुन अवार्ड खेलाडीले मात्र एक पटक प्राप्त गर्छन् । 

प्रिमियर लिगमा एक तथा युरो कपमा २ पटक गोल्डेन बुट जितेका रोनाल्डोले ३ पटक पिचिची ट्रफी हात पारेका छन् । 

रोनाल्डो प्लेयर अफ द सेन्जुरी, बेस्ट पोचुगिज प्लेयर अफ द अल टाइम, युइएफए दशककै उत्कृष्ट पुरुष खेलाडी लगायतका थुप्रै अवार्डबाट सम्मानित भएका छन् ।

रोनाल्डोले देश तथा क्लबका लागि पनि उपाधि जितेका छन् । रोनाल्डोको कप्तानीमा पोर्चुगलले सन् २०१६ को युरो कप र सन् २०१९ मा युइएफए नेसन्स लिग उपाधि उचालेको थियो। 

५ पटक च्याम्पियन्स लिग उपाधि (४ पटक रियल मड्रिडमा तथा एक पटक म्यानचेस्टर युनाइटेडमा) उचालेका रोनाल्डोले ला लिगा, कोपा डेल रे, फिफा क्लब विश्वकप, स्पेनिस सुपर लिग, प्रिमियर लिग, सिरी ‘ए’, युइएफए सुपर कप, सुपर कप इटालिया लगायतका थुप्रै उपाधि हात पारेका छन् । 

रोनाल्डोले अब जित्न बाँकी एक मात्र उपाधि छ- त्यो हो फिफा वर्ल्ड कप । तर, आफ्नो करिअरको अन्त्यतिर आइपुगेका उनका लागि त्यो त्यति सम्भव भने देखिँदैन ।
 
विश्व फुटबलमा स्थापित भइसकेका रोनाल्डोका लागि यतिबेला मुख्य चुनाैती भनेको पोर्चुगललाई सन् २०२२ को विश्वकपमा छनोट गराउनु हाे । 

सिधै विश्वकपमा छनोट हुन नसकेको पोर्चुगललाई विश्वकप पुग्ने अन्तिम विकल्पका रूपमा युरोपियन प्ले अफ रहेको छ । 

यसमा पनि उसले टर्की र इटालीजस्ता बलिया टोलीको चुनौतीलाई पार लगाउनु पर्नेछ । 

  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १५:१३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया