मैले सभापति जिते चुनाव पनि कांग्रेसले जित्छ : देउवा

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक चुनावमा आफू बलियो भएकाले १४ औं महाधिवेशनमा फेरि सभापतिमा उठ्ने घोषणा गरेका छन् । 

सोमबार प्रेस युनियनका आफू निकट सञ्चारकर्मीलाई बालुवाटारमा बोलाएर देउवाले फेरि पनि सभापतिमा उठ्ने र जित्ने दाबी गरेका हुन् ।

६१ जिल्ला अधिवेशन र ६ वटा प्रदेशको अधिवेशनमा आफ्नो पक्षमा बहुमत देखिएलगत्तै देउवाले बालुवाटारमा फेरि सभापतिमा उठ्ने र चुनाव जित्ने घोषणा गरेका हुन् । १ सय ६० निर्वाचन क्षेत्रको अधिवेशन, ६१ जिल्ला अधिवेशन र ६ वटा प्रदेश अधिवेशनमा आफ्नो पक्षको बहुमत रहेको उनको दाबी छ । 

देउवा पक्षले ३१ वटा जिल्ला सभापति जित हात पारेको छ । ६ मध्ये दुई प्रदेशमा सभापति जितेको छ । 

देउवाले सञ्चारकर्मीसँग फेरि पनि सभापति जिते हरेक हप्ता पार्टी कार्यालय गएर जनता र कार्यकर्ताको कुरा सुन्ने प्रतिबद्धता जनाए । ‘यो मेरो अन्तिमपटक हो । फेरि उठ्न मिल्दैन । र, अहिले मैले सभापति जिते भने चुनाव पनि कांग्रेसले जित्छ,’ उनले भने । 

पार्टी सभापतिमै हारेको प्रधानमन्त्रीले तीनै तहको निर्वाचन गराउँदा राम्रो म्यासेज नजाने भएकाले नैतिक बलका लागि पनि सभापतिमा जित्नै पर्ने सुनाए ।



नेपाली कांग्रेस मध्यपन्थी पार्टी भएको बताउँदै देउवाले यो कम्युनिष्ट वा दक्षिणपन्थी बाटोमा नजाने बताए । ‘देशमा ८० प्रतिशत जनता हिन्दु छन्, तर के गर्ने मैले भनेर मात्र नहुँदो रहेछ । संविधान संशोधनका लागि दुई तिहाइ चाहिन्छ । कराएर मात्र हुँदैन,’ उनले भने ।

देउवाले १४ औं महाधिवेशन उद्घाटनमा एमालेले जस्तो तडकभडक नगर्ने स्पष्ट पारे । ‘पार्टीको आन्तरिक चुनावमा भिड जम्मा गरेर केको शक्ति प्रदर्शन रु यो गर्ने पक्षमा म छैन,’ देउवाको भनाइ थियो ।



  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १३:४१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया