कांग्रेस : केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा

नेपाली कांग्रेस आसन्न १४ औँ केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १४ औँ केन्द्रीय महाधिवेशन अन्तिम चरणमा पुगेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका हुन् । उनले नेपाली कांग्रेस पार्टीको ८ वटा चरणमध्ये ७ वटा तहमा निर्वाचन हुने र त्यसमध्ये हालसम्म ६ वटा तहमा निर्वाचन सकिएको बताए ।

प्रवक्ता शर्माले प्रदेश २ को प्रदेश अधिवेशन र केही जिल्लाको अधिवेशनबाहेक अन्य सबै तहका निर्वाचन सकिएको र प्रदेशमा २ मा महाधिवेशनपछि निर्वाचन गर्ने बताए । उनले केन्द्रीय महाधिवेशनको लागि आवास, खाद्यान्नको व्यवस्थापन र प्रचारप्रसारका कामलाई तीव्रताका साथ अघि बढाइएको बताउँदै महाधिवेशनको स्वागतद्वार र श्रृंगारको संयोजक कांग्रेस काठमाडौं जिल्लाका सचिव गोविन्द पुडासैनीलाई बनाएर काम अघि बढाइएको पनि बताए ।

प्रवक्ता शर्माले आजबाट सार्वजनिक रूपमा देखिने ढंगको प्रचारप्रसार र आन्तरिक रूपमा गर्नुपर्ने व्यवस्थापनका कुरामा गम्भीरतापूर्वक लागेको बताए ।

प्रवक्ता शर्माले कोरोना भाइरसको जोखिम कायमै रहेको बेला नयाँ भेरियन्टले बढाउन सक्ने समस्यालाई मध्यनजर गरी महाधिवेशन स्थलमा स्यानिटाइजर, मास्कको अनिवार्य गरेको बताए । उनले अन्य प्रकारका रोगहरूका लागि पनि महाधिवेशन स्थलमा नै हेल्थ डेस्क स्थापना गरिने जानकारी दिए ।

प्रवक्ता शर्माले डिजिटल भोटिङको व्यवस्था गर्ने प्रस्ताव आएको भए पनि अब ढिलो भइसकेको भन्दै अबको दुई दिनमा पदाधिकारी र केन्द्रीय समितिको बैठक बसेर पहिलेकै व्यवस्थाअनुसार वा डिजिटलबाट भोट गर्ने भन्ने निर्णय गर्ने बताए । उनले यसपटक मतदाताको संख्या धेरै रहेकोले मत व्यक्त गर्न एक घण्टाको समय लाग्ने बताए । डिजिटल भोटिङको व्यवस्था गर्न सकेमा मत व्यक्त गर्न र गणना गर्न पनि कम समय लाग्ने उनको भनाइ छ ।



प्रवक्ता शर्माले २०४६ सालको परिवर्तनपछि महाधिवेशन आयोजना गर्ने राजनीतिक दलले नीतिको कुरा गरे पनि त्यो भन्दा प्रधान विषय नेतृत्वमा चयन हुँदै आएको र यसपटक भने पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको प्रस्तावमा महाधिवेशनपछि नीति अधिवेशन हुने बताए ।

उनले यस महाधिवेशनमा नेतृत्व चयनको विषय भएकोले नीतिका कुराहरू नगरिने स्पष्ट पारे । प्रवक्ता शर्माले राजनीतिक दल आधुनिक र रूपान्तरित बन्दै जाँदा नीति अधिवेशन र नेतृत्व अधिवेशन फरक गर्नुपर्ने बताए ।



कांग्रेस, देश र समाज रूपान्तरणको लागि विभिन्न नेताहरुले राखेका कुरा केन्द्रीय महाधिवेशनको विषयवस्तु नबने पनि नीति अधिवेशनमा यिनै कुराहरूलाई विषयवस्तु बनाइने बताए । उनले यो महाधिवेशन पूर्व घोषणा बमोजिम नेतृत्व चयनमै केन्द्रित हुने र पार्टीको महामन्त्रीको र अर्को पार्टीको कोषाध्यक्षको गरी महाधिवेशनमा दुइटा लिखित प्रतिवेदन पेश हुने बताए ।

प्रवक्ता शर्माले महासमितिको बैठकबाट अहिलेसम्म आइपुग्दा केन्द्रीय कार्यसमितिले गरेका कामहरूका विषयहरूलाई अनुमोदनको प्रस्ताव पनि पेश हुने बताए । 

  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १६:५५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया