विद्युत प्राधिकरणमा जुम्लाका जनताको सांस्कृतिक र्याली

जुम्लामा विद्युत् नियमित र व्यवस्थित गर्न दबाब दिँदै जुम्लाका जनताले काठमाडौंमा सांस्कृतिक र्याली निकालेका छन् । मंगलबार जुम्लाका प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतको नेतृत्वमा जुम्लाका जनताले शान्तिवाटिका, रत्नपार्क हुँदै नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयसम्म उनीहरुले सांस्कृतिक र्याली निकालेका हुन् । 

स्थानिय झाँकी, बाजागाजा र नाँचगानसहित र्याली गरिएको थियो । जुम्लामा विद्युत् नियमित र व्यवस्थित गर्न पटक–पटक विद्युत् प्राधिकरणलाई अनुरोध गर्दा पनि नसुनेको भन्दै सरकार र विद्युत् प्राधिकरणलाई सुनाउनका लागि बाजागाजासहिहत र्याली गर्नुपरेको प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले बताए । 

जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको भए पनि पोल, तार र मिटर पुग्न नसकेको र गाउँ–गाउँमा विस्तार हुन नसकेको उनले बताए । कर्णालीको समस्या पटक–पटक राख्दा पनि सरकारबाट सुनुवाइ नभएको उनले दुखेसो गरे । उनले भने,  ‘सजिलै सुन्दैन नेपाल सरकारले र विद्युत् प्राधिकरणले । अनि सजिलै सुनेन भने बाजा बजाउने चलन छ, हाम्रो कर्णालीतिर ।’ 

यो विद्युत् प्राधिकरणलाई ब्युँझाउनलाई सांस्कृतिक र्याली निकालेको उनले सुनाए । ‘बत्ती मधुरो छ । मिटर छैन । तार छैन । पोल छैन । गाउँ गाउँमा लाइन बिस्तार भएको छैन । एकदमै ढिलासुस्ती भइराखेको छ,’ उनले भने, ‘कर्णालीमा बाटोमा पुगेको छ, गाउँमा पुग्या छैन । घरमा पुग्या छैन । कहीँ पुग्या छैन । सुन्दैन सरकार, नसुनेपछि सुनाउनलाई बाजा बजाएको ।’

र्यालीमा हामीलाई बत्तीको मिटर देऊ, ट्रान्सफरमरको व्यवस्था गर, मलाई पनि बत्तीमा पढ्ने रहर छ, हाम्रो खोलाको पानी त्यसै बग्यो, घर भने अध्याँरो छन्, बत्तीमा भोल्टेज पनि हुनुपर्छ हो है लगायत लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो । 

उनीहरुले प्राधिकरणका कार्यकारी निर्देशकलाई ज्ञापनपत्र बुझाउँदै जुम्लाका सम्पूर्ण बस्तीमा विद्युत् प्रसारण लाइनको बिस्तार गर्न र विद्युत् प्रसारण लाइन पुगेका क्षेत्रमा चाँडोभन्दा चाँडो मिटरलगायत आवश्यक सामग्रीको उपलब्धता गराउनसमेत माग गरेका छन् । 



र्यालीसहित नेपाल विद्युत् प्राधिकरणमा पुगेका जुम्लाका जनताले कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणको प्रांगणमै बोलाएका थिए । घिसिङ आउन ढिला गरेपछि उनीहरुले ज्ञापनपत्र प्राधिकरण भवनबाहिरै टाँसिदिए । 

ज्ञापन पत्रमा ३३ केभिए प्रशारण लाइन निर्माण कार्यमा भइरहेको ढिलाइको अन्त्य गरी शीघ्र कार्य सम्पन्न गर्नुपर्ने र ११ केभिए लाइनमा भएको भोल्टेज उतार चढाव समस्या समाधान गर्नुपर्ने लगायतका माग पनि गरिएको छ ।



केहीबेरमा कार्यकारी निर्देशक घिसिङ प्राधिकरणको प्रांगणमा आएर आएर जुम्लामा मिटर पठाउने प्रतिबद्धता जनाए । जिल्लाभर विद्युत् विस्तारका लागि टेन्डर गर्न लागेको भनदै उनले जुम्लाबासीलाई आश्वस्त बनाए । 
 

  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १७:५२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया