नागाल्याण्ड हिंसा : किन चलिरहेको छ ७० वर्षदेखि सशस्त्र आन्दोलन ?

भारतको उत्तर–पूर्वी राज्य अहिले तनावग्रस्त छ । तनाव बढ्नुको कारण भारतीय सेना हो । गत शनिबार भारतीय सेनाले सर्वसाधारण मजदुरमाथि गोली वर्षाउँदा १४ जना मारिएपछि नागाल्याण्डमा अहिले हिंसात्मक प्रदर्शन भइरहेको छ ।

हिंसा भड्किएपछि नियन्त्रण गर्न सरकारले नागाल्याण्डमा इन्टरनेट सेवा बन्द गरेको छ । व्यापक विरोध प्रदर्शन रोक्न कर्फ्यु जारी गरिएको छ ।

शनिबार गस्तीमा हिँडेका सेनाले नागाल्याण्डको मोन जिल्लामा चरमपन्थी सम्झेर मजदुरमाथि गोली चलाएको थियो । सेनाले घटनालाई गलत सूचनाका कारण भएको बताएको छ । तर, स्थानीय सेनाको दाबी मान्ने पक्षमा छैनन् । सेनाले योजनावद्ध रूपमा मजदुरको हत्या गरेको आरोप स्थानीयको छ ।

घटनापछि सेनामाथि स्थानीय जाइलागेका छन् । ठाउँ-ठाउँमा झडप भए । झडपमा एक जना सेना र अन्य सात जनाको मृत्यु भइसकेको छ । आइतबार प्रदर्शनकारीले सेनाको एक शिविरमा आक्रमण गरेका थिए, जहाँ एक सर्वसाधरणको मृत्यु भएको थियो ।

भारतको केन्द्रीय गृहमन्त्री अमित शाहले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । नागाल्याण्ड सरकारले पनि उच्चस्तरीय छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

पछिल्लो सबैभन्दा ठूलो हिंसात्मक घटना



अहिले नागाल्याण्डमा जुन प्रकारका हिंसाका घटना भइरहेका छन् यस्तो धेरैपछि भएको हो । अर्थात् पछिल्ला वर्षहरूमा नागाल्याण्डमा यति ठूला हिंसात्मक घटना भएका थिएनन् ।

नागाल्याण्ड लामो समयदेखि उग्रवाद र जातीय हिंसाबाट पीडित छ । गत शनिबार भारतीय सेनाले नागाल्याण्डमा निर्दोष सर्वसाधारण मारेको पहिलो घटना होइन । यसअघि पनि थुप्रै पटक सेनाले सर्वसाधारण माथि गोली वर्षाएको छ र धेरैको मृत्यु भएको छ ।



शनिबारको घटना म्यानमारसँगको सीमा नजिक तब घट्यो जब भारतीय सेनाको सहयोगी अर्धसैनिक बल आसाम राइफल्सका सैनिक चरमपन्थीविरुद्ध अभियान सञ्चालन गरिरहेका थिए ।

भारतीय सेनाका अनुसार घटना भएको क्षेत्रमा पृथकतावादी छापामार भएको विश्‍वासनीय खवर गुप्तचरबाट प्राप्त भएको थियो । त्यसपछि सैनिक कारबाहीमा उत्रिएको थियो ।

म्यानमारसँग सीमा  जोडिएको क्षेत्रमा प्राय पृथकतावादीहरू सेनामाथि आक्रमण गरेपछि म्यानमार छिर्ने गर्छन् । यसैकारण म्यानमारसँगको सीमा क्षेत्रमा सेनाले कडा गस्ती गर्ने गर्छ । यसैसिलसिलामा सीमाबाट पृथकतावादी प्रवेश गरेको सूचना प्राप्त गरेपछि सेनाले कोइला खानीका मजदुर चढेको ट्रक्रमा गोलाबारी गरेको थियो ।

ट्रकमा रहेका मजदुरसँग दोहोरो संवाद नगरी सेनाले गोली चलाएको आरोप स्थानीयको छ । तर सेनाको भनाइ फरक छ । मजदुरले सहयोग नगरेपछि विद्रोही भएको आशंकामा गोली चलाइएको सेनाले जनाएको छ ।

गलत सूचनाले दुर्घटना

गलत सूचनाले गर्दा शनिबार ठूलो दुर्घटना भएको भनाइ सेनाको छ । यस विषयमा सुरक्षा विश्लेषक जयदीप सैकिया भन्छन्, ‘यो वास्तममै गलत पहिचानका कारण भएको हो । यसैकारण आइतबार प्रदर्शनकारीले सेनाको शिविरमा आक्रमण गर्दा सेनाले संयमता अपनायो र गोलीसमेत चलाएन ।’

विश्लेषकको भनाइमा स्थानीयको विश्वास छैन । नागाल्याण्ड प्रहरीमा दर्ता गरिएको निवेदनमा सेनाले नियत राखेर नागरिकको हत्या गरेको आरोप स्थानीयले लगाएका छन् ।

‘यो भयानक आपत्तिजनक घटना हो । सशस्त्र बल विशेषाधिकार कानून न्यायको बाधक हो,’ पूर्वोत्तर भारतमाथि कलम चलाउँदै आएका टिप्पणीकार सञ्जय हजारीकाले भने ।

सशस्त्र बल विशेषाधिकार कानूनले भारतीय सुरक्षा बललाई विद्रोहीका विरुद्ध कारबाही गर्ने अधिकार दिन्छ । यो कानूनले निर्दोष सर्वसाधरणलाई मार्ने सेनालाई कारवाहीबाट बचाउँदै आएको छ । यस कानूनको दुरुपयोग भएको भनाई आलोचकहरूको छ ।

स्वतन्त्रतासँगै सुरु भएको लडाइँ

नागाल्याण्डमा सन् १९५० को दशकदेखि नै संघर्ष चल्दै आएको छ । यो आन्दोलनको माग छ– नागाल्याण्डवासीको आफ्नो संप्रभु क्षेत्र होस् ।

यो आन्दोलनमा नागाल्याण्डको अलवा छिमेकी राज्य आसाम, मणिपुर, अरुणाञ्चल प्रदेशका साथसाथै म्यानमारका नागाहरु पनि सहभागी हुँदै आएका छन् ।

सन् १९९५ मा एक सम्झौतापछि सबैभन्दा ठूलो नागा विद्रोही समूह ‘नागा नेशनल काउन्सिल’ले आत्मसमर्पण गरेको थियो ।

तर, अर्को समूह ‘नेसनल सोशलिस्ट काउन्सिल अफ नागाल्याण्ड’ (एनएससीएन)ले उक्त सम्झौताको निन्दा गर्दै सरकारविरुद्ध लड्ने निर्णय गर्यो । एनएससीएनमा चीनबाट प्रशिक्षण तथा हतियार लिनेहरु रहेको भारत सरकारको आरोप छ ।

अन्ततः सन् १९९७ मा टी. मुइवाको नेतृत्वमा एनएससीएनको मुख्य गुटले युद्धविराम गर्दै केन्द्र सरकारसँग संवाद सुरु गरेको थियो । सन् २०१५ मा दुवै पक्षबीच सम्झौताको दस्तावेज तयार भयो । तर अलग झण्डा र अलग संविधानको मागका कारण यो संवाद रोकिएको छ । भारत सरकारले ती माग पुरा गर्न नसक्ने बताउँदै आएको छ ।

शनिबार जुन घटना घट्यो वास्तवमा त्यो भारतीय सैनिकले एनएससीएनको अर्को समूहको लडाकूको खोजी गर्ने क्रममा भएको थियो । यो समूहले केन्द्र सरकारसँग मुइवा समूहले गरेको संवादको विरोध गर्दै आएको छ । म्यानमारमा सागिङ्गमा रहेको आफ्नो कार्यालयबाट एनएससीएनको अर्को समूहले नागाल्याण्डमा गतिविधि चलाउँदै आएको छ ।

म्यानमारको सीमा कैयौँ गुट सक्रिय

भारत र म्यानमारबीच १ हजार ६४३ किलोमिटर सीमा जोडिएको छ । यसमा अधिकांश पहाडी क्षेत्र रहेको छ । सीमाको दुवै तर्फ थुप्रै पृथकतावादी विद्रोही संगठन सक्रिय छन् ।

यस्तै संगठनमध्ये एक हो– पिपुल्स लिब्रेसन आर्मी (पिएलए) । यो समूह छिमेकी राज्य मणिपुरमा सक्रिय छ ।

पिएलएले गएको महिना आसाम राइफल्सको शिविरमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा सेनाका एक कर्णेल, उनको पत्नी, एक छोरा र चार सैनिक मारिएका थिए ।

आलोचकहरूका अनुसार सैनिकहरू आफ्नो कमाण्डरको हत्याको बदला लिन आतुर थिए । यसै कारण शनिबारको घटना भएको आरोप उनीहरूको छ ।

केही भने सेनाले विद्रोहीको सामना गर्ने रणनीति अब पुरानो भइसकेको बताउँछन् । शक्तिको भरमा परिवर्तन खोज्नु गलत भएको उनीहरूको बुझाइ छ । सेना गुप्तचरमार्फत जानकारी जुटाउनभन्दा पनि स्थानीयको मन जित्नेतर्फ अग्रहर हुनुपर्ने धारणा उनीहरूको छ ।

(बीबीसीबाट साभार)

  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार ६:५०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया