बालकोटमा धारिलो हतियार प्रयोग गरी युवकको हत्या

भक्तपुरको मध्यपुरथिमि नगरपालिका-३ गट्ठाघर र सूर्यविनायक नगरपालिका-३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा एक पुरुषको हत्या भएको छ । 

सूर्यविनायक नगरपालिका-३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

गएराति करिब पौने १० बजे गठ्ठाघरमा आफ्नो गाडी पार्किङ गरी घर जाने क्रममा हनुमन्ते फलामे पुल नजिकै कुटपिट गरी श्रेष्ठको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । 

घटना विवरणअनुसार घर फर्कने क्रममा कुटपिट गरिरहेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरी प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । 

महानगरीय प्रहरी परिसरका प्रहरी निरीक्षक एवं सूचना अधिकारी लोकबहादुर जिसिले घटना राति करिब १० बजे भएको र मृतकको मुखमा गहिरो चोट रहेको बताए । उनले कुटपिटबाट हत्या भएको जानकारी दिँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । 

प्रहरीले कुटपिट गर्ने व्यक्तिको खोजी गरिरहेको छ । शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रम जारी रहेको र छिट्टै अपराधीको पहिचान हुने प्रहरीले दाबी गरेको छ ।   





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १२:१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया