कांग्रेस महाधिवेशन : नेपाली कांग्रेसमा मणि थापाको ड्रिम टिम

कुनै समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निकट मानिन्थे, मणि थापा । तर, ५ पुस ०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि अरु केही नेताहरूजस्तै थापाले पनि माओवादी केन्द्र छाडे, राजनीतिका लागि नेकपा एमाले छाने ।

त्यही एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा थापा केन्द्रीय सदस्य चुनिएका पनि छन् ।

एमाले महाधिवेशनको सन्दर्भमा पनि बेलाबेलामा चर्चा कमाएका पूर्वमाओवादी थापालाई हामीले यसपटक कांग्रेस महाधिवेशनबारे सोध्ने निर्णय गर्यौँ । केही दिनमा काठमाडौंमा हुने महाधिवेशनबाट नेपाली कांग्रेसले नयाँ नेतृत्व पाउँदै छ । यही सन्दर्भमा हामीले कांग्रेसमा विभिन्न व्यक्तिको ड्रिम टिमबारे सोधिरहेका छौँ । मणि थापाका लागि कांग्रेसको ड्रिम टिम कस्तो होला त ?

हामीले यो प्रश्न थापालाई सोध्यौँ ।

‘कांग्रेस लामो समयदेखि परम्परागत ढंगमा चलेको छ,’ थापाले भने, ‘अब कांग्रेसमा युवा पुस्ताको आवश्यकता भएको हामीले महसुस गरेका छौँ ।’

उनले अहिले सभापतिमा दाबी गरिरहेका नेताहरूबाट कांग्रेसको भविष्य राम्रो नहुने टिप्पणी गर्दै नयाँ पुस्ता आउनु पर्ने बताएका छन् । ‘अब कांग्रेस गगन थापाहरूको हो,’ उनले भने, ‘नेतृत्वमा गगन थापा आउँदा राम्रो हुन्थ्यो भन्ने मलाई लागेको छ ।’



त्यसैले उनले सभापतिमा गगन थापा नै हुन पर्ने धारणा राखिरहेका थिए । तर, गगनले यो महाधिवेशनमा आफूलाई महामन्त्रीको दाबी गरिरहेका छन् नि भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘कांग्रेसमा अब नयाँ पुस्ता आउनु पर्छ, पुरानो पुस्ता बिदा हुनुपर्छ । सबै नयाँ पुस्ता आओस् भन्ने चाहना छ ।’

थापाले बरु कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा ठिक हुनसक्ने तर्क पनि गरे ।



‘कांग्रेसको आन्तरिक जीवनमा हस्तक्षेप गर्न त मिल्दैन,’ उनले भने, ‘तर, नयाँ जेनेरेसन आओस्, कांग्रेसमा पनि परिवर्तन आओस् भन्ने हामीले चाहेका छौँ ।’

उनले शीर्षस्तरमा देखिएका नेताहरुमा आफूले नेतृत्व गर्न सक्ने सामर्थ्य भएको नेता कोही पनि नदेखेको पनि बताए । ‘गगन थापा नै नेतृत्वमा आए हुन्थ्यो भन्ने मलाई लागेको छ,’ उनले भने, ‘कांग्रेसमा अब युवा पुस्ताको आवश्यकता हामीले महसुस गरेका छौँ ।’

थापाको यो विषयमा भनाइ यस्तो लाग्थ्यो मानौँ अहिले सभापतिमा दाबी गरिरहेका कुनै पनि नेताले अब कांग्रेसको नेतृत्व गर्न सक्दैनन्, उनी त कांग्रेसमा विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेललगायतको पुस्ताले नेतृत्व लिओस् भन्ने चाहन्छन् ।

  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार ६:१६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया