सभापतिको साझा उम्मेदवार बन्ने आशा अझै त्यागेका छैनन् पौडलले, भने– समय अझै बाँकी छ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आजबाट सुरु हुने कांग्रेसको १४औं महाधिवेशनमा आफू संस्थापनइतर पक्षको सभापतिमा साझा उम्मेदवार बन्ने आशा अझै ल्यागेका छैनन् । 

सभापति पदको उम्मेदवारी दिने तयारीमा रहेका उनलाई इतर पक्षका प्रकाशमान सिंह र शेखर कोइरालाले साथ नदिएपछि महाविधवेशनको उद्घाटन सत्रमा सहभागी नहुने अडान लिएका थिए । 

तर आज विहान कांग्रेस नेताहरु जगदिश नरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य र मीनेन्द्र रिजाल पौडेल निवास पुगेर फकाएपछि उनी उदुघाटन कार्यक्रममा आउन राजी भएका छन् । 

सोही भेटघाटामा वरिष्ठ नेता पौडेले अझै आफू इतर समूहको सभापतिमा साझा उम्मेदवार बन्न सक्ने विश्वास व्यक्त गरेका थिए । 

‘प्रकाशमान सिंह र शेखर कोइरलाले एकअर्कामा सहमति नगर्ने हो भने आफू (पौडेल)मा गर्नुपर्ने उहाँले बताउनु भएको छ । र यो सम्भव रहेको उहाँले जनाउनु भएको छ,’ पौडेल निवासबाट बाहिरिएपछि जगदिश नरसिंह केसीले भने, ‘सहमति गर्नको लागि समय रहेको र यो प्रयास अन्तिम क्षमसम्म गर्ने पनि उहाँले बताउनु भयो ।’ 

१४औं महाधिवेशनमा कांग्रेसको संस्थापन पक्षबाट वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मात्र सभापतिमा उम्मेदवारी दिंदै छन् । देउवाले अर्का नेता कृष्ण प्रसाद सिटौलालाई पनि सहमतिमा ल्याएको स्रोतको दाबी छ । तर यस विषयमा सिटौलाले अहिलेसम्म मुख खोलेका छैनन् । 



संस्थापन इतरपक्षबाट सभापति पदमा तीन जनाले उम्मेदवारी दिने तयारी गरिरहेका छन् । अहिले इतरपक्षबाट पौडेल, सिंह र कोइरालाले सभापतिमा उम्मेदवारी दिने घोषणा गर्दै आइरहेका छन् । शशांका कोइरालाले भने यो दौडबाट आफूलाई बाहिर निकाली सकेका छन् । 

विगत केही दिनयता इतर समूहका नेताले सभापतिको लागि साझा उम्मेदवार तय गर्न पटक पटक बैठक बसे पनि सहमतिमा पुग्न सकेनन् । 



शशांका कोइरालाले पौडेललाई सभापतिमा समर्थन गर्दै पछि हटेका थिए । शेखर कोइरालाले पनि यदि सिंह पछि हटे पौडेललाई आफूले पनि समर्थन गर्ने जनाएका थिए । तर सिंहले भने आफू सभापतिमा उम्मेदवारी दिनबाट पछि नहट्ने बताएपछि पौडेलमा सहमति बन्न सकेनन् । 

पौडेलले पनि शेखर र सिंहले आपसमा एकअर्कालाई छोड्ने सहमति गरे त्यसलाई आपूmले समर्थन गर्ने बताउँदै आएका थिए । 

तर महाधिवेशनको उद्घाटन गर्ने समय आइसक्दा पनि शेखर र सिंहबीच सहमति बन्न सकेन । सिंहले शेखरलाई स्वीकारेका छैनन् भने शेखरले सिंहलाई । 
सिंह र शेखरबीच सहमति नबनेपछि पौडेलले आज आफ्नो निवास पुगेका नेताहरुसँग आफ्नो नाममा सहमति गर्नुपर्ने बताएका हुन् । उनले अन्तिम मिनेटसम्म यसको लागि प्रयास गर्ने र आफ्नो नाममा सहमति बन्नेमा विश्वस्त रहेको उनले बताएका छन् । 

उनले छलफलका क्रममा यदि इतर समूहका दुई जनाले सभापतिमा उम्मेदवारी दिए पहिलो निर्वाचनमा कम मत ल्याउनेले दोस्रो निर्वाचनमा बढी मत ल्याउनेलाई सघाउनु पर्ने समेत बताएका थिए । 

  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १३:२४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया