कांग्रेस महाधिवेशन : सभापतिमा भिड्ने को हुन् यी ६ नेता ?

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि ६ जनाले मनोनयन दर्ता गराएका छन् । वर्तमान प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शेखर कोइराला, कल्याणकुमार गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गरेका हुन् ।

देउवा यो पटकसहित सभापति पदका लागि निर्वाचन लडेको चौथो पटक हो । १०औँ महाधिवशेनमा देउवाले गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका थिए । ११औँ महाधिवेशनमा एक्लाएक्लै लडेका थिए भने १२औँ महाधिवेशनमा सुशील कोइरालासँग प्रतिस्पर्धा गरेका थिए । त्यसबेला उनी पराजित हुन पुगे । १३औँ महाधिवशेनमा उनी नेता रामचन्द्र पौडेललाई पराजित गर्दै सभापति भएका हुन् ।

दोस्रो कार्यकाल पनि सभापति बन्न देउवाले उम्मेदवारी दिएका हुन् । २०२८ सालमा नेपाल विद्यार्थी संघका अध्यक्ष भएका देउवाले पार्टी सत्तामा अझै रहन चाहेका छन् ।

सभापति पदका अर्का उम्मेदवार सिंह कांग्रेसमा उपसभापति र महामन्त्री भइसकेका नेता हुन् । पार्टीबाट सरकारमा उनी उपप्रधानसहित स्थानीय विकासमन्त्री भइसकेका छन् ।

२०४६ सालमा भएको जनआन्दोलनको सर्वोच्च कमाण्डर गणेशमान सिंहको उनी छोरा हुन् ।

सभापति पदमा उम्मेदवारी दिएका निधि पनि मधेसका तत्कालीन लोकप्रिय नेता महेन्द्रनारायण निधिका छोरा हुन् । उनी पनि उपसभापति भइसकेका छन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट आएका हुन् । हालै उनले देउवासँग विद्रोह गरेका हुन् ।



सभापति पदमा उम्मेदवार बनेका डा. कोइराला केन्द्रीय सदस्य हुन् । कांग्रेस नेतृ नोना पुत्र उनले कोइराला परिवारबाट पार्टी नेतृत्वमा सुशीलपछिको विरासत धान्न चाहना राखेका हुन् ।

उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन छ । कोइराला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति भइसकेका छन् । उनी राजनीतिमा आएको डेढ दशक जति भएको छ ।



सभापति पदकै उम्मेदवार बनेका नेता गुरुङ केन्द्रीय सदस्य भइसकेका छन् । उनी नेपाल विद्यार्थी संघका अध्यक्षसमेत भएका थिए ।

सभापति पदमा उम्मेदवार दिने उनी पहिलो नेता हुन् । युवाको नेतृत्व पार्टीमा हुनुपर्ने कांग्रेसमा थुप्रै नेता थिए । तर, अन्ततः सभापति पदमा उम्मेदवारी दिने आँट नेता गुरुङले गरे ।

सभापतिका उम्मेदवार न्यौपाने गोरखाका नेता हुन् । उनी पनि युवा नेता नै हुन् ।

उपसभापति

कांग्रेसको दुई उपसभापतिका लागि सात जनाको मनोनयन दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार देउवा प्यानलबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले उपसभापति मनोनयन दर्ता गराएका छन् ।

खड्का यसअघि महामन्त्री थिए । गच्छदार भने उपसभापति नै हुन् । उनी फोरम लोकतान्त्रिकलाई कांग्रेसमा मिलाएर उपसभापति बनेका थिए ।

यसपटक पनि उनको उपसभापति पदमै उम्मेदवारी भएको हो । उनी यसअघि उपप्रधानमन्त्रीसहित भौतिकमन्त्री भइसकेका छन् ।

सभापति पदका उम्मेदवार डा. कोइरालाको पक्षबाट उपसभापति पदमा डा. चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार हुन् ।  कांग्रेसभित्र ‘१२ भाई’ मध्येमा दुवै नेता पर्छन् । उनीहरू कांग्रेसमा पुस्तान्तरणको आवाज उठाउने नेता हुन् ।

सभापति पदका उम्मेदवार सिंह प्यानलबाट उपसभापति पदमा पूर्वपरराष्ट्रमन्त्री तथा केन्द्रीय सदस्य सुजाता कोइरालाको उम्मेदवारी परेको छ ।

उनी पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् । कोइराला परिवारकै अर्का नेता शेखरसँग अलग हुँदै उनी सिंह टिममा पुगेर उपसभापति पदमा उम्मेदवारी दिएकी हुन् ।

देउवा नेतृत्वको वर्तमान सरकारमा उपप्रधानसहित परराष्ट्रमन्त्रीमा उनको चाहना थियो । तर, शेखरसँगै पार्टी महामन्त्रीको भूमिकामा रहेका डा. शशांक कोइरालाले अघि नबढाएपछि उनी रुष्ट थिइन् । अन्ततः उनी पौडेल समूहबाट अलग भएर सिंह क्याम्पमा पुगिन् ।

उपसभापति पदकै अर्का उम्मेदवार हुन् महेश आचार्य । पूर्वमन्त्री आचार्यको कुन टिममा खुल्न सकेको छैन ।

निधिको प्यानलबाट भने दिव्यश्वरी शाह उपसभापति पदकी उम्मेदवार बनेकी छिन् । गुरुङ र न्यौपानेको तर्फबाट भने उपसभापति पदमा उम्मेदवारी कसैको नपरेको निर्वाचन समितिले जनाएको छ ।

महामन्त्री

महामन्त्री पदमा देउवा प्यानलबाट डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार बनेका छन् । महत देउवाका विश्वास पात्र हुन् । उनी पूर्वपरराष्ट्रमन्त्रीसमेत हुन् । उनी देउवा नेतृत्वको समितिमा सहमहामन्त्री थिए ।

महामन्त्री पदमा अर्का उम्मेदवार पौडेल भने कांग्रेसमा तेस्रो धारको प्रतिनिधित्व गर्ने नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका हुन् ।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष उनी कांग्रेसभित्र प्रभावशाली युवा नेतामध्येमा पर्छन् । यो महाधिवेशनमा देउवा–सिटौला गठबन्धन छ । गठबन्धनमा सिटौला पक्षीय पौडेलले महामन्त्री पदमा अवसर पाएका हुन् ।

डा. कोइरालाको प्यानलबाट भने महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगनकुमार थापाको उम्मेदवारी परेको छ । देउवा नेतृत्वको वर्तमान सरकारमा रिजाल रक्षामन्त्री छन् । उनी कांग्रेसको संस्थापनइतर पक्षका प्रभावशाली नेता हुन् ।

कोइराला परिवारसँग उनको लिगेसी छ । महामन्त्री पदकै उम्मेदवार थापा भने सिटौला पक्षबाट विद्रोह गरेर कोइराला क्याम्पमा पुगेका नेता हुन् ।

पूर्वस्वास्थ्यमन्त्री रहेका उनी पार्टी केन्द्रीय सदस्य भइसकेका छन् । संघीय सांसद रहेका उनी लोकप्रिय युवा नेतामध्येमा पर्छन् ।

यस्तै, महामन्त्री पदमा विश्वप्रकाश शर्माको उम्मेदवारी नेता सिंहको प्यानलबाट परेको छ । कांग्रेस प्रवक्तासमेत रहेका उनी देउवा क्याम्पबाट विद्रोह गरेर सिंहको क्याम्पमा पुगेका हुन् ।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष शर्मा पनि कांग्रेसका लोकप्रिय युवा नेतामध्येका हुन् ।

निधि प्यानलबाट भने डा. राजाराम कार्की महामन्त्री पदका उम्मेदवार छन् ।

  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १८:३३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया