[सम्पादकीय] कांग्रेसी मतदाताको विवेक-परीक्षाको समय

नेपालको सबैभन्दा जेठो पार्टी नेपाली कांग्रेस यति बेला आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व छान्न महाधिवेशनमा केन्द्रित छ । देशभरबाट अनेक चरणका आन्तरिक निर्वाचनहरूको सामना गरेर काठमाडौंमा ४५ सयभन्दा धेरै मतदाता आएका छन् । भोलिको कांग्रेस कस्तो बनाउने भन्ने भूमिका अब उनीहरूमा निर्भर छ ।

७ दशकभन्दा लामो इतिहास बोकेको यो दलसँग अहिले विगतका प्रसंगहरूमा गर्व गर्न सक्ने थुप्रै विषय छन् । ७ साल, १७ साल, ३६ साल, ४६ साल, ६२/६३ सालका विषयमा कांग्रेसले बारम्बार चर्चा गरिरहेको सुनिन्छ । कांग्रेसीजनले यो किन पनि गर्छन् भने नेपालमा ७ दशकमा भएका ठूला राजनीतिक वा व्यवस्था परिवर्तनमा नै पनि कांग्रेसको महत्त्वपूर्ण भूमिका थियो ।

अब पनि देशमा कांग्रेसको अपरिहार्यता छ भन्ने विषयमा ठूलो बहस गरिरहनु आवश्यक छैन । कांग्रेसको १४ औँ महाधिवेशनमा नै प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीले समेत नेकपा एमाले भविष्यमा पनि कांग्रेससँग सहकार्य गरेर अगाडि बढ्न आफूहरू तयार रहेको बताएका छन् ।

तर, यो अपरिहार्यतालाई बचाइराख्न अब कांग्रेसी महाधिवेशन प्रतिनिधिको विवेकको प्रयोग गर्नु पर्ने समय आएको छ । यसअघि भएका र भनिएका गुटहरूले यो १४ औँ महाधिवेशनको उम्मेदवारी मनोनयनमा आइपुग्दा नयाँ स्वरूप पाएका छन् । तर, के चाहिँ साँचो हो भने अझै कांग्रेसमा गुटबन्दीको विकराल रूप देखिएको छ । गुट-गुटमा केन्द्रीय नेतृत्व विभक्त हुँदा जिल्ला-जिल्लाबाट आएका प्रतिनिधिहरूले विशेष विवेक पुर्‍याउनु पर्ने देखिन्छ ।

अब हिजोको कांग्रेस होइन, वर्तमान र भविष्यको कांग्रेस कस्तो भन्ने प्रश्न महाधिवेशन प्रतिनिधिले सोच्नु पर्ने समय आएको छ । बदलिँदो समाज, बदलिँदो वैश्विकरण र बदलिँदो अर्थराजनीतिक यो समयमा कांग्रेसले कस्तो अजेन्डा तय गर्ने ? विकासका लागि, सामाजिक न्याय तथा समानताका लागि, आर्थिक विकास र निरन्तरताका लागि कस्ता नीतिमाथि कांग्रेसले बहस गर्ने ? के कुरालाई कांग्रेसले अनुसरण गर्ने, के विषयलाई कांग्रेसले प्राथमिकतामा राख्ने भन्ने विषय अहिले कस्तो नेतृत्व छानिन्छ भन्नेले निर्धारण गर्छ । अनि यो नेतृत्व छान्ने एक मात्र आधार हो, काठमाडौंमा भेला भएका कांग्रेस महाधिवेशन प्रतिनिधि ।

कुन पदको कुन उम्मेदवार योग्य, कर्तव्यनिष्ठ र पार्टीका लागि, देशका लागि आवश्यक छ भन्ने कुरा निर्क्योल गर्न कांग्रेसीजन सक्षम छन् । यसका लागि उनीहरूले भोलि पार्टीको अधोगति सोच्ने वा पार्टीलाई देशमा आवश्यक सुधार वा परिवर्तनका लागि योग्य बनाउने भन्ने विषयमा सोच्नु पर्ने समय सोमबार दिनभर हुने मतदान प्रक्रियामा हो । मतदानमा कांग्रेसीजनले विवेक प्रयोग गरे भने यसले कांग्रेसलाई मात्र होइन, पूरै देशलाई सुधारको ट्रयाकमा लैजान सहयोग गर्छ ।



भोलिको कांग्रेस, भोलिको नेपाल सोचेर महाधिवेशन प्रतिनिधिले विवेक प्रयोग गरून् । कांग्रेसले अबको नेतृत्वमा भविष्यलाई बुझेका नेता र समयसन्दर्भअनुसार विचार राखिरहेकाहरूलाई छान्न सकोस् । शुभकामना !



  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १६:५०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया