नेपाली कांग्रेस १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ ।
सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतगणनामा देउवालाई कोइराला पछ्याइरहेका हुन् ।
निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार १८१ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १ हजार ५०६ मत (४७.३४ प्रतिशत) प्राप्त गरेका छन् ।
कोइरालाले १ हजार १७८ मत (३७.०६ प्रतिशत) पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले २५४ (७.९८ प्रतिशत), विमलेन्द्र निधिले १७३ (५.४३ प्रतिशत) र कल्याण गुरुङले १५ मत (०.४७ प्रतिशत) मात्र प्राप्त गरेका छन् ।
सोमबार मतदान भएकोमा रातिदेखि सबै प्रदेशको तीन ठाउँबाट गणना भइरहेको हो । ४७४३ मतदाता रहेकोमा नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ ।
कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।