देउवालाई जहिल्यै ‘तेस्रो’ को समर्थन

प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको आन्तरिक निर्वाचनबाट सभापति हुने दौडमा छन् । उनका मुख्य प्रतिस्पर्धी छन्- डा. शेखर कोइराला । कोइरालापछि बढी मत ल्याउने प्रतिस्पर्धी प्रकाशमान सिंह हुन् । उनै सिंहले देउवालाई दोस्रो चरणको निर्वाचनमा समर्थन गर्ने भएका छन् । 

सिंहका प्रेस सल्लाहकार युपी लामिछानेले देउवालाई सिंहको समर्थन रहने बताइसकेका छन् । यसो हुँदा दोस्रो चरणको निर्वाचनमा देउवा बलियो हुने देखिएको छ । 

संयोग ! देउवालाई १३औँ महाधिवेशनमा पनि सभापतिको निर्वाचनमा तेस्रो भएका प्रतिस्पर्धी कृष्णप्रसाद सिटौलाले समर्थन गरेका थिए । समर्थनपछि देउवाले त्यसबेला दोस्रो बढी मत पाएका रामचन्द्र पौडेललाई ५२६ मतले पराजित गरेका थिए । 

यसपटक पनि तेस्रो भएका सिंहको समर्थन देउवाले रहेको छ । यसरी देउवा पटकपटक तेस्रो प्रतिस्पर्धी समर्थनमा सभापति हुने भाग्यमानी कांग्रेस नेता देखिएका छन् । 

इतरबाट साझा उम्मेदवार नबनाउनुको रहस्य

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अगुवाइ गरेको संस्थापनइतर पक्षको बैठक अघिल्लो साताको मंगलबार, बुधबार र बिहीबार सिंह निवास चाक्सीबारीमा बस्यो । बैठकको एक मात्र एजेण्डा भनेकै साझा उम्मेदवार तयारको थियो । त्यहाँ पौडेल र महामन्त्रीसमेत रहेका सभापति पदका अर्का आकाङ्क्षी शशांक कोइरालाले सभापतिको दौडबाट अलग भएको बताएका थिए, जुन साझा उम्मेदवार तयार हुने सर्तमा । 



तर, डा. शेखर र प्रकाशमानले एकले अर्कालाई नछाड्ने भए । सभापति पदको उम्मेदवार मै हुन्छु भन्ने अडानबाट उनीहरू टसमस भएनन् । त्यसपछि पछि आइतबार साँझ उनीहरू काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा केही घण्टा छलफलमा जुटे । बाहिरदेखि महाधिवेशन प्रतिनिधिहरूले साझा उम्मेदवार चाहिन्छ भन्दै नाराबाजी नै गरे ।

यद्यपि, सहमति जुटेन । नजुटेपछि नेता जगदीश्वर नरसिंह केसीले भनेका थिए, ‘साझा उम्मेदवार तयार हुने छाँट देखिएन । अब पहिलो चरणमा एक्लाएक्लै लड्छौँ । दोस्रो चरणमा हामी एक हुन्छौँ । हाम्रो चुनावी रणनीति त्यो हो ।’



अन्ततः केसीले भने जसरी इतर पक्षबाट एक्लाएक्लै निर्वाचन लडेका प्रतिस्पर्धीमध्येका सिंह दोस्रो चरणको निर्वाचनमा एक ठाउँ नआउने भए । यसलाई कतिपयले सिंह संस्थापनइतर पक्षका मत विभाजन गर्न सभापति पदमा उठेको विश्लेषण गर्दै आएका छन् । हुन त सिंहले आफूलाई सभापति पदमा महाधिवेशन प्रतिनिधिहरूबाट परीक्षण गराएको पनि हुन सक्ने ठानिएको छ । 

निधि पहिले ठुस्किए, अहिले टाँसिए 

आठौँ महाधिवेशनपछि महामन्त्री पदमा निर्वाचित महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र देउवाबाट अलग भएको करिब पाँच महिना भयो । उनी अलग मात्रै भएनन्, देउवासँग सभापति पदमा प्रतिस्पर्धा पनि गरे । 

चार हजार ६८१ मतमध्ये २३८ मत पाए । उनी चौंथो स्थानमा रहे । उनले पनि सभापतिमा देउवालाई समर्थन गर्ने भएका छन् । 

जबकि, यसअघि संस्थापन पक्षबाट निधि सभापति पदको उम्मेदवार हुन चाहेका थिए । देउवासँग उनले यसपटक सहयोग गर्नुहोस् भने पनि । तर, देउवाले उमेर रहेकाले १५ औँ महाधिवेशनमा उठ्न भनेका थिए । 

त्यसपछि ठुस्किएर निधि देउवाबाट अलग भए । मंगलबार सभापति पदका मत परिणाम सार्वजनिक भएपछि भने निधिको समर्थन देउवालाई हुने भएको हो । 

  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १२:६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया