पार्टी एकताको ढोका सदैव खुल्ला– अध्यक्ष थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी एकताको ढोका सदैव खुल्ला राख्दै पार्टीले घोषणा गरेका जनसंघर्षका कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न राप्रपा अगाडि बढिसकेको बताएका छन् । 

पार्टीको संयोजित संगठन समन्वय विभागले आयोजना गरेको काठमाडौं उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले टाउका मात्र एक ठाउँमा जोडेर गरिने एकताले शक्ति प्राप्त नहुने बताउँदै पार्टीको विचार तथा एजेण्डाप्रति इमानदारीपूर्ण सक्रियता र निस्काम कर्मप्रतिको प्रतिबद्धताले मात्र राप्रपालाई यथार्थ रुपमा ठूलो बनाउन सकिने विचार व्यक्त गरे ।

नेपालको राजनीतिमा अस्तित्वमा रहेका अन्य पार्टीभन्दा फरक विचार र मान्यताका साथ स्थापना भएको राप्रपा अब आफ्ना लक्षित एजेण्डालाई उच्च महत्व दिएर अघि बढ्ने बताउँदै अध्यक्ष थापाले हिन्दू राष्ट्र, संवैधानीक राजसंस्थाको पुनस्र्थापना र स्थानीय स्वायत्त शासन प्रणालीको लागि पार्टीले घोषणा गरेको जनसंघर्षका कार्यक्रम सफल बनाउन अहिलेदेखि नै तल्लो तहसम्म संगठन विस्तारमा जोड दिन अगुवा कार्यकर्तालाई निर्देशन दिए ।
 
जनताको प्रत्यक्ष अभिमतविना जबर्जस्ती लादिएको गणतन्त्र, धर्म निरपेक्षता र संघीयताले मुलुकलाई नकारात्मक दिशातर्फ लैजाँदै छ भन्ने धरातलीय यथार्थ छर्लंङ हुँदै गइरहेको अवस्थामा पार्टी एकता वा कुनै अर्को वहानामा अलमल नगरी आगामी तीन महिना संगठन निर्माणमै केन्द्रित रहेर फागुन ७ गतेबाट सुरु हुने हिन्दूराष्ट्र र राजसंस्थाको पुनस्र्थापना तथा संघीयता विरुद्धको जनसंघर्षका कार्यक्रमलाई सफल पार्ने तयारीमा होमिन कार्यकर्तालाई निर्देशन दिँदै उनले परिवर्तनका संवाहक हौं भन्नेहरुले १२ वर्षको अवधिमा देखाएको अकर्मण्यता, देशको ढुकुटीमा गरेको ब्रम्हलुटका कारण जनताले विकल्प खोज्न थालिसकेको र त्यो विकल्प राप्रपा नै भएको दाबी गरे । 

हिन्दू राष्ट्र, राजसंस्था र स्थानीय स्वायत्त शासन प्रणाली भन्ने राप्रपाको विचारको अस्तित्व नेपालको भू–राजनीतिक अवस्था र सांस्कृतिक परिवेश कायम रहुन्जेलसम्म नै कायम रहने स्पष्ट पार्दै अध्यक्ष थापाले पार्टीको मूलभूत नीति र सिद्धान्तप्रति प्रतिबद्धता जनाउने जुनसुकै पार्टी, समूहका लागि सदैव एकताको ढोका खुल्ला रहेको दोहोर्याए ।
 
भेलालाई सम्बोधन गर्दै पार्टीका नेता तथा प्रतिनिधीसभाका सांसद राजेन्द्र लिङदेनले पार्टी एकता खसीको कुरा भए पनि अहिलेको अवस्थामा एकताका नाममा अल्मलिने र हिन्दू राष्ट्र तथा राजसंस्था पुनस्र्थापना गर्ने बाटोमा अघि बढ्नबाट रोकिने छुट राप्रपालाई नभएको भन्दै एकताको ढोकालाई सधैँ खुल्ला राख्दै पार्टीले सार्वजनिक गरेका जनसंघर्षका कार्यक्रमलाई सफल तुल्याउन संगठन विस्तारमा जोड दिन पार्टीका सबै तह र तप्काका नेता, कार्यकर्तालाई आग्रह गरे । 

आमजनताले वर्तमान राज्यसत्ताको विकल्प खोजिरहेको अवस्थामा यो वा त्यो वहानामा अलमल नगरी उच्च मनोवलका साथ संगठन निर्माण र विस्तारमा जुटेमा पार्टीका एजेण्डा स्थापित गर्नमा कसैले रोक्न नसक्ने विचार व्यक्त गर्दै लिङदेनले संघीयता, धर्म निरपेक्षता र गणतन्त्रको विपक्षमा जनमत बढ्दै गएकोले अहिले तल्लो स्तरसम्म संगठन विस्तारमा जोड दिएमा पार्टीले लिएका एजेण्डालाई स्थापित गर्न सकिने स्पष्ट पारे ।

कार्यक्रममा पार्टीका ३ नं. प्रदेश अध्यक्ष विक्रमबहादुर थापा, केन्द्रीय सदस्य यवती कार्की, काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा, ललितपुर जिल्ला अध्यक्ष आनन्द अधिकारी, राष्ट्रिय प्रजातान्त्रिक कानुन व्यवसायी संगठनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता राजु वस्नेत, नेपाल सनातन धर्म तथा संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुष, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका महासचिब सरश्वती के.सी.अधिकारी, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका महासचिव विनोद भारती, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंह, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष केदार धमला, ट्रेड युनियन महासंघ नेपालका संयोजक हिक्मत जंग भण्डारी, पूर्व प्रहरी परिषद्का अध्यक्ष हरिहर श्रेष्ठलगायतले आ–आफ्नो विचार व्यक्त गरे ।



संयोजित संगठन समन्वय विभागका प्रमुख सुशील श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पूर्वमन्त्री तथा विभागका सदस्य परशुराम तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 



  • प्रकाशित मिति : मंसिर ७, २०७५ शुक्रबार १८:२२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया