प्रकाशमानले किन समर्थन गर्दैछन् देउवालाई ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति चुन्‍नका लागि भएको पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन सकेनन् । कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज नै निर्वाचन समितिले दोस्रो चरणको मतदान गर्दै छ । दोस्रो चरणमा अब सभापतिमा दुई उम्मेदवार हुनेछन्- शेरबहादुर देउवा र शेखर कोइराला ।

यसअघि यसअघि भएको पहिलो चरणको निर्वाचनमा सभापतिमा शेरबहादुर देउवाले २२५८ मत पाएका थिए । उनीसँग प्रतिस्पर्धामा उत्रिएका सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले १७२९ मत पाएका छन् । त्यस्तै, पहिलो चरणको निर्वाचनमा प्रकाशमान सिंहले ३७१ र विमलेन्द्र निधिले २४९ मत पाएका छन् ।

अब विमलेन्द्र निधि र प्रकाशमान सिंह दुवैले देउवालाई दोस्रो चरणमा सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् । दोस्रो चरणमा यी दुईले देउवालाई समर्थन गर्ने भए पछि देउवा कांग्रेस सभापति हुने निश्चित भएको छ ।

विमलेन्द्र निधिले देउवालाई साथ दिने भन्ने विषयलाई कांग्रेसमा सहज रुपमा लिइएको छ । किनकि निधि यसअघि देउवासँग नै निकट थिए । उनले देउवाबाट विद्रोह गरेर नै सभापतिमा उम्मेदवारी दिएका थिए । तर, लामो समयदेखि रामचन्द्र पौडेलसँग  निकट रहेका प्रकाशमान सिंहले पनि देउवालाई दोस्रो चरणमा साथ दिने भए पछि यसलाई आश्चर्यका साथ लिइएको छ ।

आखिर प्रकाशमान कसरी तयार भए त देउवालाई साथ दिन ?

यसबारे बुझ्नका लागि कांग्रेसको १४ औं महाधिवेशनको चर्चालाई लिन जरुरी हुन्छ । कांग्रेसमा १४ औं महाधिवेशन हुने भए पछि देउवाइतर पक्षबाट चार जनाले सभापतिमा उम्मेदवारी दिने सम्भावान बढ्दै गयो । रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंह सबैले आआफूले अब कांग्रेसमा नेतृत्व गर्ने दाबी गर्न थाले ।



पछिल्लो समय तीन जनालाई मिलाउन सकेको खण्डमा आफू सभापतिको साझा उम्मेदवार हुने सोचका साथ अगाडि बढेका थिए, पौडेल । तर, प्रकाशमान सिंह र शेखर कोइराला पछाडि हट्न मानेनन् । अन्ततः पौडेलले १४ औं महाधिवेशनमा कुनै पदमा पनि उम्मेदवारी दिएनन्, मतदान पनि गरेनन् । उनले कसैलाई पनि साथ र सहयोग दिने वचन पनि दिएनन् । बरु महाधिवेशन प्रतिनिधिलाई विवेक प्रयोग गर्न उनले निर्देशन दिए । 

रामचन्द्र पौडेल सभापतिको उम्मेदवारीबाट बाहिर निस्किँदासम्म शशांक कोइराला पनि बाहिरिइ सकेका थिए । तर, प्रकाशमान र शेखर चाहिँ बाहिरिन चाहेनन्, उनीहरु दुवै चुनावी मैदानमा ओर्लिए । धेरैको अनुमान थियो, यी दुईमध्ये एक जना मात्र उम्मेदवार भएको भए पहिलो चरणमा नै उनीहरुको पोल्टामा नतिजा जान पनि सक्थ्यो । 



तर, न प्रकाशमानले शेखरलाई साथ दिए, न शेखरले प्रकाशमानलाई । पहिलो चरणमा सभापतिको टुंगो नलाग्ने भए पछि दोस्रो चरणमा यी दुई एकै ठाउँमा हुनेछन् भन्ने पनि अनुमान गरिएको थियो । 

तर, मंगलबार विहान त्यस्तो भएन । देउवासँग आफ्नै निवास चाक्सीबारीमा भेटेपछि प्रकाशमानले आफूले देउवालाई साथ दिने बताए । उनले देउवालाई साथ दिने घोषणा गर्दै भनेका छन्, ‘उहाँले अब पार्टीलाई विधिपूर्वक चलाउँछु भन्नु भएको छ ।’ तर, के देउवाको यो भनाइकै कारण सिंहले उनलाई समर्थन गर्न खोजेका हुन् ?

‘उहाँले देउवालाई समर्थन गर्ने भन्दा पनि शेखरलाई असहयोग गर्नु भएको भनेर बुझ्नु पर्छ,’ उनीनिकट एक नेता भन्छन्, ‘प्रकाशमान सिंहसँग एउटा इगो छ, त्यही इगोका कारण उहाँले शेखरलाई असहयोग गर्नु भएको हो ।’ उनका अनुसार यसअघि शेखरले बारम्बार प्रकाशमान सिंहलाई काठमाडौंभन्दा बाहिर चिन्दैनन् भनेका थिए ।

अर्को हो, प्रकाशमानले शेखरलाई नेता मान्न नचाहनु । प्रकाशमान सिंह पार्टीमा महामन्त्री र उपसभापति भइसकेका छन्, उनले काठमाडौं जिल्ला सभापति भएर पनि पार्टीमा वर्षौं काम गरेका छन् । तर, शेखर कोइराला अहिलेसम्म कांग्रेसमा केन्द्रीय सदस्यबाहेक पदाधिकारीमा केही भएका छैनन् । सरकारमा सहभागितामा पनि प्रकाशमानभन्दा धेरै पछाडि छन्, शेखर ।

‘उहाँले शेखरलाई आफ्नो नेता मान्नै सक्नुहुन्न,’ ती नेता भन्छन्, ‘त्यसैले प्रकाशमानले शेखरलाई समर्थन नगर्नु स्वभाविक हो ।’

  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १३:१२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया