शान्तिको सन्देश दिन अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं– प्रत्येक मानिसको भावनात्मक संवेगलाई शान्तिमा ल्याउने प्रयासमा सबै लाग्नुपर्ने शनिबार आयोजित एक कार्यक्रमका सहभागीले सुझाब दिएका छन् । ललितपुरमा क्रोधरहित संसार र ग्लोबल पिसले कार्यक्रम आयोजना गरेको हो । 

विश्व शान्तिका लागि व्यक्तिको व्यवहार र भावनात्मक परिवर्तन गर्दै मानव संशाधनको विकास गर्नका लागि भएको ‘आठौँ अन्तराष्ट्रिय सम्मेलन’ मा सहभागीले विश्वमा शान्ति कायम गर्नका लागि प्रत्येक मानिसको भावनात्मक संवेगलाई शान्तिमा ल्याउनुपर्नेमा जोड दिएका छन् । 

सम्मेलनमा भारतस्थित प्यासिफिक एकेडमी अफ हाइएर एजुकेसन एन्ड रिसर्च विश्वविद्यालय उदाइपुरका व्यवस्थापन संकायका डिन प्रा.डा. महिमा विर्लाले प्रत्येक मानिसको व्यवहारमा शान्ति भएमात्र विश्वमा शान्ति कायम गर्न सकिने बताइन् । उनले शान्ति कायम गर्नका लागि संवेगात्मक शिक्षा आवश्यक भएको बताइन् । देशको आर्थिक विकास पनि शान्ति नभई नहुने भएकाले शान्ति र विकासलाई समेत सँगसँगै लैजानुपर्ने उनको धारणा थियो ।  

कार्यक्रममा मलेसिया विश्वविद्यालयकी शिक्षा संकाययका प्रोजेक्ट डाइरेक्टर प्रा.डा. साध सिराजले व्यक्तिगत रूपमा भित्रैबाट मानिसको आत्ममा शान्ति भए मात्र विश्वशान्ति हुने बताइन् ।  कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. तुलसीराम वैद्यले मानिसमा भएको व्यवहार र आत्मालाई नियन्त्रणमा राख्दै विश्वभर नै मानिसलाई शान्तिमा ल्याउन सकिने बताए । प्रा.डा. शिशिर सुब्बाले शान्ति कायम गर्नका लागि मानिसको मानवीय व्यवहारमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए । 

आयोजक संस्था क्रोधरहित संसारका अध्यक्ष देशमर्दन वस्नेतले सम्मेलनले मानिसलाई कसरी आफूभित्रको चिन्तन हटाइ शान्तिपूर्वक बस्न सकिन्छ भन्ने सन्देश दिएको बताए । सम्मेलन संयोजक मुकुन्दराज खनालले मानिसको आत्मालाई नियन्त्रण गरी शान्ति कायम गर्नका लागि सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

एकदिने सम्मेलनमा नेपालसहित विश्वका भारत, अमेरिका, मलेसिया, इथोपिया, अष्ट्रेलिया, बेलायत, अष्ट्रिया, थाइल्यान्ड र इजिप्टबाट आएका मनोवैज्ञानिकहरुले विश्वमा शान्ति कायम गर्नका लागि व्यक्तिमा कसरी शान्ति ल्याउने भन्नेबारे अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरेका छन् । 



सम्मेलनमा मनोवैज्ञानिक तथा मानसिक स्वास्थ्य, बुद्ध, धर्म र संस्कृति, शान्ति शिक्षा, भावनात्मक साक्षरतालगायत ५७ वटा कार्यपत्र प्रस्तुत गरिएका छन् । सम्मेलनमा क्रोधरहित समाज स्थापना गर्न भूमिका निर्वाह गरेका बेलायतका वरिष्ठ मनोवैज्ञानिक डा. एन्टिगोनस सोकसलाई २५ हजार रुपैयाँ राशि रहेको ‘द डिन अफ पिस’ पुरस्कार प्रदान गरिएको छ । विसं २०६४ बाट हरेक वर्ष नेपालमा उक्त सम्मेलन हुँदै आएको छ । 



  • प्रकाशित मिति : मंसिर ८, २०७५ शनिबार १५:८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया