शिक्षामन्त्रीलाई विद्यार्थीको कोसेली : साग र टमाटर

मन्त्री नियुक्त भएसँगै देशभरका विभिन्न विद्यालयको आकस्मिक निरीक्षणमा लागेका शिक्षामन्त्री देवेन्द्र पौडेल बिहीबार काठमाडौंको बुढानीलकण्ठ स्कुलमा पुगे । मन्त्री पौडेलले सो विद्यालयको शैक्षिक गतिविधिको निरीक्षण मात्र गरेनन्, विद्यालय परिवारले उत्पादन गरेको साग तथा टमाटर ‘कोसेली’समेत पाए ।  

निजी विद्यालयमा आकर्षण बढिरहेका बेला सीपसहितको शिक्षाका लागि अनवरत रुपमा खटिएको छ, बुढानिलकण्ठ माध्यमिक विद्यालय । ५ देखि १२ कक्षा सञ्चालन गरेको विद्यालयमा एक हजार १ सय ३५ विद्यार्थी छन् । उनीहरु पनि विद्यालयको करेसाबारीमा काम गर्छन् । सरकारले ल्याएको पढ्दै कमाउँदै कार्यक्रम लागू हुने चरणमा रहेका बेला विद्यालयले गरेको कामको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रशंसा गरे । 

विद्यार्थी र शिक्षकका लागि होस्टेलको व्यवस्था भएको विद्यालयमा आइटी, विज्ञान, कृषिलगायत विषयमा प्रयोगात्मकसहित अध्ययन हुन्छ । ‘सिक्दै, सिकाउँदै, रमाउँदै कमाउँदै’ भन्ने नाराका साथ विद्यालयले विद्यार्थीलाई जीवनउपयोगी शिक्षासहित अध्ययन गराइरहेको छ । देशकै उत्कृष्ट नतिजा ल्याउने दाबी गरेको विद्यालयले डा. महावीर पुनको सहयोगमा विज्ञान प्रयोगशालामार्फत रोबट बनाउने काममा अनुसन्धान गरिरहेको छ । 

बिहीबार बिहान सोही विद्यालयको निरीक्षण गर्न गएका मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि आफ्नो पहिलो प्राथमिकता रहेको बताए । विद्यालयले निर्वाहमुखी कृषि प्रणालीभन्दा वैज्ञानिक कृषि प्रणालीमा आधारित रहेर काम गर्नुपर्ने मन्त्री पौडेलले सुझाब दिए । 

बजारमा जमिनको अभाव भएको बताउँदै भएको जमिनलाई व्यवस्थित गरी सिक्दै कमाउँदै कार्यक्रमलाई उदाहरणको रुपमा देखाउन मन्त्रीले आग्रह गरे ।  विद्यालयका प्रध्यानध्यापक होमनाथ आचार्यले विद्यालयले उत्पादन गरेको तरकारी बजारीकरण गरेर आम्दानी गर्न थालेको बताए । 
 
‘११ सय ३५ विद्यार्थीलाई तरकारी बाहिरबाट ल्याउन पर्दैन,’ विद्यालयका प्रध्यानध्यापक आचार्य भन्नुभयो,‘ तरकारी खेतीबाट पहिलो सिजनमा १५ लाख आम्दानी गर्न सफल भयौँ ।’ उनका अनुसार विद्यालयले लोकल जातको विरुवा उत्पादन गरी अध्ययन अनुसन्धानका लागि आउने अनुसन्धानकर्ता फिल्डमा आएर अवलोकन गर्न पाउनेछन् । 

कक्षा ५ देखि १२ कक्षासम्म पढाइ हुने विद्यालयलमा विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सीप सिकाउने गर्दछ । निरीक्षणमा पुगेका शिक्षामन्त्री पौडेललाई विद्यालयको विज्ञान ल्याब बनाइदिन विद्यार्थीले आग्रह गरेका थिए । 





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १७:५७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया