भावावेशमा होइन, राजनीतिक पुँजी बचाइराख्न मन्त्री पदबाट राजीनामा गरेँ : मीनेन्द्र रिजाल

कांग्रेस महामन्त्रीमा पराजित भएसँगै रक्षामन्त्रीबाट राजीनामा गरेका मीनेन्द्र रिजालले आफूले भावावेशमा नभई राजनीतिक पुँजी बचाइराख्न मन्त्री पदबाट राजीनामा गरेको स्पष्ट पारेका छन् । पार्टीको १४औँ महाधिवेशमा महामन्त्री पदमा पराजित भएपछि मन्त्री रिजालले बिहीबार अपराह्न रक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री पदबाट राजीनामा गरेको जानकारी गराएका हुन् । 

उनले लामो राजनीतिक जीवनबाट आर्जन गरेको सम्पत्ति ‘राजनीतिक पुँजी’ बचाइराख्न रक्षामन्त्री पदबाट राजीनामा गरेको स्पष्ट पारे । भावावेशमा नभई राजनीतिक सम्पत्ति गुमाएँ कि भन्ने लागेर आफूले राजीनामा गरेको उनले बताए । आफू राजनीतिमा हारेको वा थाकेको सिपाही नभई दृढ निश्चयका साथ अघि बढ्न सक्ने आत्मविश्वासका साथ उभिएको पनि उनले बताए । 

उनले भने, ‘राजनीतिक सम्पत्ति गुमाएँ किजस्तो लाग्यो । मैले निर्वाचन हारेको मात्रै होइन । त्यसैले पनि राजनीतिक पुँजी बचाएर राख्नुपर्छ भन्ने लागेर नै यो राजीनामा गरेको हो । अहिलेको निर्णय रक्षामन्त्री पदबाट राजनीनामा दिने निर्णय मात्रै हो । त्योभन्दा अगाडि के हुन्छ सोचेको छैन ।’

आफ्नो राजीनामाले व्यक्तिगत जीवनमा उतारचढाव भए पनि कांग्रेस निश्छल बगिरहने उनले बताए । गहिरो भाव र निश्चय भावका साथ म अगाडिको निर्णय गर्न सक्ने ठाउँमा उभिएको र यो विषयमा कसैसँग सल्लाह नगरेको उनले बताए । 

व्यक्तिगत जीवनमा पनि आफूलाई सन्तुष्टि हुने ठाउँ चाहिने उल्लेख गर्दै उाले भने, ‘कतिपयलाई लाग्यो, मीनेन्द्र इमोसनमा पुगेर, झण्डै ६५ वर्ष पुग्न लागेको मान्छेलाई इमोसनलको कुरा के छ र ? आत्मश्साघा भन्नुहोला । आत्मविश्वास त छ । मन्त्री रहेर–नरहेर क्रियाशील राजनीतिमा रहेर–नरहेर म दृढ निश्चयको भावमा उभिएको छु । राजनीतिमा हारेको, थाकेको सिपाही होइन ।’

महामन्त्रीमा उम्मेदवारी दिँदै गर्दा पराजित हुनुपरे पनि आफूभन्दा सक्षम र सबैले पत्याएका मान्छेलाई छाडेर जानेमा आफू ढुक्क भएको भन्दै उनले पार्टी अझै सक्रियताका साथ अघि बढोस् भन्ने कामना गरे । आफूले कुनै लेनदेनबाट शेखर कोइरालालाई समर्थन नगरेको पनि उनले स्पष्ट पारे । आफूले कुनै लेनदेनबाट शेखर कोइरालालाई समर्थन नगरेको पनि उनले स्पष्ट पारे ।  



उनले पार्टीले चित्तबुझ्दो जिम्मेवारी नदिए राजनीतिबाटै अलग हुन सक्ने संकेत गरे । सञ्चारकर्मीको जिज्ञासामा उनले सक्रिय राजनीतिबाट अलग हुने निर्णयमा आफू पुगिनसकेको भए पनि त्यो सम्भावनालाई पनि ननकार्ने बताए । 

मन्त्री रिजालले आफ्नो राजीनामा पत्र प्रधानमन्त्रीलाई बुझाएपछि मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका हुन् । 



फरकधारको यो भिडियो पनि हेर्नुहोस्

  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १८:१४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया