देउवा प्यानलका महामन्त्रीविरुद्ध लागेका सात प्रदेशका सात नेता

नेपाली कांग्रेसको आज दिउँसो सार्वजनिक भएको महामन्त्री पदको नतिजाले आम कांग्रेसी कार्यकर्तामा खुसी जगाएको छ । कांग्रेसी मात्र होइन, अन्य दलका नेताहरुले समेत कांग्रेसमा मतदाताले सही उम्मेदवार निर्वाचित गरेको भन्दै व्याख्या गरेका छन् । 

आज आएको मतपरिणामअनुसार दुईतिहाइ मत ल्याएर गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएका छन् ।

यी दुवै उम्मेदवार सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलका होइनन् । थापा सभापतिका अर्का आकांक्षी शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका थिए भने शर्मा प्रकाशमान सिंह प्यानलबाट । 

कांग्रेस सभापतिमा दोस्रो पटक निर्वाचित हुन शेरबहादुर देउवाले पार्टीमा कृष्णप्रसाद सिटौलासँग पहिले नै एलायन्स बनाएका थिए । त्यसका कारण उनको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थिए, प्रदीप पौडेल । पौडेलले जित्ने वा नजित्नेमा त्यति धेरै चासो देउवाले दिएका थिएनन्, तर आफूनिकट नेता प्रकाशशरण महतले चाहिँ महामन्त्रीमा पक्कै जित्नेछन् भन्ने आशामा थिए देउवा ।

तर, महामन्त्रीमा प्रकाशशरण पराजित मात्र भएनन्, उनले देउवाले सभापतिमा पहिलो चरणमा ल्याएको भन्दा निकै कम मत ल्याएका छन् । सभापतिका लागि उम्मेदवारी दिएका देउवाले पहिलो चरणमा २२५८ मत ल्याएका थिए । तर, महामन्त्रीमा महतले १५५६ मत ल्याए । यो ७ सय मतको अन्तरलाई लिएर अहिले देउवामात्र होइन, उनीनिकट नेताहरु पनि यसबारे चर्चा गरिरहेका छन् ।

अनि यसको कारणलाई उनीहरुले देउवाको समूहमा बढ्दो गएको असन्तुष्टिका रुपमा लिएका छन् । सिटौलासँग एलायन्स गर्नु देउवाको आफू जित्ने चाल भएको बताइएको मात्र छैन, यसले उनको समूहमा असन्तुष्टि व्यापक बढेको पनि बताइएको छ ।



प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएपछि त्यो समूहका ज्ञानेन्द्र कार्की, बालकृष्ण खाँण, रमेश लेखक र एनपी सावदले देउवालाई आफूहरुले असहयोग गर्ने नै बताएका थिए ।

यी सबै देउवा प्यानलबाट यसपटक महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा थिए । कतिसम्म भने खाँणले त आफूले गृहमन्त्री छाडेर भए पनि महामन्त्रीमा उम्मेदवारी दिने बताएका थिए ।
सँगसँगै प्रकाशशरण महतलाई पनि देउवाले अगाडि ल्याएपछि यी लगायतका नेताले पनि असन्तुष्टि जनाएका थिए ।



यसरी असहयोग गर्ने र देउवालाई बाहेक अरुलाई मत नदिन उनीहरुले महाधिवेशन प्रतिनिधिलाई सन्देशसमेत पठाएको कांग्रेसका एक नेता बताउँछन् । महतनिकट ती नेताका अनुसार प्रदेश १ का ज्ञानेन्द्र कार्की, २ बाट विमलेन्द्र निधि, बागमतीबाट महालक्ष्मी उपाध्याय डिना, लुम्बिनीबाट बालकृष्ण खाँण, कर्णालीबाट पूर्णबहादुर खड्का, सुदूरपश्चिमबाट एनपी सावद र रमेश लेखकले पौडेल र महत दुवैलाई हराउन चाहेका थिए ।


  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार २२:५४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया