के यही सरकारमा उपप्रधानमन्त्री बन्दै छन् प्रकाशमान सिंह ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । यो महाधिवेशनमा उनले चाहेजस्तो पहिलो चरणमा नै उनी सभापतिमा निर्वाचित हुन सकेनन् । दोस्रो चरणमा सभापतिमा निर्वाचित हुन प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले प्रकाशमान सिंहको पनि साथ लिए ।

पहिलो उनीविरुद्धको टिममा रहेका प्रकाशमान सिंह सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने भए पछि एकाएक उनको समर्थनमा देखिए । यसका लागि देउवाले केही कसरत चाहिँ गरेका थिए ।

मंगलबार विहान जसै सभापतिको पहिलो चरणको नतिजा आयो, उनले सबैभन्दा पहिले आफ्ना विश्वासपात्र समेत रहेका परराष्ट्रमन्त्री नारायण खड्कालाई सिंह भेट्न चाक्सीबारीमा पठाए । सिंहसँगको वार्तापछि खड्काले देउवालाई ग्रिन सिग्नल दिए । देउवा त्यति बेला नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान समारोहमा थिए । त्यहाँबाट उनी सोझै चाक्सीबारी पुगे । 

आफ्नै समूहका विमलेन्द्र निधिसँग भन्दा पहिले इतर समूहमा रहेका सिंहसँग पछिल्ला वर्षमा बढेको दूरी घटाउन चाहन्थे, देउवा । देउवाले निधिलाई समर्थनका लागि अनुरोध गर्नुभन्दा पहिले सिंहलाई आफूसँग जोड्न खोजे । हुन पनि पहिलो चरणको सभापति निर्वाचनमा निधिको भन्दा सिंहको पक्षमा धेरै मत देखिएको थियो । सिंहले पहिलो चरणमा ३ सय ७१ मत ल्याएका थिए ।

चाक्सीबारीमा लामो समय देउवा बस्नै परेन, त्यसअघि नै खड्काले सिंहलाई कन्भिन्स गरिसकेका थिए । सिंहसँग भेट भएलगत्तै सिंहले भने, ‘उहाँले आफ्ना कमजोरी सच्याउँछु भन्नु भएको छ, मैले सभापति निर्वाचनमा उहाँलाई समर्थन गर्ने निर्णय गरेँ ।’

सिंहको यो निर्णय अप्रत्याशित थियो । कतिसम्म अप्रत्याशित भने उनकी पत्नी सिर्जना सिंहले आफूलाई समेत यो विषयमा त्यसअघि थाहा नपाएको सार्वजनिक रुपमा नै भनेकी छिन् । उनले सामाजिक सन्जाल ट्विटरमा ट्विट गरेकी छिन्, ‘पार्टीमा पचासौँ वर्ष गरेको योगदान लगानीको अवमूल्यन र भित्तामै पुग्नेगरि हान्दाको परिणाम जस्तो लाग्यो मेरो विचारमा । निर्णय गर्नुअघि मलाई पनि जानकारी थिएन । भेटघाट पछि (शेरबहादुर देउवासँगको) प्रेसमा जुन किसिमले प्रस्तुत हुनु भयो र तालीको आवाज आयो, म पनि दौडेर झर्दा म नै एकछिन रनभल्लमा परेँ ।’



सामाजिक सन्जालमा देउवाले कुनै मन्त्री पद वा निर्वाचनपछि प्रधानमन्त्री अफर गर्ने कुरा गरेर प्रकाशमानलाई आफ्नो समर्थनमा लिएको भन्ने विषयमा उठेको जिज्ञासामा सिर्जनाले यस्तो जवाफ दिएकी हुन् । यो प्रसंग निस्किएपछि उनले बारम्बार यही आशयका अरु ट्विट पनि गरेकी छिन् ।



उनले अर्को एउटा ट्विटमा राजनीतिमा इगोका कारण यस्तो निर्णय नभएको पनि प्रष्टिकरण दिएकी छिन् ।

प्रकाशमानपत्नी सिर्जनाले यस्तो प्रष्टिकरण दिए पनि सामाजिक सन्जालमा मात्र होइन, कांग्रेस वृत्तमा पनि प्रकाशमान सिंह अब उपप्रधानमन्त्री भएर यही सरकारमा सहभागि हुने विषयमा व्यापक चर्चा हुन थालेको छ । 

झन्, आफूले महामन्त्री पदमा पराजय भोगेपछि नैतिकताको आधारमा भन्दै रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिए पछि यही पदमा प्रकाशमान सिंह आउन सक्ने अनुमान बढ्न थालेका छन् । मिनेन्द्रको राजीनामा, प्रकाशमान सिंहले सभापतिमा देउवालाई समर्थन गर्नु, उनको प्यानलबाट महामन्त्री उम्मेदवार भएका विश्वप्रकाश शर्माले जित निकाल्नुले यो सरकारमा सिंह सहभागि हुनसक्ने सम्भावना थप बढाएको छ ।

हामीले यही विषयमा सिंहनिकट एक नेतासँग कुराकानी गरेका थियौँ । उनले यो विषयमा आफू त्यति धेरै जानकार नभएको र यसबारे सिंहले पछिल्लो समय ठोस कुरा नगरेको बताए ।

‘राजनीतिमा पावर सेयरिङ र बार्गेनिङ हुने कुरा सामान्य हो,’ उनले भने, ‘सभापतिको दोस्रो चरणको निर्वाचनमा हामीले पहिले त शेखर कोइरालालाई नै समर्थन गरिन्छ होला भन्ने सोचेका थियौँ तर यस्तो भएन । अप्रत्याशित रुपमा नै सिंहको निर्णय आएको हो ।’

त्यसो भने के उपप्रधानमन्त्री बनेर सिंह सरकारमा सहभागी हुन लागेका हुन् त ? हामीले ती नेतालाई यो प्रश्न गर्यौँ ।

‘तत्काल सरकारमा जाने पोलिटिकल्ली इनकरेक्ट हुन्छ,’ उनले भने, ‘तर, यसअघि सरकार बन्दा देउवाले प्रकाशमान सिंहसँग कुनै सल्लाह गरेनन्, शशांक र सिटौलालाई भाग दिँदा प्रकाशमान सिंहको भागमा कोही परेन । अब एउटा मन्त्रालय खाली भएको छ, त्यसमा प्रकाशमान सिंहको कोटाबाट कोही मन्त्री बन्दा अन्यथा नमान्दा हुन्छ ।’

तर, कांग्रेसका अर्का एक नेता चाहिँ प्रकाशमान सिंह नै उपप्रधानमन्त्री भएर सरकारमा गएको खण्डमा पनि आश्चर्य मान्न नहुने बताउँछन् । ‘देश अब चुनावी अजेन्डामा प्रवेश गरेको छ,’ उनले भने, ‘चुनावमा आफूलाई बलियो बनाउन पनि सरकारमा हुँदा सहज हुन्छ, त्यसैले रक्षा मन्त्रालयको जिम्मेवारी लिएर नै प्रकाशमान सिंह सरकारमा जाँदा अनौठो मान्नु पर्दैन ।’

  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार ११:१२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया