देउवालाई ओलीको सन्देश– गठबन्धन भत्काए एमसिसी अनुमोदन गर्न सहयोग गर्छौँ
फाइल तस्वीर ।

गठबन्धनका दलहरुको मत विभाजित भइरहँदा र अमेरिकी दबाब बढिरहँदा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)सँग भएको अनुदानसम्बन्धी सम्झौता अनुमोदन गराउन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निकै चुनौतीपूर्ण देखिएको छ । 

यी चुनौती हटाउनका लागि प्रधानमन्त्री देउवाले विभिन्न प्रयासहरु सुरु गरेका छन् । तर, उनी सफल हुने सम्भावना कम छ । ६ पुसमा बोलाइएको प्रतिनिधिसभा बैठकमा नै प्रधानमन्त्री देउवाले एमसिसीसम्बन्धी योजना लैजाने प्रयास गरेका छन् । 

तर, गठबन्धनमा नै भएका दलको मतभिन्नता तथा विपक्षी दल नेकपा एमालेको अडानका कारण देउवा यसमा सफल नहुने सम्भावना बढेको छ । देउवाले यही विषयमा छलफल गर्नका लागि आइतबार बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने जनाइसकेको छ । अहिले प्रतिपक्षमा रहेको नेकपा एमालेले यही अवस्थामा संसदबाट एमसिसी पारित हुन पनि नदिने बताएको छ ।

‘परिमार्जन गरेर र राष्ट्रिय सहमतीको एउटा खाका बनाएर अगाडि बढ्ने कुरा अलग हो,’ नेकपा एमालेका एक सांसद तथा एमाले अध्यक्ष ओलीनिकट एक नेता भन्छन्, ‘अन्यथा यही अवस्थामा हामीले जनताको माग र सरोकार, चासो र चिन्तालाई हेर्नुपर्छ, हामी एमसिसी पारित हुन दिँदैनौँ ।’

आइतबारका लागि बोलाइएको सर्वदलीय बैठकमा यो अजेन्डालाई अगाडि ल्याउन देउवाले सर्वदलीय बैठकअगाडि सत्ता गठबन्धनको बैठक पनि बोलाएका छन् । गठबन्धनको बैठकमा उनले यस विषयमा गठबन्धनका सबै दलको एकै धारणा हुनु पर्नेमा जोड दिन खोजेका छन् ।

अर्कोतिर एमसिसीको विषयमा देउवालाई सबैभन्दा ठूलो चुनौती बनेको छ, प्रमुख प्रतिपक्ष दल एमाले ।



एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा प्रधानमन्त्री भए पछि बारम्बार यो विषयमा उनीसँग कुराकानी गरेका छन् । देउवा सरकारले संसदमा सरकारका नीति तथा कार्यक्रमको परिमार्जन प्रस्तुत गर्दा एमसिसीबारे उल्लेख नभए पछि ओलीले संसदमा नै जवाफ दिँदा एमसिसीबारे चासो राखेका थिए ।

शनिबार साँझ आइतबारको बैठकबारे कुरा गर्न प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेका थिए । यसअघि कांग्रेस सभापतिमा देउवा निर्वाचित भएपछि बधाई दिन ओलीले टेलिफोन गर्दा पनि एमसिसीको विषयमा कुराकानी भएको थियो ।



‘हामी स्पष्ट रुपमा राष्ट्रिय सहमति नभएसम्म एमसिसी पारित गर्न हुँदैन भनेका छौँ,’ ओलीनिकट ती नेताले फरकधारलाई भने, ‘अध्यक्षज्यूले पनि यही सन्देश दिनु भएको छ । उहाँले गठबन्धनको आडमा एमसिसी पारित हुनु नहुने पनि बताउनु भएको छ ।’

ती नेताका अनुसार अहिले बनेको सत्तारुढ गठबन्धन यही एमसिसीका कारण विभाजित हुने संकेत ओलीले पाएका छन् । ‘उहाँले ठ्याक्कै तपाईंहरु फुट्नुस् भन्नु भएको त होइन,’ ती नेताले भने, ‘तर, सरकारमा रहेको कांग्रेसलाई एमालेले सहयोग गर्न तयार छ, यसका लागि उसले अरु दलको साथ छोड्न पर्ने पनि हुनसक्छ ।’

देउवानिकट एक नेताले पनि ओलीले गठबन्धन भत्काउन चाहेको कुराको पुष्टि गरेका छन् । ‘एमाले अध्यक्ष ओलीले यो सरकारलाई कमजोर बनाउने रणनीति लिएका छन्,’ देउवानिकट एक नेताले फरकधारलाई बताए, ‘त्यसका लागि उनले एमसिसीलाई अस्त्र बनाएका छन् ।’

  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार १४:२६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया