कैलालीका युवक हत्या प्रकरण : प्रहरीले भेटेको अडियोमा के छ ?

कैलालीको जानकी गाउँपालिका- ९ का २५ वर्षीय अर्जुन दासको बीभत्स हत्यापछि उनको परिवार शोकमा छ । स्थानीयले हत्याराको पहिचान नहुँदासम्म शव नउठाउने अडान लिएका छन् ।

शुक्रबार परिवारबाट सम्पर्कविहीन भएका दासको शव शनिबार दिउँसो जानकी गाउँपालिकाका–९ कै अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको छिनालिएको अवस्थामा भेटिएको थियो ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीको टिम तालिम प्राप्त कुकुरसहित शनिबार साँझ नै घटनास्थलमा पुगेको थियो । प्रहरीले हत्या गरिएपछिको अडियोसमेत फेला पारेको छ ।

प्रहरी उपरीक्षक (एसपी) अधिकारीका अनुसार हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएपछि फोनमा भएको कुराकानीको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । उक्त फोन रेकर्ड मृतककी श्रीमतीबाट बरामद भएको प्रहरी जनाएको छ ।

मृतककी श्रीमतीलाई फोन रेकर्ड पठाउने व्यक्ति र फोनमा कुराकानी गर्ने व्यक्तिको खोजी सुरु जनाएको छ । फोन रेकर्डमा आफूलाई मनोज भनेर परिचय गराएका युवकले एक जनाको घाँटी रेटेर टाउको छिनालिएको बताएका छन् ।

प्रहरीले बरामद गरेको अडियोमा भनिएको छ, ‘घाटी अलग छ शरीर अलग छ । तपाईं एक/दुई दिनमा थाहा पाउनुहुन्छ ।’ मनोजले नेपालगञ्जबाट रुपडिया नाका हुँदै भारत गइरहेको पनि फोनमा भनेका छन् ।



एसपी अधिकारीका अनुसार आफूलाई मनोज भनेर परिचित गराउने व्यक्ति दासकै छिमेकी मनोज भण्डारी हुन् । ‘हत्यामा ४/५ जना संलग्न भएको देखिन्छ । सबै फरार छन्’ एसपी अधिकारीले भने, सबैको खोजतलासमा लागिरहेको छ ।’

प्रहरीका अनुसार दासको बीभत्स ढंगले हत्या गरिएको छ । उनलाई सुरुमा रूखमा बाँधेर नग्न बनाइएको छ । त्यसपछि घाँटी रेटेर टाउको अलग बनाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशी, प्रदेशको आरआईटीका समूह र टीकापुर प्रहरीको टोली घटनास्थलमा छानबिन गरिरहेको एसपी अधिकारीले जानकारी दिए ।



मृतक दासका बुवा, आमा र दाइ भारतमा रोजगारीको लागि बस्दै आएका छन् भने जानकी गाउँपालिकामा उनका श्रीमती, छोरी र भाउजू बस्दै आएका छन् । स्थानीयका अनुसार दास भने नेपाल–भारत आउजाउ गरिरहन्थे । एक प्रहरी अधिकारीका अनुसार लागुऔषध प्रयोगकर्ताको अखडा बन्दै गएको सो क्षेत्रमा लागुऔषधकै विषयमा भएको विवादले बीभत्स हत्या निम्त्याएको हो ।

‘परिवारका सदस्यले दिएको जानकारीअनुसार उनी शुक्रबार साँझ साथीसँग जान्छु भनेर निस्केका थिए, घटनामा छानबिनमा खटिएका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले भने, ‘बीभत्स अवस्थामा उनी मृत फेला परेका हुन् ।

कैलालीको पूर्विक्षेत्रमा एकपछि अर्को बीभत्स हत्याका घटना हुन थालेपछि स्थानीयमा त्रास बढेको छ । टीकापुरका भूपेन्द्र खड्काले भने, ‘सुरक्षाको प्रत्याभूति नै भएन, को कहाँ कसरी मारिने हो भन्ने डर छ ।’

दुई महिनाअघि एक युवकको चक्कु प्रहारबाट टीकापुर नगरपालिका-८ का एक युवकको ज्यान गएको थियो । प्रहरीले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै स्थानीय आक्रोशित छन् ।

 

  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार १९:१५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया