गलेका सूत्रधार

१२ मंसिरमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबाट पार्टी रूपान्तरणका दृष्टिकोणहरू सार्वजनिक भए । त्यसलाई ‘कांग्रेसको अबको बाटाे : रूपान्तरणका दस सूत्र’ भनियो । सार्वजनिक हुँदा महाधिवेशन हुन १२ दिन बाँकी थियो ।

ती सूत्रलाई गणितमा जसरी पार्टी सञ्चालनमा प्रयोग गरिँदा रूपान्तरण हुने उनको दाबी थियो । र, भनेका थिए- सूत्रहरूको कार्यान्वयन गर्न अभियान चलाइनुपर्छ ।

त्यसबेला उनले के भनेनन् भने सभापति पदका उम्मेदवारको हैसियतबाट रूपान्तरणबारे दृष्टिकोण सार्वजनिक गरेको हुँ । त्यसो भन्‍न सकिने अवस्था पनि थिएन । कारण, संस्थापनइतर पक्षबाट सभापतिको साझा उम्मेदवार तय भएका थिएनन् । हुन त उनी इतर पक्षको शीर्ष नेता थिए ।

यिनै सूत्रधारबाट मतदान हुने दिन २७ मंसिरमा विज्ञप्ति सार्वजनिक भयो । जहाँ उल्लेख थियो ‘चौधौँ महाधिवेशसम्म आइपुग्दा मैले अनेक प्रपञ्च भोगेको छु । प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्नपर्ने अवस्थामा म पुगें ।’

आखिर, पार्टीलाई गतिशील, विचारशील र ऊर्जाशील बनाउन रूपान्तरणको सूत्रपात गर्ने पौडेल १५ दिनमै लल्याकलुलुक भए । अर्थात् भुतुक्कै गले । कारण हो- साझा उम्मेदवार आफू हुन नसक्नु र डा. शेखर कोइराला, प्रकाशमान सिंह र डा. शशांक कोइरालामध्येबाट पनि हुन नसक्नु।

जसकारण प्रतिस्पर्धाको मैदानबाट पर भए । तटस्थ रहने भने । यद्यपि, भित्री सहयोग सभापति पदका उम्मेदवार डा. शेखर कोइरालालाई रह्यो । मतदान चाहिँ गरेनन् । उनै नेता पौडेलका अब १० सूत्र अलपत्र पर्ने देखिएको छ । सात संकल्प गरेका डा. शेखरले त अर्कोपटक सभापति भए कार्यान्वयनमा ल्याउलान् । तर, उमेरका कारण अर्कोपटक पौडेल सभापतिमा प्रतिस्पर्धा गर्न सक्ने स्थिति न्यून छ ।



संविधानको निष्ठापूर्वक कार्यान्वयन, विधानको मर्यादा पालनादेखि निमुखालाई न्याय र विपन्‍नलाई आयको मुद्दालाई सूत्रमा समेटिएका छन् । लोकतन्त्रको भविष्य उज्यालो पार्ने सवाल पनि उठान छ ।  

यस्ता थिए पौडेलका कांग्रेस रूपान्तरणका सूत्रहरू



१) वर्तमान संविधानलाई निष्ठापूर्वक कार्यान्वयनमा ल्याऔं । समावेशी नेपाल साकार पारौं ।

२) कांग्रेसजनले पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्याकंनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत पारौं ।

३) विकृति, विसंगती र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गरौं ।

४) राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाऔँ । राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गरौँ ।

५) आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रुपले पछि पारिएका महिला, दलित, जनजाति र मधेसी तथा विपन्न जनता केन्द्रित नीति र कार्यक्रम अघि सार्दै कांग्रेसलाई ‘प्याडिकल सेन्टर’ बाटोमा हिँडाउने ।

६) निमुखालाई न्याय, विपन्नलाई आय हाम्रो मूल ध्येय हो । राज्यको सम्पति र स्रोतमाथि एउटै वर्ग र तप्काको मात्रै हालिमुहाली भएमा त्यो लोकतन्त्र हुन सक्दैन । स्रोत र अवसरको असमान वितरणले अन्ततः लोकतन्त्रलाई नै धरापमा पार्छ । मानिसलाई विशुद्ध मानिसको रुपमा हेर्ने सहानुभूतिशील दृष्टिकोण हाम्रो समाजवाद हो । स्वच्छन्दतावादी पुँजीवाद र एकमार्गी साम्यवाद दुवैबाट पृथक छ लोकतान्त्रिक समाजवाद । पहिले सबै बाचौँ अनि प्रतिस्पर्धा गरौँ । राज्य अदना जनताप्रतिको जिम्मेवारीबाट पन्छिन सक्दैन । तर, जतासुकै हस्तक्षेप पनि गर्दैन ।

७) विधिको शासन, समयबद्ध कार्यसम्पादन, चिन्तन र कर्मको संयोजन कर्मशील कांग्रेसको नारा हो । सैद्धान्तिक स्पष्टता र ऊर्जाशील प्रस्तुति तन्नेरी कांग्रेसको निश्चल चरित्र हुनुपर्छ । कसैका एजेन्डा बोक्न पर्दैन, आफ्ना एजेन्डा छोड्न पर्दैन । सात सालदेखि समान्तविरोधी एजेन्डा बोकेको कांग्रेस जसले २०१५ सालमा दुई तिहाई जनमसर्थन प्राप्त गर्यो । त्यही लोकतान्त्रिक समाजवादको सैद्धान्तिक आलोकमा कांग्रेसलाई उजिल्याउन अथक प्रयास गरौँ ।

८) सबै जनतालाई खान लाउन पुग्ने कृषि क्रान्ति र पर्यटनको विस्तार गरौं । देशलाई समृद्ध पार्न ऊर्जाक्रान्ति र आफ्नै विशेषता र सम्भाव्यतासहितको औद्योगिक क्रान्ति गरौँ ।

९) नेपाली विशेषता पहिचान गर्दै देशभक्तिको मर्म छुने, असंलग्नतामा आधारित हाम्रो राष्ट्रवादको विचारलाई अघि बढाऔँ ।

१०) कम्युनिस्टले छरेका भ्रम र झुटा आश्वासनबाट नेपाली जनतालाई मुक्त गर्दै नेपाली कांग्रेस विचार शून्य र दिशाहीन छैन भन्ने प्रमाणित गर्दै यसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाऔँ । राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाऔंँ । राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गरौँ । विकृति, विसंगती र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गरौँ ।

कांग्रेसमा रूपान्तरणको खाँचो औँल्याउने नेता पौडेल हाल महाधिवेशनबाट निर्वाचित नेताहरूलाई आशीर्वाद दिन व्यस्त छन् । आशीर्वाद थाप्न नेताहरू उनको निवास बोहराटार पुग्ने क्रम जारी छ। 

आइतबार बिहान मात्रै सहमहामन्त्रीद्वय भीष्मराज आङदेम्बे र उमाकान्त चौधरी पुगे । फरकधारसँग संक्षिप्त कुरा गर्दै आङदेम्बेले भने, ‘उहाँ (रामचन्द्र पौडेल) हाम्रो नेता हो । अग्रज हो । अग्रजबाट आशीर्वाद लिनु र पार्टी संगठनमा प्राप्त जिम्मेवारी निर्वाह गर्न लाग्दा सुझाव पनि लिने काम भयो ।’

नेता पौडेलको यसपटक एउटै चाहना थियो- सभापति हुनबाट देउवालाई रोक्ने । त्यसका लागि अघिल्लोपटक प्रतिस्पर्धा गरेको अनुभवसहित इतर पक्षबाट सकभर आफैं साझा उम्मेदवार हुने । नभए सिंह वा कोइरालाद्वयबाट साझा उम्मेदवार तय गर्ने । तर, कयौं बैठकमा पनि सहमति जुटाउन सकेनन् । त्यसपछि गलेका पौडेल महाधिवेशनमै सहभागी नभई अलग भए ।

देउवा सभापति बनेरै छाडे । सभापति हुनबाट रोक्न सकेनन् । र, हाल बोहराटारस्थित निवासमा आराम गरिरहेका नेता पौडेललाई महाधिवेशनबाट निर्वाचित नेताहरूलाई आशीर्वाद दिन भ्याइनभ्याइ छ ।

के राष्ट्रपति बन्दैछन् रामचन्द्र ?

राजनीतिमा हुने कुरा पनि हुन्छ । नहुने पनि हुन्छ । त्यही भएर भन्ने गरिन्छ- अनेक सम्भावना राजनीतिमा जहिल्यै हुन्छ । यसो भनेर जोड्न खोजिएको प्रसङ्ग नेता पौडेलसँगै हो । 

पार्टीको आन्तरिक राजनीतिमा देउवाका कटु आलोचक हुन् पौडेल । तर, महाधिवेशन अघि नै उनी भावी राष्ट्रपतिको रूपमा चर्चिए । १४ औँ महाधिवेशनमा सभापतिमा सहयोग गरेको अवस्थामा राष्ट्रपतिको उम्मेदवार बनाउने आश्वासन देउवाले दिएको नवनिर्वाचित सहमहामन्त्री आङदेम्बेले त्यसैबेला भनेका थिए ।

फेरि, देउवा र पौडेल विद्यार्थीकालका ‘रुममेट’ पनि हुन् । देउवा पाँचपटक प्रधानमन्त्री भइसके । पार्टी सभापति दुईपटक । राज्यसत्ता र पार्टी सत्ताको स्वाद चाखिसके । तर, फेरि प्रधानमन्त्री बन्ने चाहना देउवाको छ ।

पौडेल पनि देउवासँगै सभापतिमा प्रतिस्पर्धा गर्दा हार्न पुगे । प्रधानमन्त्री हुन १७ पटक खोज्दा तत्कालीन एकीकृत नेकपा माओवादीका उम्मेदवार डा. बाबुराम भट्टराईसँग हारे ।

सोहीकारण देउवाले उनलाई राष्ट्रपति बनाउने गरी अगाडि बढाउन सक्ने सम्भावना रहेको देउवा निकटका एक नेताले बताए । ती नेताका अनुसार पछिल्लो समय देउवा- पौडेल सम्बन्ध राम्रो पनि छ । 
 

  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १२:५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया