वडामै पुगेर नागरिकता दिँदै बाजुरा र बैतडी जिल्ला प्रशासन

जिल्ला प्रशासन कार्यालय बाजुराले पालिकाको केन्द्रमा नै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र दिने अभियान चलाएको छ । जिल्लाका ९ वटै पालिकाको वडामा नै पुगेर नागरिकताको प्रमाणपत्रका लागि लगत संकलन गरिरहेको प्रशासनले जनाएको छ ।

शारीरिक रूपमा अपाङ्गता भएका नागरिकका लागि आफन्तबाट गाउँमै सनाखत गराउँदै लगत सङ्कलन गरी प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । दुर्गम तथा हिमाली पालिकाका विकट वडाका नागरिकलाई गाउँमै सहज रूपमा नागरिकता प्रदान गर्नका लागि प्रशासनले वडा कार्यालयको सिफारिस र आफन्तको सनाखतअनुसार विवरण  सङ्कलन गर्न थालेको हो ।

जिल्लाको पूर्वी र उत्तरी भेगका चार पालिकामा कर्मचारी खटाएर विवरण सङ्कलन गरेर जिल्लामा ल्याउने काम भइरहेको प्रजिअ अधिकारीले बताए । हिमाली र जगन्नाथ गाउँपालिकामा प्रशासनको टोलीले नागरिकता सहायतामा सहजीकरण गरिरहेको छ ।

बिहीबार र शुक्रबार जगन्नाथ गाउँपालिकाको जुड्डीमा १९० जनाको र हिमाली गाउँपालिकामा शनिबार र आइतबार गरी २७५ जनाको विवरण  सङ्कलन गरिएको छ । गाउँपालिकामा रहेका नागरिकको नागरिकताका लागि आवश्यक प्रमाण जुटाएर उनीहरूलाई एक साताभित्र नागरिकता दिने गरी विवरण सङ्कलन गरिएको प्रजिअ अधिकारीले बताए ।

यस्तै, जिल्ला प्रशासन कार्यालय बैतडीले पनि फरक क्षमता भएका, जेष्ठ नागरिकलगायत अशक्तहरूलाई शिविरको आयोजना गरी नागरिकता प्रदान गरेको छ । नागरिकता लिन सदरमुकाम पुग्न नसक्नेका लागि पालिकामै टोली खटाएर नागरिकता दिन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पाण्डेसहितको टोली पालिकामा पुगिरहेको छ । पञ्चेश्वर गाउँपालिकाबाट सुरु गरिएको शिविर सबै पालिकामा सञ्चालन गरिने प्रजिअ पाण्डेले बताए । ‘जनतालाई सहज होला भन्ने उद्देश्यले जिल्लाका १० वटै पालिकामा गएर सेवा दिने कार्यक्रम बनाएका छौँ,’ उनले भने ।





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार ९:२७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया