नेपाली कांग्रेसका महामन्त्री गगन थापा नेता कृष्णप्रसाद सिटौला निवास पुगेका छन् ।
पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएको एक सातापछि थापा मंगलबार नेता सिटौला निवास पुगेर आशीर्वाद मागेका छन् ।
कांग्रेसको १३ औं महाधिवेशनमा थापा र सिटौला एउटै समूहमा थिए । सिटौला सभापति र थापा महामन्त्रीका उम्मेदवार थिए । दुवै पराजित भए । त्यसयता थापा सिटौला समूहबाट रामचन्द्र पौडेल समूहमा लागे ।
१४ औं महाधिवेशनमा थापा डा. शेखर कोइराला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिए । र, तीन हजारभन्दा बढी मत ल्याएर चुनाव जिते ।
महामन्त्री थापाले आशीर्वाद मागेपछि सिटौलाले पार्टीलाई एकढिक्का बनाएर लैजान सुझाव दिएका थिए । उनले विगतका तितामीठा कुरा बिर्सेर काम गर्न सल्लाह दिएका थिए ।
आइतबार मात्रै कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा नेता सिटौला निवास पुगी आशीर्वाद मागेका थिए । सिटौलाले आशीर्वाद दिँदै यो भन्दा पनि माथि पुग्नु भनेर आशिष दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।