रुस–युक्रेन बढ्दो टकराबको रहस्य

युक्रेनका तीन नौसैनिक जहाजमाथिको रुसी हमलापछि रुस र युक्रेनबीच तनाव बढेको छ । रुसले क्रिमियाई प्रायद्वीपनजिक युक्रेनका तीन जहाजामाथि हमला गरी कब्जामा लिएको थियो । 

यस घटनामा जहाजका ६ ‘क्रु मेम्बर’ घाइते भएका युक्रेनले बताएको छ । 

रुस र युक्रेनबीच क्रिमियालाई लिएर पहिलेदेखि नै तनाव चलिरहेको छ । सन् २००३ को सन्धिले रुस र युक्रेनमाझ कर्च जलमार्ग र अजोब सागरबीच जलसीमा बाँडेको छ । 

अजोब सागर जमिनले घेरिएको छ र काला सागरबाट कर्चको साँघुरो बाटो भएर मात्रै यसमा प्रवेश गर्न सकिन्छ । 

हालै रुसले युक्रेनको बन्दरगाहबाट आउने जहाजको निगरानी सुरु गरेको थियो, जसमा युक्रेनले विरोध जनाएको थियो । 

रुसले यो निगरानी तब सुरु गर्यो, जब युक्रेनले क्रिमियाबाट एक माछा मार्न प्रयोग हुने डुंगा कब्जामा लियो । जहाजहरूको जाँच सुरक्षाका कारण जरुरी रहेको रुसको भनाइ थियो, किनकि युक्रेनका कट्टरपन्थीहरूबाट पुललाई खतरा हुन सक्थ्यो । 



रुसले युक्रेनी जहाजहरू कब्जामा लिएपछि भने दुई देशबीचको टकराब गहिरो बनेको छ । 

यद्यपि, यस टकराबको सुरुआत आफूले नगरेको रुसको दाबी छ । उसको आरोप छ कि यी जहाज अजोब सागरमा गैरकानुनी रूपमा उसको जलसीमाभित्र घुसेका थिए । 



घटनापछि रुसले कर्चको साँघुरो जलमार्गमा रहेको एक पुलमुनि ट्यांकर तैनाथ गरी अजोब सागरबाट आउने बाटो बन्द गरिदिएको छ । 

अजोब सागर क्रिमियाको पूर्व र युक्रेनको दक्षिणतर्फ अवस्थित छ । यसको उत्तरी किनारामा युक्रेनका दुई बन्दरगाह ‘बर्डयान्स्क’ र ‘मेरिपोल’ छन् । 

अनाज तथा स्पातको निर्यातमा प्रयोग हुने यी दुई बन्दरगाह युक्रेनको अर्थव्यवस्थाका लागि महत्वपूर्ण छन् ।

यस महिनाको सुरुआतमा युरोपियन युनियनले युक्रेनी जहाजमाथिको रुसको निगरानीविरुद्ध कदम उठाउने चेतावनी दिएको थियो । पारवाहन स्वतन्त्रताका लागि सन्धि भएपछि पनि निगरानी गर्नु गलत भएको उसको तर्क थियो । 

यो ताजा विवादले दुई देशबीच पाँच सालदेखि चलेको टकराबलाई बढाएको छ । सन् २०१४ मा रुसले क्रिमिया प्रायद्वीपलाई आफूमा विलय गराएको थियो । यसअघि, क्रिमिया युक्रेनको हिस्सा रहँदै आएको थियो ।

युक्रेनमा २०१४ मा भएको क्रान्तिपछि रुस समर्थक राष्ट्रपति भिक्टर यानुकोभिचले पद छाड्नुपरेको थियो । त्यही वेला रुसले क्रिमियामा सेना पठाएर कब्जा जमायो ।

यसको पछाडि रुसको तर्क थियो, ‘अधिकांश क्रिमियावासी रुसी मूलका छन्, र विरोध प्रदर्शनका बीच उनीहरूको हितको रक्षा गर्नु रुसको दायित्व हो ।’

सन् १९५४ मा सोभियत संघका सर्वोच्च नेता निकिता ख्रुस्चेबले रुस–युक्रेन मैत्री र सहयोगका खातिर उपहारस्वरूप युक्रेनलाई क्रिमिया सुम्पेका थिए ।

त्यसवेला युक्रेन सोभियत संघकै हिस्सा थियो । युक्रेन सोभियत संघबाट बाहिरिएपछि भने क्रिमिया रुस र युक्रेनबीचको द्वन्द्वको कारण बन्यो । 

हाल युक्रेन र अन्य पश्चिमी देशहरू रुसमाथि युक्रेनी पृथकतावादीहरूलाई हतियार दिएर सहयोग गरिरहेको आरोप लगाउँछन् । रुसले भने यसको खण्डन गर्दै आएको छ । तर, रुसी स्वयंसेवकले विद्रोहीको मद्दत गरिरहेको भने उसले स्विकारेको छ । 

ताजा टकराबपछि युक्रेनमा रुसी दूतावासबाहिर प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले दूतावासको गाडीमा आगजनीसमेत गरेका छन् ।

युक्रेनी राष्ट्रपतिका प्रवक्ताले यस सम्बन्धमा ‘वार क्याबिनेट’को आपत्कालीन बैठक बालाइएको बताएका छन् । 

युक्रेनको संसद्ले मार्सल ल (सैन्य कानुन) लगाउने निर्णय गर्नसक्ने बिबिसीले बताएको छ । सोमबार यस विषयमा संसद्मा भोटिङ हुँदै छ । 

यसैबीच, युरोपियन युनियन र नेटोसम्बद्ध देशले युक्रेनको समर्थन गरेका छन् । 

  • प्रकाशित मिति : मंसिर १०, २०७५ साेमबार २१:५४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया