‘बिजनेसविहीन’ बागमती संसद, एमालेको अवरोधको तयारी

बागमती प्रदेशको प्रदेश सभा बैठक ४४ दिनपछि आज बस्दै छ । दिउँसो १ बजे बस्ने भनिएको प्रदेश सभा बैठक हालसम्म बस्न सकेको छैन । 

लामो समयपछि प्रदेश सभाको बैठक बस्न लागे तापनि संसद ‘बिजनेसविहीन’ रहेको प्रदेश सभा सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

एउटा विधेयकमात्र प्रदेशसभा सचिवालयमा दर्ता भएको छ । प्रदेशसभाबाट उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक पारित हुन बाँकी छ । यस्तै, प्रदेशसभामा केही ऐन संशोधन गर्न बनेको विधेयक रहेको खड्काले जानकारी दिए ।

प्रदेश सभा सचिवालयमा बिजनेस नभएपछि प्रदेश सभाको बैठकको कार्यसूची निर्धारित समयभन्दा ३ घण्टापछिसम्म पनि निकाल्न सकेको छैन । प्रदेश सरकारले डेढ महिनादेखि सरकार गठनमै बिताएपछि प्रदेश सभाको बैठकमा बिजनेस नभएको नेकपा एमालेले आरोप लगाउँदै आएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सपथ ग्रहण गरेर संसदलाई जानकारी दिएपछि स्थगित भएको प्रदेश सभाको बैठकमा आज नयाँ मन्त्रिमण्डल बिस्तार गरेको बारेमा जानकारी दिइने भएको छ । 

एमालेले अवरोध गर्ने 



बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज प्रदेश सभा बैठक अवरोध गर्ने भएको छ । बुधबार दिउँसो बसेको प्रदेश संसदीय दलको बैठकले मर्यादित अवरोध गर्ने संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले जानकारी दिए । 

उनले भने, ‘संघीयतालाई नै धरापमा पार्नेगरी भइरहेको प्रदेश सरकारको रबैयाका विरुद्ध संसदमा आवाज उठाउने र संसदीय मर्यादाका आधारमा संसदमा प्रस्तुत हुने निर्णय गरेको छ ।’



निरौलाले आफ्नो दलको कमिटी बिस्तार नहुने वडामा सरकारले बजेट नहाल्ने मुख्यमन्त्रीको अभिव्यक्ति, प्रदेशको महत्वका योजनाहरूको कटौती, एक बार्दली एक मन्त्रालयको अभियान जस्तो देखिनेगरी गरिएको मन्त्रालयको भागबण्डा र राज्यको स्रोतको चरम दुरुपयोगका विरुद्ध प्रदेशको सबैभन्दा ठूलो र जिम्मेवार दलको हैसियतले खबरदारी हुने दाबी गरे । 

  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १४:४५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया